खडेरीले पोखरीमा पानी सुक्यो,विद्युतको चर्काे महसुलले माछा पालक किसानहरु मारमा

482 Shares

लामो समयदेखिको खडेरीका कारण पोखरीमा पानी सुक्दा सर्लाहीका माछा पालक किसानहरु मारमा परेका छन्।लामो समयदेखि पानी नपर्दा जिल्लाका सयौँ पोखरीहरुमा पानी सुकेपछि माछा पालनबाट राम्रो आम्दानी गर्ने योजना सहित माछा पालनमा लागेका जिल्लाका माछा पालक किसानहरु मारमा परेका हुन् ।
२० वटा स्थानीय तह रहेको जिल्लाको करिब एक हजार पाँच सय बिघा क्षेत्रफलमा माछा पालन हुने गरेको भएपनि सबै भन्दा धेरै चन्द्रनगर गाउँपालिका,इश्वरपुर नगरपालिकाका साथै ब्रम्हपुरी र पर्सा गाउँपालिका र हरिपुर्वा तथा कविलासी नगरपालिकाका अधिकांश स्थानमा व्यावसायीक रुपमा माछा पालन हुने गरेको माछा किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रन्जीत सहनीले बताए ।                     

उनका अनुसार कमन,भकुरा,विगहेड,सिल्वर,कमलक्राफ,ग्राँसक्राफ,रहुँ र नैनी जातका माछाहरु जिल्लाका पोखरीहरुमा पालन हुने गरेको र दैनिक करिव एक टन माछा निकासी हुने गरेको छ ।माछाको साईज र जात हेरेर प्रतिकिलो रु दुई सय देखि पाँच सय सम्ममा पोखरीबाटै व्यापारीहरुले किन्ने गरेका अर्का माछा पालक किसान यादव प्रसाद मैनालीले बताए ।उनका अनुसार जिल्ला भरीका पोखरीहरुबाट गरी वार्षिक करिब दुई अर्वको माछा विक्रि हुने गरेको छ ।
जिल्लाका पोखरीहरुमा उत्पादन भएको माछा विराटनगर,धरान,काठमाण्डौँ,पोखरा,सिन्धुली,रामेछाप,हेटौँडा,नारायणघाटका साथै देशका मुख्य मुख्य शहरहरुमा जाने गरेको भएपनि खडेरीका कारण पोखरीमा पानी सुकेपछि आफुहरु मारमा परेको माछा पालक किसान नरेश कुमार सहनीले गुनासो गरे ।जिल्लाबाट वार्षिक करिब दुई अर्ब भन्दा बढीको माछा अन्यन्त्र बिक्रि हुने र राज्यलाई सो वापतको राजश्व जम्मा हुने गरेको भएपनि तीनै तहको सरकारले माछा पालक किसानहरुलाई वेवास्था गरेको माछा पालक किसानहरुको आरोप छ।
“लामो समयदेखि खडेरी परेको छ,पोखरीमा पानी सुक्न थालेको छ,भुराहरु हाल्ने अवस्था छैन्,माछाका लागि चाहिने भिटामिन तथा खाना समेत हाल्ने की नहाल्ने भन्ने अवस्था सृजना भएको छ।मोटर चलाएर भएपनि पोखरीमा पानी भर्न पाए माछा मर्ने थिएनन् तर मोटर चलाउन पनि नसक्ने गरी माछा पालक किसानहरुलाई पनि राज्यले उद्योग अन्र्तगत राखेर चर्को विद्युत् महसुल असुलेको छ ।जसका कारण आफुहरु सबैतिरबाट मारमा परेका छौँ ।”माछा पालक किसान विजय भण्डारीले गुनासो गरे ।
“विद्युत् प्राधिकरणले सुरुमा कृषि मिटर भनेर मिटर जोडिदिएको भए पनि अहिले चर्को शुल्क लिने गरेको छ,हामीहरुले पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ भएन।”माछा पालक किसान मनोज कुमार साहले बताए ।तीनै तहको सरकारले आफुहरु जस्ता व्यावसायीक माछा पालक किसानहरुलाई विभेद गरेको उनले गुनासो गरे ।धान,मकैखेती गर्ने किसानहरुलाई कृषि मिटर दिने प्राधिकरणले माछा पालन बढोस् भन्ने नचाहेको साथै पोखरी खन्न अनुदान दिएर उस्काउने र अर्कोतर्फबाट विभिन्न शुल्क असुल्ने गर्दा आफुहरु निकै मारमा परेको माछा पालक किसान श्याम महतोले गुनासो गरे ।
माछा पालक किसानहरुलाई राज्यले अनुदान लगायतको व्यवस्था र विद्युतमा सहुलियत दिएर सहयोग गर्नुपर्नेमा माछा पालनलाई उद्योग अन्र्तगत राखेर चर्काे विद्युत महसुल असुल्ने गरेका कारण आफुहरु थप मारमा परेको माछा पालक किसान लोकेन्द्र मुखीयाले बताए ।
जिल्लाका प्राय सबै स्थानमा माछा पालन हुने गरेको भएपनि विशेष गरी चन्द्रनगर गाउँपालिका,इश्वरपुर नगरपालिकाका साथै ब्रम्हपुरी र पर्सा गाउँपालिका र हरिपुर्वा तथा कविलासी नगरपालिकाका अधिकांश स्थानमा व्यावसायीक रुपमा माछा पालन हुने र माछा पालनबाट आत्मनिर्भर हुन खोजेका किसानहरुलाई पलायन गर्ने गरी विद्युत् महसुल लिने तथा जरिवानाका नाममा मर्कामा पार्ने गरेको इश्वरपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख मनोज कुमार देवकोटाले बताए ।उनका अनुसार खुल्ला सीमाका कारण भारतीय माछा नेपाली बजारमा अवैध तरिकाबाट छ्यापछ्याप्ती आउने गरेका कारण पनि जिल्लाका माछा पालक किसानहरु मारमा परेका छन् ।
सम्बन्धित समाचार