Close This

उखु उत्पादक किसानहरुलाई स्थानिय निकायमा दर्ता अनिवार्य

रासस    प्रकाशित: २०७७-४-२७ गते   ३४८ पटक हेरिएको

जिल्लाको हरिवन नगरपालिका ११ मा रहेको इन्दु शंकर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबै भन्दा बढी उखु क्रसिङ गरेको जनाएको छ । उद्योगले यसवर्ष ४० लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले राससलाई जानकारी दिनु भयो । 
‘इन्दुशंकर चिनी उद्योग लिमिटेड विसं. २०४२ सालमा स्थापना भएको थियो । स्थापना यताकै यस वर्ष सबै भन्दा बढी उखु क्रसिङ भएको छ’, रजकले रासससंग बताउनु भयो । ‘सर्भे गरिएका सबै किसानको उखु उद्योगमा आएका कारण यस सिजनमा स्थापना कालदेखिको सबै भन्दा बढी उखु क्रसिङ गर्न सफल भएको रजकको भनाई छ । यस सिजनका लागि पुस पहिलो साताबाट उद्योग सञ्चालन भएको थियो।
गत वर्ष २६ लाख १७ हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगले केही वर्ष अघि ३७ लाख ५० हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो । उद्योग सञ्चालन ताका ३० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिइएको भए पनि भारतीय उखु तथा जिल्लाकै दक्षिणी क्षेत्रका उखु उत्पादक किसानहरुको समेत इन्दुशंकर प्रति नै आकर्षण बढेकाले क्रसिङ परिमाण बढी भएको उद्योगले बताएको छ।
मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्लामा यस वर्ष १ करोड क्वीन्टल भन्दा बढी उखु उत्पादन भएको इन्दु शंकर चिनी उद्योग लिमिटेडका उखु प्रबन्धक रजकले जानकारी दिनु भयो । जिल्लाबाटै महोत्तरीको एभरेष्ट, रौतहटको श्रीराम, बाराको मानकौर, सिराहा लगायतका स्थानमा रहेका उद्योगमा समेत उखु जाने गरेको छ भने जिल्लामै सञ्चालन भएका दर्जनौं उद्योगले समेत सख्खर उत्पादन गर्ने गरेका छन्। चालू सिजनमा साँढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको जिल्ला कृषि विकास कार्यालय सर्लाहीले जनाएको छ। भने अब उखु उत्पादन घट्ने आशंका बढेको उखेगले बताएको छ । सरकारले उखु उत्पादक किसानहरुलाई स्थानिय निकायमा दर्ता भएर आउन भनेपछि किसानहरुको उखु उत्पादन प्रतिको आकर्षण घट्न सक्ने रजकले बताउनु भयो । जिल्लाका १२ हजार ५ सय ७५ उखु उत्पादक किसानहरु मध्ये कतिपयको आफ्नो जमिन नभएको र भाडामा लिएका जग्गाको सम्झौता पत्र समेत नरहेका कारण उखु उत्पादनमा कमी आउने उद्योगले बताएको हो । स्थानिय निकायमा दर्ता गर्न लालपुर्जा अथवा सम्झौता पत्र चाहिने र त्यस्ता किसानहरुको संख्या कम रहेका कारण उखु उत्पादन घट्ने उद्योगले राससलाई बताएको छ ।
सरकारले उखु उत्पादक किसानहरुलाई स्थानिय निकायमा अनिवार्य दर्ता गर्न भनेपछि किसानहरु समस्यामा परेको उखु उत्पादक किसान मुकेश ठाकुरले बताउनु भयो । सरकारले भुक्तानीमा अब उखु उत्पादनमा समेत १३ प्रतिशत करको व्यावस्था गरेको भन्दै जिल्लाका किसानहरु चिन्तति देखिएका छन । भने स्थानिय निकायहरुले सहजै दर्ता समेत नगरि दिएका जिल्लाका किसानहरुको गुनासो छ । 
वर्षभरी मेहनत गरेर उत्पादन गरेको उखुको मुल्य सहजै नपाइ रहेका उखु उत्पादक किसानहरु सरकारले दर्ता अनिवार्य गरेपछि वर्षेनी उखु खेतीको विकल्प समेत खोज्न थालेका छन । हरेकवर्ष १०÷१५ प्रतिशतका दरले उखु उत्पादक किसानहरु घट्ने गरेका उखु प्रवन्धक रजकले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech