सर्लाहीको बागमती नगरपालिका ४ मा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।बागमती नगरपालिका ४, बस्ने राजेन्द्र तामाङका छोरा वर्ष ११ का रोजित तामाङको सर्पले डसेर मृत्यु भएको हो।आफ्नै घरमा खेलिरहेका रोजितलाई विषालु सर्पले डसेको परिवारले बताएका छन्।बालकलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका परिवारले बताएका छन् ।
त्यस्तै,मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री उर्मिला देवी सिंह(चौधरी)सर्पले डसेको आशंकामा अस्पताल भर्ना भएकी छन् ।ईश्वरपुर नगरपालिका ९ रामनगर निवासी मन्त्री सिंह सर्पदंश उपचार केन्द्र लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा १२ घण्टा चिकित्सकको निगरानीमा रहेर घर फर्किएकी हुन् ।उनलाई घरमा सुतिरहेका समयमा गएराति अन्दाजी २ः५० बजे अज्ञात जीवले हातमा टोकेको थियो ।
अध्यारोमा केले टोक्यो भनी देख्न नपाएपछि सर्पले डसेको आशंकामा तत्कालै सर्पदंश उपचार केन्द्र नवलपुरमा ल्याइयो ।मन्त्री सिंहलाई १२ घण्टा निगरानीमा राखेर घर पठाइएको सर्पदंश उपचार केन्द्र नवलपुरका प्रमुख जग्गनाथ यादवले बताए ।