रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख,उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहित ११ जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश,उप प्रमुख रिता देवी र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ११ जना विरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
कटहरिया नगरपालिका २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतीका लागि लागत अनुमान बमोजिम कार्य नगरी कमसल काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
त्यसमा अख्तियारले नगर प्रमुख प्रकाश,उप प्रमुख देवी, प्रमुख प्रशासकीय अधिकृत साह, इन्जिनियर राजेशकुमार साह,योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव,कार्यपालिका सदस्यहरू समिश विक्रम शाह,मनोज प्रसाद जैसवाल र इन्जिनियर मो.मकसुद आलमविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
टायल्स ओछ्याउने बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोज कुमार साह,कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरूद्ध पनि मुद्दा दायर भएको अख्तियारले जनाएको छ।फिल्डमा सात सय २० दशमलव ८१ वर्ग मिटरमात्र काम गरेको भएपनि चारसय भन्दा ७३ दशमलव ६० वर्गमिटर बढी काम गरेको कार्यसम्पन्न प्रतिवेदन तयार पारेका भुक्तानी दिएको उजुरीमा उल्लेख छ ।
अनुगमन समितिबाट पनि सोही परिमाणको काम सम्पन्न भएको भनेर प्रतिवेदन दिएर भएको काम भन्दा बढी काम देखाएर रु १२ लाख ५२ हजार नौ सय ४१ बढी भुक्तानी लिएको पाइएपछि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ।