म प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र,नेपाल नामक एउटा गैर सरकारी संस्थामा काम गर्छु ।यस संस्थाले लैङ्गिक समानता र सामाजिक सामावेशीकरणको मान्यतालाई कार्यान्वयन गर्ने भरपुर प्रयास गरेको छ।जसको फलस्वरुप म कार्यरत यस संस्थाको केन्द्रीय कार्यालयमा ८० प्रतिशत भन्दा बढी महिलाहरु कार्यरत हुुनुहुन्छ ।सहकर्मीहरु मध्ये धेरैको विवाह भएको छ ।
हामीले अफिसमै मेस चलाएर खाजा खाने गरेका छौँ।खाजा खाने समयमा दैनिक जसो एकछिन सबैसँग गफ गाफ हुन्छ।खाजा खाने समयमा यस्तै कुराकानीको क्रममा महिलाहरुलाई त कतिगारो छ है?घरको काम पनि गर।अफिसको काम पनि गर।के भन्ने ?तपाई पुरुषहरुलाई त मोज छ नि भनेर एक जना महिला सहकर्मीले भन्नु भयो।फेरी अर्कोले थप्नु भो त्यति मात्र हो र,झन् बच्चा बच्ची भएपछि खाना खुवाउ,दुध खुवाउ,झन् बढी व्यस्त ।
अनि मैले प्रश्न गरे के महिलाले मात्रै दुध खुवाउछन् र ? मैले प्रश्न राख्न नपाउदै फ्याट्टै अर्की महिला सहकर्मीले भन्नु भयो ।अनि के पुरुषले खुवाउछन् र ?मैले भने हो खुवाउछन् ।मैले खुवाउछु ।अहिले हरेक घर परिवारमा पुरुष र महिला अझ भनौ श्रीमान र श्रीमती दुबैजना केही न केही बाहिरी काममा व्यस्त नै हुन्छन्।मेरो पनि यस्तै अवस्था थियो।हामीदुवै जना जागीरे थियौ।यही क्रममा हाम्रो छोरा जन्मियो।नेपालमा श्रम ऐन २०७४ अनुसार महिलालाई प्रसुति विदा भनेको प्रसुती हुनु भन्दा अगाडि र पछाडि गरि त्यही ९८ दिनको समय हो। त्यसमा पनि तलवी विदा भनेर ६० दिनको छ।अहिलेको यस महंगीमा महिलाले बेतलवी विदा लिएर घरमै बसेर बच्चाको ख्याल गरेको कमै पाईन्छ ।
दुई÷तीन महिनाको दुधे बालकलाई छोडेर काममा फर्कनु पर्ने बाध्यता महिलाको छ।यस्तो बेलामा उसले खाने भनेको त्यही बट्टाको दुध त हो नी।हो मैले पनि त्यही दुध खुवाएँ।धेरै कार्यालयहरुमा दुध खुवाउने कोठा र दुध खुवाउने समय पनि मिलाएको देखिन्छ,तर त्यो कति प्रभावकारी छ?छैन?त्यसको अर्कै पाटो छ ।
कति वेला लाग्छ यस प्रकारको प्रावधानले बच्चाको अधिकार पो हन्न भयो कि?यस्तो प्रावधानलाई सच्याईनु पर्छ । सुनौला हजार दिनको कल्पना गरे जस्तै कम्तिमा पनि छ महिनाको तलवी विवादको व्यवस्थापन महिलाहरुका लागी हुनु पर्छ।फेरी यस्तो व्यवस्था सरकारी कर्मचारीहरुलाई त ठिकै होला,तर गैर सरकारी संस्थाहरुमा जहाँ छ महिने,एक वर्षे आदि जस्ता परियोजना ल्याएर करारमा कर्मचारी कर्माचारीहरु राखिन्छ,त्यस्तो अवस्थामा के गर्ने ?त्यो अर्को प्रश्न होला ।
खैर जे होस् यस अवस्थामा सुत्केरी महिलाहरु कार्यालय अथवा काम विशेषले बाहिर गएको अवस्थामा दुध खुवाउने भनेको त्यही बोतलको त हो नी।अनि बोतलको दुध जसले पनि खुवाउन सक्छ।मैले पनि त्यही बोतलको दुध खुवाए।दुधमात्र हैन बच्चालाई सुताउने,खुवाउने लगायतका सवै काम गरेर बच्चाको स्याहार सुसार गरेको छु ।
यो सवै कुरा महिलाहरुले मात्रै गर्नुपर्छ भनेर कहाँ लेखेको छ र?जसरी म काममा निस्कन्छु मेरी अर्धाङ्गिनी(श्रीमती)पनि काममा निसक्नु हुन्छ।यस्तो समयमा मैले पनि बच्चाको स्याहार सुसार नगरे कसले गर्ने?हरेक कुरामा सहकार्यता र सह अस्तित्वको भावना अनुरुप काम गरियो भने सम्वन्धमा सहजता हुन्छ।झन् बैबाहिक सहयात्रामा त यो एकदमै जरुरी छ।यदि हुन सकेन भने समस्या उत्पन्न हुन सक्छ ।
लैङ्गिकता,महिला अधिकार,घरेलु हिंसा आदिका वारेमा धेरै बहस हुने गरेको पाईन्छ ।यस सम्वन्धमा नेपालको संविधान लगायत अन्य विभिन्न कानुनहरुमा समेत व्यवस्थाप गरि हक अधिकार सुरक्षित गरेको पाईन्छ,तर ती कुराहरुले तव मात्र मुर्त रुप पाउँछन् जव व्यवहारमा आउँछन्,तर हामीहरु भने धेरै बोल्ने,सल्लाह सुझाव दिई हाल्ने,तर सो अनुसारको व्यवहार नगर्ने,एक रथको दुई पाङ्ग्र्राको रुपमा चित्रण गरिएकोे महिला पुरुषको समान सहभागीता र सहकार्यतामा मात्रै यी सवैकुराले सार्थकता पाउँन सक्छ ।
सुखी र खुसी जिवनको लागी एक अर्का विच आदर र सम्मान एकदमै जरुरी छ।हामीले विवाह गरेको वा आफ्नो घरमा भित्र्याएकी महिला पनि कसैको छोरी हुन्।श्रीमतीलाई पनि उनको बुवा आमाले हामीले आफ्नो सन्तानले झै माया गरेको होलान् भन्ने कुरा बुझ्न जरुरी छ। साथै महिलाले पनि सो कुरा बुझ्न जरुरी छ ।
एक हातले मात्र तालि कहिल्यै बज्दैन।हामी अधिकांश समय समाजले के भन्ला।यो त महिलाले गर्ने काम हो।पुरुषले यस्तो काम पनि गर्छन र?भन्ने जस्ता वाहियात कुराहरु सोचेर समय खेर फाल्ने गरेका छौँ।झन् अझ भनौ लुगा धुन गार्होे भयो अथवा भाडा माझ्न गारो भए विवाह गर भन्ने सामाजीक मान्यताका मान्छे हामी। एक पटक एक अर्कोलाई सहयोग गरेर त हेरौ।सम्वन्धमा थप मिठास आउनुका साथै सम्बन्ध मजबुत पनि बन्छ।
कहिले काँही यसो हेर्दा महिलाहरुका विरोधी महिला नै हुन् की भन्ने पनि लाग्छ मलाई । आफुले जे भोग्यो आउँदो पिढिका महिलाहरुले त्यस्तो नभोगुन भन्नुको साटो उनीहरुलाई पनि सोही कुराहरु गर्न बाध्य बनाईएका विभिन्न घटनाहरु छन्।उदाहरणको लागी म सदुर पश्चिममा जन्मेकोले त्याँहा भईरहेको छाउपडी प्रथा।अरे बाबा प्राकृतिक रुपमा हुने कुरालाई पापको संज्ञा देखाएर भगवानको डर देखाई आमाहरुले आफ्नो छोरीहरुलाई त्यही पालना गर्न लगाउनु भएको छ ।आफुले जे दुःख भोग्नु भयो त्यो नभोगुन भनेर कहिल्यै सोच आएको छैन ।मानिस चेतनशिल प्राणि हो।के सही र के गलत भनेर छुट्याउने चेतना मानिसमा हुन्छ । यसर्थ चेतनालाई कुनै पनि प्रकारले बन्धक बनाउनु हुँदैन ।
सामाजिक मूल्य–मान्यता र व्यवहार देख्दा महिला र पुरुषमा विभेद भयो भन्ने कुरा पनि महिलाहरु आफैले सुरुवात गरेका हुन् जस्तो पनि देखिन्छ।जस्तै विवाह गर्दा राम्रो देखिने होस् ।आफू भन्दा राम्रो कमाउने होस्।आफु भन्दा अग्लो होस् आदि खालका चाहनाहरु हरेक महिलाहरुमा देखिन्छ।के यो आफैले आफैलाई गरेको विभेद हैन र?महिला अधिकारकर्मीहरुले पनि महिलालाई मात्र उकास्ने कार्य गर्ने गरेका छन्।महिला र पुरुष दुवैलाई मिलाएर लानुको सट्टा महिला अधिकारको एकोहोरो रटान लगाएर घरवार नै विगार्छन कि भन्ने खतरा पनि रहेको देखिन्छ।
महिला शसक्त हुन जरुरी छ।जसका लागी महिलामा उचित लगानी जरुरी छ।जव एक महिला शिक्षित हुन्छिन ।तवमात्रै सिंगो परिवार शिक्षित हुन्छ।अनिमात्र पुरुष महिला जो सुकै होस् त्यस्तो वातावरणमा हुर्केको खण्डमा सिंगो समाजको चेतना नै फरक हुन्छ।त्यही भएर महिलालाई देवीको रुपमा चित्रण गरिएको हो।सरस्वती यही छिन्,लक्ष्मी यही छिन। दुर्गा यही छिन्,साथै आवश्यक परेका बेला रौद्र रुप धारण गर्न सक्ने क्षमता भएकी काली पनि यही छिन् ।विज्ञानले पनि पुष्टि गरेको कुरा पुरुषको भन्दा महिलाको बे्रनको साईज सानो भएता पनि एकै पटक धेरै काम गर्न सक्ने क्षमता महिलाहरुमा रहेको छ।
त्यसैले महिलाको सम्मान गर्न सह अस्तित्व स्विकार गर्न,कन्जुस्याँईँ नगरौ र सुखमय जीवन व्यतित गरौँ।यही नै आजको आवश्यकता हो । सम्बन्धित सवैले मनन् गरौं ।
दिपक राजभट्ट
अधिवक्ता/बरिष्ठ कार्यक्रम अधिकृत
प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र,नेपाल
(माथि उल्लेखित विचारहरु लेखकको नितान्त व्यक्तिगत विचार हुन् ।कार्यरत संस्थाको औपचारिक धारणा होईन ।)