Close This

संविधान संशोधन विधेयकमा सबै दलको समर्थन, सैद्धान्तिक छलफल जारी

पत्र पत्रिका    प्रकाशित: २०७७-२-२७ गते   २४७ पटक हेरिएको

लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तन सम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिएका छन् ।अहिलेसम्म संविधान संशोधन विधेयकबारे मौन रहेको संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले समेत समर्थन जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गर्नु भएको हहो । छलफलमा भाग लिदै सांसदहरुले संविधान संशोधनसँगै अब भूमि फिर्ताका लागि पनि सरकारलाई साथ रहने बताएका छन ।

नेकपाका सांसद खगराज अधिकारी, कांग्रेसका गगन थापालगायतले यसअघि संसदमा पेश गरेका संकल्प प्रस्तावलाई संयुक्त रुपमा छलफल गराएर पारित गराउन समेत माग गरेका छन् । सांसद अधिकारीले गत पुसमै कालापानीबाट भारतीय फौज हटाउन संकल्प प्रस्ता पेश गर्नु भएको थियो ।

गत वैशाखमा कांग्रेसका गगन थापा र नेकपाका विद्या भट्टराईलगायतका सांसदले पनि सोही आशयको संकल्प प्रस्ताव पेश गरेका छन् । ती संकल्प प्रस्तावहरुलाई एकै ठाउँमा राखेर छलफल गराउन सकिने मंगलवारको बैठकमा खगराज अधिकारी र गगन थापाले बताउनु भयो ।

निशान छाप परिवर्तन सम्बन्धी विधेयकमा नेकपाको तर्फबाट कृष्णभक्त पोखरेल, कांग्रेसका बालकृष्ण खाँड,जसपाका राजेन्द्र श्रेष्ठले समर्थन जनाएका थिए । बैठकमा बोल्दै कांग्रेस सांसद डा.मिनेन्द्र रिजालले नक्सा प्रकाशन र संविधान संशोधनमा कुनै एक व्यक्तिको देवत्वकरण हुन नहुने बताउनु भयो ।

नेकपाका खगराज अधिकारी, शान्ता चौधरी, तुलसी थापा, गंगा चौधरीलगायतले नक्सा प्रकाशन र संविधान संशोधन गरेर सरकारले राष्ट्रियताको पक्षमा पहिलो पटक ऐतिहासिक काम गरेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गर्नु भएको हो  । अधिकारीले केपी ओलीले २०५५ सालमै कालपानीबाट भारतीय फौज हटाउन स्थगन प्रस्ताव संसदमा लगेको समेत स्मरण गर्नु भएको छ ।

छलफलमा भाग लिदै जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद दिदै भूमि फिर्ताको लागि अग्रसर हुन प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech