मधेशको बजेटमा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य बुढाथोकीका सुझाबहरु

478 Shares


नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटि सदस्य प्रह्लाद कुमार बुढाथोकीले मधेस सरकारले आगामि वर्षका लागि ल्याएको बजेटमा विभिन्न किसिमका सुझाव दिएका छन् ।सर्लाहीको लालबन्दी नगरपालिका १६ निवासी माओवादी केन्द्रका स्थायी कमिटि सदस्य बुढाथोकीले मधेश प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेटमा आफ्ना सुझाबहरु दिएका हुन ।
उनले दिएको सुझावमा “बजेट बनाउदा आफ्नो विशेषताको पहिचान र आवश्यकताको आँकलन सही ढंगले गर्न  सक्नुपर्छ ।अनिमात्र सहि गन्तव्यमा पुग्न सकिन्छ।हाम्रो विकासको राष्ट्रिय रुपमा कृषि,जलश्रोत,पर्यटन र वन गरी चार पुर्वाधार छन्।जसमध्ये मधेसमा कृषि, पर्यटन र वन हाम्रो मुल आधार हो ।यसको समुचित विकास गरेर मधेशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिन्छ ।यी पुर्वाधारमध्ये अहिले कृषिमा केन्द्रित हुनु पर्दछ।कृषि हाम्रो जीवनको मुल आधार हो।कृषि हाम्रो संस्कृति हो र हाम्रो सभ्यता पनि हो ।हाम्रो मुलुक नै कृषि प्रधान देश भएको र मधेस कृषिको केन्द्र भएको कारण कृषिको विकास बिना हाम्रो विकास सम्भव छैन ।
कृषिमा आत्मनिर्भर हुने अवस्था निर्माण गर्नुपर्छ ।कृषिको समग्र विकासको निम्ति निम्न पाँचवटा विषय तयारी गर्नुपर्छ ।
१ भूमि व्यवस्थाःभूमि ऐनमा सुधार ल्याई कृषि योग्य जमिनलाई चक्लाबन्दी लागु गरि सामुुहिक उत्पादन प्रणालीलाई प्रोत्साहन गर्नु,सम्पूर्ण ऐलानी आवादी जमिनलाई जोतभोगको आधारमा दर्ता कायम गरि लाखौंको संख्यामा रहेका गरिब किसानहरुको हक सुनिश्चित गर्नु,किसान मैत्री वातावरण सिर्जना गरि कृषि कर्मलाई मर्यादीत बनाउनु पर्छ ।
२ प्राविधिक व्यवस्था ः कृषि विज्ञ व्यापक मात्रामा उत्पादन गरि खेतखेतमा प्राविधिक पुर्याउने व्यवस्था गर्नु,कृषि प्राविधिक शिक्षालयहरु संचालनको व्यवस्था गर्नु,कृषि औजार कारखाना संचालन गरि सहज रूपमा कृषि उपकरण पाउने व्यवस्था गर्नु र कृषि तालिम केन्द्रहरु संचालन गर्नुपर्दछ।
३ उत्पादन व्यवस्था ः सिंचाइ,मल,बिउ र तटबन्धको समुचित व्यवस्था गर्नु,कृषि विद्युुत खपत( महशुल )अनुदान कार्यक्रम  लागू गर्नु र कृषि बिमा लागू गरि उत्पादन अनुदान र बाली बिमाको सुनिश्चितता गर्नु पर्दछ।
४ प्रशोधन व्यवस्थाःकृषि उत्पादनलाई प्रशोधन गरि उपभोग्य बनाउन कृषिमा आधारित  उद्योग धन्दाहरु संचालन गर्नु र कृषिमा आधारित उद्योग संचालनको लागि सहुलियत ऋणको व्यवस्था गर्नुपर्छ ।
५ उपभोग व्यवस्थाःशीत भण्डार(कोल्डस्टोर) र बजार व्यवस्थाको सुनिश्चितता गरि  उपभोक्ताहरु बीच सहज र सरल ढंगले पुग्ने व्यवस्था गर्नु पर्दछ ।यसरी कृषि प्राविधिक  शैक्षिक संस्था,उद्योग धन्दा,सिंचाइ व्यवस्था(नहर,कुलो,बोरिङ),तटबन्ध निर्माण,मल कारखाना स्थापना,बिउ उत्पादन,बिमा कार्यक्रम,शितभण्डार संचालन,बजार व्यवस्था लगायत यावत क्षेत्रलाई प्राथमिकतामा राखेर अर्थतन्त्र चलायमान बनाई रोजगारी सिर्जना गर्नुको साथै कृषिलाई आत्मनिर्भर बनाइ अर्बौको विदेशी रकम सन्चित हुनेछ । 
कृषि प्रधान देश भएर पनि विदेशबाट अर्बौंको  दाल,चामल र तरकारी समेत किनेर खानुपर्ने विडम्बनापुर्ण अवस्थाबाट मुक्ति पाउनै पर्छ।यस पटकको नारा“कृषि हाम्रो जीवन साहारा,कृषिमा क्रान्ति हाम्रो अभिभारा”।भन्ने हुनुपदर्छ ।यसका साथै पर्यटन हाम्रो अर्को महत्वपूर्ण आधार हो। मिथिला संस्कृति र सिम्रौनगढको इतिहासको सम्बर्दधन र विकास गरेर मधेसको सभ्यता र पहिचानको प्रबद्र्धन गर्न सकिन्छ।मधेसमा रहेका कयौं ऐतिहासिक,धार्मिक, साँस्कृतिक र प्राकृतिक महत्वका स्थानहरुको संरक्षण गर्नुको साथै यहाँका विभिन्न धर्म,संस्कृति ,भाषा,भेषभुषा र कलाको प्रबर्द्धन गरेर मधेसलाई पर्यटन क्षेत्रको एउटा महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।
चुरेलाई संरक्षित क्षेत्र घोषणा गरि जंगल सफारी र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्दा मधेसको समृद्धिमा महत्वपूर्ण योगदान पुग्न सक्छ ।वन मधेसको अर्को महत्वपूर्ण आधार हो।तराईको चारकोशे झाडीको रुपमा चर्चित तराईको वन अहिले संरक्षणको पर्खाइमा छ।मधेसको साल (सखुवा) प्रख्यात काठमा पर्दछ।तराईको वन जोगाउन सके पर्यावरण संरक्षण र आय आर्जनमा ठुलो ठेवा पुग्नेछ। 
त्यसैगरी चुरेको संरक्षण मधेसको विकासको महत्वपूर्ण आधारको रुपमा रहेको छ।चुरेको वन पैदावार,जडिबुटी र पानीको संरक्षण र उपयोग गरेर मधेसलाई  समृद्ध बनाउन सकिन्छ ।चुरेको फेदीमा नहर प्रणाली विकास गरेर चुरेको पानी जमाउने गर्ने र  चुरेमा चेक ड्यामहरु बनाई भू–क्षय रोक्ने र पानीको संरक्षण गर्नुको साथै उक्त पानी नहर प्रणालीबाट  मधेसको कृषि योग्य जमिनमा सिंचाइ गर्न सके मधेसमा पानीको रिचार्ज भई मधेस मरुभूमिकरण हुने प्रक्रिया रोकथाम गर्नुको साथै वर्षामा हुने डुवानको समस्यामा न्युनिकरण गर्नसकिन्छ ।
मधेसको वनलाई समेत नहर प्रणालीले घेर्न सक्दा वनको सुरक्षा हुनुको साथै जलचरको  समेत संरक्षण भई मधेसको पर्यावरण र प्राकृतिक सौन्दर्यता समेत बढ्नेछ ।यसरी चुरेको संरक्षण सहित तराईको वन जोगाउन सक्दा वन र वातावरणको संरक्षण हुनुको साथै कृषिमा समेत महत्वपूर्ण योगदान पुग्नेछ। 
चुरे भित्र छरिएर रहेका बस्तीहरुका लागि सम्भव भएसम्म चुरेभित्रै र अनुकुल नभएमा चुरेको खोँचमा एकीकृत बस्ती विकास गरि राज्यको सेवा सहजरूपमा पाउने व्यवस्था गर्नुपर्छ।साथै वन पैदावार (काठ,बाँस) र जडिबुटीमा आधारित उद्योगहरुलाई प्रोत्साहन गरि उद्योग संचालनको लागि निव्र्यजी ऋणको व्यवस्था गर्नुपर्छ।
तराईमा जलश्रोतको सम्भावना अत्यन्त कमजोर छ ।विद्युतको खपत उच्च हुने क्षेत्र तराई मधेस नै हो तसर्थ कोशीलाई चुरेमा डाइभर्शन गरि जल विद्युत निकाल्ने तर्फ बजेटलाई केन्द्रीत गर्नु पर्छ ।खासगरी ठुल्ठुला उद्योग धन्दा,यातायात,कृषिमा विद्युतिकरण,शिक्षा तथा स्वास्थ्य क्षेत्रमा र घरायसी उपयोग गरेर ठुलो मात्रामा आन्तरिक  विद्युत खपत गरि देशको विद्युत विकासमा योगदान गर्नुको साथै मधेसले रोजगारीको क्षेत्रमा फड्को मार्न सक्ने छ।       यसरी कृषि उत्पादन,उद्योग धन्दाहरुको संचालन,वनको संरक्षण र उपयोग,पर्यटनको विकास र विद्युतको प्रयोगद्वारा मधेसले समृद्धि मधेश बनाउन सक्ने आधार रहेको छ ।
बजेटले समेट्नु पर्ने अन्य क्षेत्र भनेको मुलतःशिक्षा,स्वास्थ्य,यातायात र सामाजिक क्षेत्रमा  हो ।मधेस अहिले पनि शिक्षाको क्षेत्रमा सबैभन्दा पछाडि छ।तसर्थ मा.वि सम्मको शिक्षालाई निःशुल्क मात्र होइन अनिवार्य गर्नु पर्दछ र  निव्र्यजी शैक्षिक कर्जा लागु गरि प्राविधिक शिक्षालाई जोड दिनुपर्छ।यसका साथै हरेक पालिकाले वार्षिक कम्तीमा पाँच जना विद्यार्थीहरुलाई उच्च मा.विमा प्राविधिक शिक्षा पढाउन अनुदान कोटा लागू गर्नुपर्छ ।
त्यसैगरी हरेक पालिकाले कम्तिमा एक÷एक जना डाक्टर,इन्जिनियर र कृषि विशेषज्ञ गरि तीन जना जनशक्ति उत्पादन गर्ने गरि छात्रवृत्ति कोटामा पढाउने र उनिहरुलाई कम्तीमा पाँच वर्ष अनिवार्य आफ्नो पालिकामा सेवा गर्नुपर्ने नियम लागू गर्नुपर्दछ।यसबाट सबै पालिका पाँच वर्ष भित्र  विशेषज्ञ जनशक्ति सहितको हुनेछन्।जुन आफैंमा एउटा महत्वपूर्ण उपलब्धि हुनेछ ।
स्वास्थ्यको क्षेत्रमा पनि मधेस पछाडि परेको छ।मधेसमा विशेषज्ञ सेवा सहितका ठुला स्वास्थ्य संस्थाहरु छैनन् र ग्रामीणमा स्वास्थ्य संस्थाहरु पनि अत्यन्तै कमजोर स्वास्थ्य सेवा प्रदान गर्नेमा पर्दछन।धेरै ठाउँमा स्वास्थ्य संस्था छैन,भएपनि डाक्टर छैनन्,डाक्टर भए उपकरण र औषधी  विहिन छन।त्यसैले हरेक जिल्लामा विशेषज्ञ सेवा सहितका कम्तीमा सय बेडका ठूला अस्पताल र हरेक पालिकामा कम्तीमा १५ बेडका पालिका स्तरका अस्पताल र हरेक वडामा स्वास्थ्य चौकी रहने व्यवस्था गर्नु पर्दछ।जसबाट मधेसले गरिबी,अशिक्षा र  वेरोजगारीबाट माथि उठ्नुको साथै स्वास्थ्य उपचारको सुनिश्चितता सहित सुरक्षित जीवनको आभास पाउनेछ।यसले मधेसको समृद्धि मात्र नभई सिंगै देशको समृद्धिमा महत्वपूर्ण योगदान गर्नेछ ।
त्यसैले बजेट यस्तो बनाऔँ जसले आफ्नो धरातलमा टेकेको होस।त्यसले विकासको सम्भावना बोकेको होस।त्यसबाट ठुलो मात्रामा रोजगारी सिर्जना गरोस्।जुन आम जनताको सरोकारसंग जोडिएको होस र आम जनतालाई परिचालन गरोस् ।बजेट वितरण मुखी नभई विकास मुखी हुनुपर्छ।बजेटले सबैलाई समेट्नु पर्ने भएपनि मूलतःउत्पादन वृद्धि,रोजगारीको सिर्जना,स्वास्थ्य र शिक्षाको सुनिश्चिततामा जोड दिनुपर्छ ।” माओवादी केन्द्रका स्थायी कमिटि सदस्य बुढाथोकीले मधेश प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०८१÷०८२ का लागि ल्याएको बजेटमा यसरी आफ्ना सुझाबहरु दिएका छन ।

सम्बन्धित समाचार