सर्लाहीको बागमतीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।शुक्रबार(आज)बिहान अरिवल वर्षासंगै परेको चट्याङ लागेर बागमती नगरपालिका १, मिलनचोक बस्ने दिलबहादुर आले मगरकी श्रीमती अन्दाजी ६४ वर्षीया गोमा आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक लिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार खेतको आलीमा काम गर्ने क्रममा शुक्रबार(आज)बिहान अरिवल वर्षासंगै परेको चट्याङ लागेर घाइते भएकी मगरलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन ।

त्यस्तै लालबन्दी नगरपालिका १७ गैरी टोलका मंगल कामीको घरमा राखेको विद्युतको मिटर बक्समा चट्याङ लागि मिटर बक्स जलेको छ । जिल्लाको उत्तरी भेगमा शुक्रबार(आज) बिहान भारी वर्षासँगै अत्याधिक चट्याङ परेको थियो ।चट्याङ लागेर विभिन्न स्थानमा विद्युतको मिटर लगायतका विद्युतीय उपकरणमा क्षति पुगेको प्रहरीले जनाएको छ।वर्षा रोकिएपनि दिनभर जिल्लाको पूर्व पश्चिम लोकमार्गस्थित बाँके देखि बागमती नदी सम्मको विभिन्न स्थानमा रहेका लच्काहरुमा ठूलो बाढी आएको थियो।बाढीकै वीच जोखिमपूर्ण रुपमा मोटरसाइकल सहित साना सवारी साधनहरु वारपार गरिरहेका थिए ।
दिउँसोदेखि लच्काहरुमा पानीको बहाब घटेको भएपनि लालबन्दी बजारका साथै जिल्लाका विभिन्न बजारहरुमा भल पस्दा व्यापारीहरु समस्यामा परेका छन् ।लालबन्दी नगरपालिका ६ स्थित फिल्म हल पछाडि पानीको निकास नहुँदा जमेको पानीका कारण स्थानीयलाई बाहिर निस्कन समेत समस्या भएको छ ।यस क्षेत्रमा हरेक वर्ष यस प्रकारका समस्याहरु आउने गरेका भएपनि सरोकारवाला निकाय स्थानीय तह लालबन्दी नगरपालिकाका साथै सरोकारवाला निकायहरु बेखबर छन् ।जसको मारमा स्थानीय परेका छन् ।