चर्को शुल्क असुल्ने मनिषा हेल्थ केयरका चिकित्सक र लालबन्दी नगरपालिकाका कर्माचारी तथा जनप्रतिनिधिहरु विच घम्साघम्सी

155 Shares

सर्लाहीको लालबन्दी १ स्थित नवलपुरमा रहेको मनीषा हेल्थ केयरका चिकित्सक र लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरु तथा कर्माचारीहरु विच घम्सा घम्सी भएको छ ।सवारी दुर्घटनाका घाईतेलाई उपचारमा चर्काे शुल्क असुलेको साथै सामान्य घाउ चोटमा पनि भाँचिएको भनेर प्लाष्टर लगाएपछि उत्पन्न विवादपछि मनिषा हेल्थ केयरका चिकित्सक मुकेश कुमार साहले अनुगमनमा गएकाे लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरु र कर्माचारीहरुकाे टिममाथि दुर्व्यवहार गरेपछि घम्सा  घम्सी भएको हाे ।

असार १८ गते लालबन्दी र हरिवन नगरपालिकाको सिमाना स्थित लखनदेही पुलमा बा ४६ प ९५४८ नम्बरको मोटरसाईकलमा सवार हरिवन नगरपालिका ५ का राज हुसेन र शेष कादीरलाई लालबन्दी नगरपालिकाको योजना शाखा प्रमुख रुपेश चौलागाईले चलाएको बा ८६ प ५८५७ नम्बरको मोटरसाईकलले ठक्कर दिएर सामान्य घाईते भएपछि उनीहरुलाई उपचार गराउन लैजाँदा उपचारमा चर्काे शुल्क लिएको र सामान्य घाउ चोटमा पनि भाँचिएको भनेर प्लाष्टर लगाएर मनिषा हेल्थ केयरले रु ४० हजारको विल बनाएको थियो ।

सोही विषयलाई लिएर उत्पन्न विवादपछि असार २० गते लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरु र कर्माचारीहरुकाे टाेली अनुमगनमा गएर सम्झाई बुझाई गर्न लाग्दा मनिषा हेल्थ केयरका चिकित्सकले दुर्व्यवहार गरेपछि विवाद उत्पन्न भएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष एवम नगर प्रवक्ता गणेश थापाले बताए  ।
उनका अनुसार लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेको मनिषा हेल्थ केयर प्रा.लिले ४० हजारको विल बनाएको भएपनि सरकारी  नियमानुसार रु १४ हजार मात्रै हुने र साेही अनुसार भुक्तानी गर्ने नगरपालिकाले भनेपनि मनिषा हेल्थ केयरका चिकित्सक साहले साे प्रस्ताव अस्वीकार गरि उल्टै नगरपालिकाबाट गएकाे नगरस्तरिय अनुगमन समितिकी संयाेजक एवम नगर उप प्रमुख कल्पना माया पाख्रिन सहित अनुगमनमा गएकाे जनप्रतिनिधिहरु र कर्माचारीहरुकाे टिममाथि दुर्व्यवहार गरेपछि प्रतिकार गरिएको हाे ।

मापदण्ड विपरीत सञ्चालित मनिषा हेल्थ केयरकाे अनुगमनका लागि असार २० गते दिउँसो करिब ४ बजे पुगेको नगरस्तरिय अनुगमन समिति सहित जनप्रतिनिधिहरुका साथै कर्माचारीहरु माथि नै  उल्टै दुर्व्यवहार गरेपछि सामान्य धकेला धकेल भएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष शुक्र लामाले बताए । 
उनका अनुसार लालबन्दी नगरपालिकाकाे नगर स्तरिय अनुगमन टाेलीमाथि मनिषा हेल्थ केयरका चिकित्सक साहले आफ्नाे कमिकमजाेरी स्वीकार गरि सुधार गर्नु पर्नेमा उल्टै नगर उप प्रमुख पाख्रिङ सहित नगरपालिकाकाे टोलीलाई नै दुर्व्यवहार गरेपछि सम्झाउने  क्रममा केही धकेला धकेल भएको हाे ।
मनीषा हेल्थ केयरले जबर्जस्ती उपचार गराएको र बढी बिल उठाएको भन्दै अनुगमनमा गएकाे  लालबन्दी नगरपालिकाकाे टाेलीमाथि मनिषा हेल्थ केयरका चिकित्सक साहले दुर्व्यवहार गरेपछि नगरपालिकाबाट  गएको जनप्रतिनिधिहरु र कर्माचारीहरुको टोलीले प्रतिकार गरेकाे नगरस्तरिय अनुगमन समितिकी संयाेजक एवम नगर उप प्रमुख पाख्रिङले बताईन ।
उनका अनुसार मनीषा हेल्थ केयरका चिकित्सक साह आएर अनुमगन समिति माथि चर्को स्वर र दुर्व्यवहार गरेपछि नगरपालिकाका कर्माचारी र जनप्रतिनिधिहरु आक्राेसमा आएर घटना भएको हाे । 
लालबन्दी नगरपालिका क्षेत्रभित्र सञ्चालित नीजि स्वास्थ्य संस्थाहरु “स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा स्तरोउन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने कार्यविधि २०७९” विपरित सञ्चालन रहेका पाइएपछि लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका साथै नगरस्तरिय अनुमगन समिति विगत केही महिना पहिलादेखि तातेको छ ।
के छ मापदण्ड तथा निर्देशिकामा ?
“स्वास्थ्य संस्थाले उपलब्ध गराउने भनिएको विशेषज्ञ सेवा सम्बन्धित विशेषज्ञ चिकित्सकबाटै प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने,बिरामीले आफूले सेवा लिन चाहेको चिकित्सकबाट सेवा लिन पाउने व्यवस्था सुनिश्चित गर्नु पर्ने,बिरामी वा बिरामीको रेखदेख गर्ने व्यक्तिलाई रोग र उपचार पद्धति बारे स्पष्ट जानकारी दिने व्यवस्था हुनु पर्ने,अस्पताल परिसर तथा सेवा दिने कक्षहरु नियमितरुपमा सफा सुग्घर राखिएको हुनु पर्ने,सबैले देख्ने स्थानमा उजुरी पेटिका राखिएको हुनु पर्ने,जनगुनासो व्यवस्थापनका लागि गुनासो सुन्ने अधिकारी तोकी जनगुनासो तथा पर्न आएको उजुरी समाधान गर्ने व्यवस्था मिलाएको हुनु पर्ने साथै समाधान हुन नसक्ने भएमा सो को कारण सम्बन्धित व्यक्तिलाई जानकारी गराउनु पर्ने,बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क,प्रकृया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्र भागमा देखिने गरी राख्नु पर्ने र सोही अनुरुप सेवाको सुनिश्चितता गर्नु पर्ने,अस्पतालमा आउने बिरामीलाई आवश्यक पर्ने जानकारी गराउन सोधपुछ वा सहायता कक्षको व्यवस्था गरी सेवाग्राहीलाई आवश्यक जानकारी दिने व्यवस्था गरेको हुनु पर्ने तथा ५० शैया वा सो भन्दा बढी क्षमताका अस्पतालहरुले सामाजिक सेवा इकाईको अनिवार्य व्यवस्था गरेको हुनु पर्ने,सेवा प्रदायक चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि विभिन्न सरुवा रोग बिरुद्धको खोप तथा व्यक्तिगत सुरक्षा व्यवस्था गरेको हुनु पर्ने,हरेक स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियम बनाएको हुनु पर्ने,स्वास्थ्य संस्थाले नेपाल सरकारबाट सञ्चालित सेवा वा कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारले तोकेको प्रोटोकल÷मापदण्ड निर्देशिका अनिवार्य रुपमा पालना गरेको हुनु पर्ने,अस्पतालले चौबीसै घण्टा चिकित्सक तथा दक्ष स्वास्थ्य कार्यकर्ताबाट आकस्मिक सेवा दिने व्यवस्था मिलाएको हुनु पर्ने,अस्पतालमा रहेको आकस्मिक शैया क्षमताको आधारमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको व्यवस्था गरेको हुनु पर्ने,आकस्मिक विभागवाट बिरामी भर्ना गर्न,रिफर गर्ने बिरामीको रेफरल प्रकृया र बिरामी सार्ने पद्धति स्पष्ट परिभाषित भएको हुनु पर्ने र अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय,बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने छ ।आफ्नो जग्गा नभएका २५ शैयाका अस्पतालले घर जग्गा भाडामा लिई सेवा सञ्चालन गर्दा सो घर भूकम्पीय जोखिम प्रतिरोध क्षमता भएको भनि सहरी विकास तथा भवन विभाग÷डिभिजन कार्यालयबाट प्रमाणित भएको हुनु पर्ने,५० शैया भन्दा माथि क्षमता विस्तार गर्दा वा पचास शैया भन्दा माथिको अस्प्ताल सञ्चालन गर्नु पर्ने अवस्थामा भवन निर्माण स्विकृति लिदा प्रयोजनमा अस्पताल सेवा संचालनका लागि भनी स्पष्ट खुलेको हुनु पर्ने,शिक्षण अस्पतालको हकमा कुल निर्माण क्षेत्रफल नेपाल मेडिकल काउन्सीलले तोके बमोजिम र नतोकेको भएमा न्यूनतम प्रति शैया ९० वर्गमीटर हुनु पर्ने,बहिरंग विभागको प्रत्येक कोठाको क्षेत्रफल कम्तिमा १४ वर्ग मीटर हुनु पर्ने,शौचालय,प्रतिक्षालय,विशेषज्ञको सहयोगी रहने कक्षका लागि पर्याप्त स्थान हुनु पर्ने,बिरामीको चापको अनुपातमा पर्याप्त र सुविधाजनक हुने गरी फर्निचर सहितको प्रतिक्षालयको व्यवस्था भएको हुनुपर्ने,अस्पताल भित्र प्रवेश गर्ने र बाहिर निस्कने अलग–अलग प्रवेश द्वार र बहिर्गमनद्वार हुनुपर्ने,आपतकालीन सेवाका लागि प्रयोग हुने सवारी साधनहरू अस्पतालको आपतकालीन कक्ष र अन्य अत्यावश्क ठाउँमा सहज रुपमा जानसक्ने गरी अलग्गै बाटो र गेटको व्यवस्था गरेको हुनुपर्ने,सेवाग्राही र अस्पताल कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन र एम्बुलेन्स दमकल जस्ता सवारी साधनका लागि पार्किङको व्यवस्था हुनुपर्ने,न्यूनतम पार्किड कूल जग्गाको पच्चीस प्रतिशत वा प्रति तीन शैयाका लागि एउटा कार पार्किङ गर्न मिल्ने स्थल मध्ये जुन बढी हुन्छ सोही अनुसार हुनु पर्ने,अस्पताल जेष्ठ नागरिक, बालबालिका तथा अपांगमैत्री हुनु पर्ने,ह्विलचेयर,ट्रलि,स्ट्रेचरको पर्याप्त व्यवस्था हुनुपर्ने र यस्ता सामग्री राख्ने ठाउँ र चलाउन सकिने पर्याप्त ठाउ र चलाउने मानिसको समेत व्यवस्था भएको हुनु पर्नेछ ।
अनुमति प्रदान गर्ने निकाय र मन्त्रालयले आवश्यकता अनुसार जोखिम,भौगोलिक अवस्थिति, बिरामीको चाप,शल्यक्रियाको संख्या,वित्तीय लगानीका आधारमा नमूना छनौट गरी स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाको गुणस्तर तथा निर्देशिकाको मापदण्ड पुरा गरे नगरेको सम्बन्धमा निरीक्षण तथा अनुगमन गर्न वा गराउन सक्ने,सम्बन्धित निकाय वा स्वास्थ्य संस्था रहेको जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयले वस्तुगत आधारमा जुनसुकै बखत अनुगमन टोली खटाई आकस्मिक अनुगमन गर्न सक्ने,मन्त्रालयले जुनसुकै निकायबाट सेवा सञ्चालन अनुमति प्राप्त गरेको अस्पताल वा स्वास्थ्य संस्था र अनुमति प्रदान गर्ने निकायको समेत अनुगमन गर्न सक्ने,नियमित वा आकस्मिक अनुगमन गर्दा तोकिएको गुणस्तर वा पूर्वाधार पूरा नगरी सेवा सञ्चालन गरेको पाईएमा त्यस्तो संस्थालाई तत्काल सुधारका लागि बढीमा तीन महिनाको म्याद दिई सुधारको मौका दिन सकिने,निरीक्षण तथा अनुगमनका क्रममा दिएको निर्देशन पालना नगर्ने,गुणस्तर तथा पूर्वाधार मापदण्ड पूरा नगर्ने र गुणस्तर परीक्षणको वार्षिक प्रतिवेदन पेश नगर्ने स्वास्थ्य संस्थालाई सम्बन्धित अनुमति प्रदान गर्ने निकायले त्यस्तो स्वास्थ्य संस्थाले प्रदान गरि आएको सेवा पूर्ण वा आंशिकरुपमा तत्काल बन्द गर्न आदेश दिन सक्ने,स्वास्थ्य संस्थालाई कारबाही गर्नु पूर्व सम्बन्धित स्वास्थ्य संस्थालाई मनासिव माफिको सफाइ पेश गर्ने मौका दिनु पर्ने,अन्य प्रचलित कानून बमोजिम गरिने अनुगमनलाई यो व्यवस्थाले सीमित गर्ने छैन ।
“आदेश वा अनुगमन समितिले अनुगमन प्रतिवेदन उपर चित्त नबुझ्ने स्वास्थ्य संस्थाले त्यस्तो प्रतिवेदन पेश भएको मितिले १५ दिन भित्र चित्त नबुझ्नुको स्पष्ट आधार र कारण सहित पुनराबलोकनका लागि मन्त्रालयका सचिव समक्ष निवेदन दिन सक्ने,प्राप्त भएको निवेदन उपर सम्बन्धित निकायको प्रतिकृया समेत लिई मन्त्रालयले छानविन गरी यथाशीघ्र निर्णय गर्नु पर्नेछ र सो सम्बन्धमा मन्त्रालयले गरेको निर्णय अन्तिम हुने,स्वास्थ्य संस्था गाभिई सेवा सञ्चालन गर्न सक्ने ःस्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी तथा सुविधायुक्त बनाउन सञ्चालनमा रहेका एक भन्दा वढी स्वास्थ्य संस्थाहरु एक आपसमा गाभिई सेवा सञ्चालन गर्न चाहेमा मन्त्रालयले तोकेको आधारमा सेवा सञ्चालन गर्न अनुमति प्रदान गर्ने निकायसमक्ष त्यस्ता स्वास्थ्य संस्थाहरुले संयुक्तरुपमा निवेदन दिन सक्नेछन् ।”“अस्पताल सम्बन्धी मापदण्डहरूमा अस्पताल रहने स्थान धुँवा,धुलो,ध्वनि,जल तथा जमिन प्रदूषणबाट मुक्त भएको,अस्पताल रहने क्षेत्र र हाताभित्र उपयुक्त सुरक्षाको ब्यवस्था भएको,अस्पताल स्थापना हुने स्थान सडक यातायातको पहुँच भएको,पानी,बिजुली र सञ्चार सुविधा उपलब्ध भएको,सवारी साधन पार्किङका लागि पर्याप्त व्यवस्था भएको,अस्पताल परिसरमा स्वस्थकर वातावरणका लागि वृक्षारोपण तथा बगैँचाको व्यवस्था भएको,जोखिमपूर्ण फोहरव्यवस्थापनका लागि उपयुक्त प्रविधिको व्यवस्था गर्नुका साथै फोहरमैला व्यवस्थापन ऐन,२०६८ र फोहरमैला व्यवस्थापन नियमावली,२०७० बमोजिम फोहर व्यवस्थापनका लागि आवश्यक पूर्वाधार व्यवस्था मिलाएको,आकस्मिक सेवाका लागि देहाय बमोजिमको पूर्वाधार सम्बन्धी मापदण्ड पुरा गरेको हुनुपर्ने,कुल शैया क्षमताको कम्तिमा १० प्रतिशतका दरले आकस्मिक कक्षमा शैयाहरू उपलब्ध हुनु पर्नेछ। आकस्मिक सेवाका लागि छुट्याएको शैयालाई देहाय अनुरुप वर्गीकरण गरी सेवा दिने व्यवस्था मिलाउनु पर्ने,अति सिकिस्त बिरामीको सेवा दिने शैया बराबर एक प्रतिशत,सिकिस्त विरामीको सेवा दिने शैया बराबर दुई प्रतिशत र सामान्य बिरामीको सेवा दिने शैया वरावर तीन प्रतिशत,मृत्यु भईसकेका बिरामीलाई राख्ने शैया बराबर एक प्रतिशत,अनुगमन कक्ष र वेड बराबर तीन प्रतिशत हुनु पर्नेछ ।
“आकस्मिक कक्ष सञ्चालन गर्दा अल्ट्रासाउण्ड,एक्सरे इमेजिङ सेवा,प्रयोगशाला,ओ.पी.डी., ओ.टी.तथा अन्य वार्डहरूमा समेत सजिलै विरामी ल्याउन लैजान सकिने,ह्विलचेर÷ट्रली स्टे«चर गरी सञ्चालनमा ल्याएको हुनु पर्ने,आकस्मिक कक्षमा प्रतिक्षालय,शौचालय,ट्रायज ( चेन्जिङ रुम,गोपनियता सुनिश्चित हुने कोठाको समेत व्यवस्था भएको हुनु पर्ने र चौबीसै घण्टा आकस्मिक सेवा दिने व्यवस्था मिलाएको हुनु पर्ने,२५ शैया क्षमताका अस्पतालमा आकस्मिक सेवाका लागि दक्ष स्वास्थ्यकर्मी चौबीसै घण्टा र चिकित्सक अनकलमा उपलब्ध हुने व्यवस्था हुनु पर्ने साथै २५ शैया वा सो भन्दा माथिको क्षमता भएका अस्पतालहरुमा आकस्मिक सेवा कक्षमा चौबीसै घण्टा चिकित्सक सेवा उपलब्ध हुनुका साथै सम्बन्धित विषयको कन्सल्ट्याण्ट चिकित्सक अनकलमा अनिवार्य रूपमा उपलब्ध हुनु पर्ने,आकस्मिक विभागबाट विरामी भर्ना गर्न,रिफर गर्ने बिरामीको रेफरल प्रकृया तथा बिरामी सार्ने पद्धति स्पष्टरूपमा परिभाषित रहेको हुनु पर्ने,प्रकोपजन्य रोगहरु, प्राकृतिक प्रकोप जस्ता पक्षहरुलाई विचार गरी आकस्मिक उपचार सेवाका लागि संस्थाले विपत व्यवस्थापन योजना बनाएको हुनु पर्ने,आकस्मिक सेवामा काम गर्ने जनशक्तिले सम्बन्धित तालिम लिएको हुनु पर्ने,बहिरंग विभागका लागि देहाय बमोजिमको पूर्वाधार सम्बन्धी मापदण्ड पुरा गरेको हुनुपर्ने,अस्पतालबाट प्रदान हुने प्रत्येक विशेषज्ञ सेवाका लागि ओ.पी.डी.कक्षको व्यवस्था मिलाएको,अस्पतालका लागि सामान्यतया सामान्य चिकित्सा,वालरोग,सामान्य शल्यक्रिया,स्त्री तथा प्रसुती सेवा हुनुपर्ने तथा पूर्वाधार पूरा गरी हाड जोर्नी,नाक कान घाँटी,छाला तथा यौनरोग,आँखा,दन्त सेवा जस्ता सेवाको लागि स्वेच्छिक रुपमा सञ्चालन गर्न सक्ने,उपलब्ध भएका चिकित्सकहरु मध्ये सेवाग्राहीले चिकित्सकसँग परीक्षण गर्न पाउने व्यवस्था भएको,उपलब्ध भएसम्म रोजेको ५० शैया वा सो भन्दा माथिका अस्पतालले एम.सी.एच. क्लिनिकको अलग्गै व्यवस्था गरेको हुनुपर्ने,अस्पतालमा शल्यक्रिया पश्चात पनि बिरामीको अवस्था स्थिर नभएसम्म उक्त शल्यक्रिया गर्ने समूह तथा सर्जन चिकित्सक र एनेस्थेसियोलोजिष्ट अस्पतालमा रहिरहनु पर्ने र तत्पश्चात पनि सर्जरीको प्रकृति हेरी आवश्यक परेको खण्डमा तत्काल उपलब्ध हुने व्यवस्था मिलाउनु पर्ने,नर्सिङ ड्यूटी स्टेशनबाट प्रत्येक विरामीको प्रत्यक्ष निगरानी हुने व्यवस्था गर्नु पर्ने,उक्त सुविधा नभएमा प्रत्येक बिरामीको शैयामा कल बेल राख्नु पर्ने,एक कन्सल्ट्याण्टको मातहतमा स्वास्थ्य सेवाको कुनैपनि युनिटमा २५ शैया भन्दा बढी शैया राख्न नपाइने,प्रत्येक किसिमका परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नीति अनुरुपको प्रयोगशालाको व्यवस्था भएको हुनु पर्ने,रेडियो डाइग्नोसिस,अल्ट्रासाउण्ड, एक्सरे फिल्म लोडिड,अनलोडिङ तथा प्रोसेसिङ लगायतका इमेजिङ सेवा कक्षहरू ओ.पी.डी.,ओ.टी.तथा वार्डहरूलाई समेत सजिलै विरामी ल्याउन लैजान सकिने ह्विलचेयर÷ट्रली,स्टेचर संचालनमा ल्याएको हुनुपर्ने,यस्ता सेवा प्रदान गरिने कोठाहरूमा प्रतिक्षालय,शौचालय,चेन्जिङ रुमको समेत व्यवस्था भएको हुनु पर्ने, शल्यक्रिया गर्ने स्वास्थ्य संस्थामा सेवाको प्रकार हेरी पांचदेखि दश प्रतिशत सघन उपचार सेवाका आई. सि.यु.शैयाहरु रहनु पर्ने,अस्पतालमा पोषण,खोप,आमा र बच्चाको स्वास्थ्य,परिवार नियोजन जस्ता सेवाहरुको नेपाल सरकारको नीति बमोजिम प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवा उपलब्ध हुनु पर्ने,अस्पतालमा कम्तीमा बच्चा तथा आमाको लागि विशेषज्ञ सेवा र विशेषज्ञ अस्पतालमा सो अस्पतालको प्रकृति अनुसारको विशेषज्ञ सेवा उपलब्ध गराउनु पर्ने,अस्पताल हाता भित्र औषधि पसलको व्यवस्था अस्पताल फार्मेसी सेवा निर्देशिका,२०७० बमोजिम गर्नु पर्ने,चौबिसै घण्टा फार्मेसी सञ्चालनका लागि फार्मेसी विषय अध्ययन गरेको दक्ष जनशक्तिको व्यवस्था हुनु पर्ने,फार्मेसी कक्षमा औषधिको गुणस्तरमा ह्रास नहुने गरी सुरक्षित भण्डारण गर्ने व्यवस्था मिलाउनु पर्ने साथै ताप संवेदनशील औषधि तथा भ्याक्सिनको भण्डारण तोकिएको तापक्रममा भण्डारण हुनुपर्ने,उपचारमा प्रयोग गरिने लागू औषधहरु लागू औषध (नियन्त्रण)ऐन,२०३३ बमोजिम स्वास्थ्य संस्थाले चिकित्सकको लिखित प्रेस्कीप्सन अनुसार मात्र वितरण गर्ने व्यवस्था मिलाएको हुनु पर्ने साथै औषधिको आम्दानी तथा वितरणको अभिलेख राख्नु पर्ने,म्याद नाघेका औषधिहरु नियमित रुपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको हस्पिटल वेइयस्ट मेनेजमेन्ट निर्देशिकामा उल्लेख भएकोमा सोही बमोजिम र नभएको खण्डमा विश्व स्वास्थ्य संगठनको निर्देशिका बमोजिमको विधि अपनाई नष्ट गर्नु पर्ने,आकस्मिक सेवाका लागि चाहिने आवश्यक औषधिहरु चौविसै घण्टा उपलब्ध हुने व्यवस्था हुनु पर्ने,अस्पतालले बाह्य व्यक्ति वा संस्थालाई फार्मेसी सेवा संचालन गर्न दिएको अवस्थामा सो व्यक्ति वा संस्थाले पनि अस्पतालले पालना गर्नुपर्ने माथि उल्लेख भएका सम्पूर्ण शर्तहरु अनिवार्य रुपमा पालना गर्ने व्यवस्था मिलाएको हुनु पर्ने,औषधीको खुद्रा मूल्यमा छुटको व्यवस्था भएमा सबैले देख्ने गरी सूचना टाँस गर्नुपर्ने,भवन संहितामा उल्लेखित मापदण्ड अनुरूप औषधि पसल सञ्चालन हुने भवन निर्माण भएको हुनु पर्ने,अस्पताल हातामा ब्लड बैंकको व्यवस्था भएको हुनुपर्ने सो नभएमा बिरामीको लागि आवश्यक पर्ने ब्लड उपलब्ध हुने गरी व्यवस्था मिलाइएको हुनु पर्ने,ब्लड बैंकको सम्बन्धमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नीति अनुरुपको व्यवस्था भएको हुनु पर्ने, ५० शैया भन्दा माथि क्षमताको अस्पतालमा फिजियोथेरापि सेवा अनिवार्यरुपमा उपलब्ध हुनु पर्ने,अस्पतालमा रहेका बिरामी तथा अन्य सेवाग्राहीलाई असहज नहुने गरी अलग्गै चिस्यान कक्ष वा शवगृहको व्यवस्था भएको हुनु पर्ने र सोधपुछ तथा गुनासो सुनुवाई कक्ष,सेवाग्राहीहरूको सुविधाको लागि आवश्यक कर्मचारी सहितको सोधपूछ कक्षको व्यवस्था हुनुपर्ने साथै  अस्पतालले प्रदान गर्ने सेवाका विषयमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्ने उचित प्रबन्ध मिलाइएको हुनु पर्नेछ ।”उल्लेख गरिएको छ ।
तर लालबन्दीका मात्र नभई सर्लाही कै अधिकांश नीजि स्वास्थ्य संस्थाहरुले “स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा स्तरोउन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने कार्यविधि २०७९”को धज्जी उडाउँदै शक्तिको आडमा धन्दा चलाई रहेका छन् ।
त्यस्तै,लालबन्दी नगरपालिकाले मापदण्ड र निर्देशिकालाई देखाउँदै अनुगमनको नाममा अनुगमन गर्ने गरेका कारण नीजि स्वास्थ्य संस्थाका कर्माचारीहरुमा पनि मनाेवल बढेकाे जानकारहरु बताउँछन्।पटक पटक अनुगमनको बाहनामा नगरपालिकाकाे अनुगमन समितिले अनावश्यक दुःख दिने गरेको नीजि स्वास्थ्य संस्था सञ्चालकहरुको गुनासो छ ।
यता,“यसअघि नगरपालिकाले मनीषा हेल्थ केयर मापदण्ड विपरीत भेटिएको र १५ दिनभित्र सम्पूर्ण कागजपत्रसहित उपस्थित हुन भनेको थियाे ।बाहिरका डाक्टर ल्याउने भनेर अस्पतालले नाम राखेको,१५ बेडको अस्पताल भनिएको तर त्यो कतै नदेखिएकाे साथै मापदण्ड विपरित सञ्चालन गरिएको,मनिषा हेल्थ केयरलाई पाेलिक्लिनिक खोल्न मात्र अनुमति दिएकाे भए पनि उसले १५ बेडको अस्पताल नै चलाएकाे पाईएकाले साे नीजि स्वास्थ्य संस्था अनिश्चितकालका लागि सिल गरिएको  नगर स्वास्थ्य शाखा लालबन्दीका संयोजक मुमताज मिक्रानीले बताए ।
“लालबन्दी नगरपालिकाले दादागिरी गरेको आरोप आफूहरूले बिरामीलाई उपचार गर्दा पनि डाक्टर माथि हातपात हुनु भनेको नगरपालिका र तिनका कर्मचारी तथा जनप्रतिनिधिहरुको अत्याचार,ड्युटीमा रहेका डाक्टरहरूमाथि हातपात हुनुलाई आफूहरूले गम्भीर रूपमा लिएको साथै प्रहरी प्रशासनले समेत आफूहरूलाई असहयोग गरेको”मनीषा हेल्थ केयरका सञ्चालकको गुनासो छ ।
“नगरपालिकाले जे जस्तो भने पनि आफूहरूले नगरपालिकाले बनाइदिएको मापदण्डमा रहेर अस्पताल सञ्चालन गरेको,आफ्नाे अस्पतालमा शान्ति कायम राख्न चाहेकोले बिलको एक अंश मात्र तिर्ने अनुमति दिएका भए पनि त्यसको भोलिपल्ट लालबन्दी नगरपालिकाककी उप प्रमुख पाख्रिन सहित प्रशासन प्रमुख र स्वास्थ्य शाखाका प्रमुखसहितको टोलीले आफ्नाे अस्पताललाई सिल गरे,ड्युटीमा रहेका डाक्टरमाथि हातपात गरी प्रहरी चौकीभित्र पनि राखियो,बिरामीसँग बढी पैसा लियो भन्दैमा डाक्टर माथिनै हातपात यो कहाँको नियम हो ?” ”मनीषा हेल्थ केयरका सञ्चालकले बताए ।“नगरपालिकाका योजना अधिकृत चौलागाईको मोटरसाईकलको ठक्करबाट दुर्घटना भएको र सित्तैमा उपचार खोज्न आएकाहरूले डाक्टरमाथि हातपात गरेका”मनीषा हेल्थ केयरका सञ्चालकको आरोप छ ।
सोही विषयमा नेपाल चिकित्सक संघ जनकपुर शाखाले चिकित्सकमाथि भएको घटनाको विज्ञप्ती मार्फत भत्सर्ना गरेकोको छ।संघले चिकित्सकमाथि हातपात गर्नेहरूलाई कडाभन्दा कडा कार्बाहीको माग गरेको छ।यदि कारबाही नभए चिकित्सक संघले आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।सो विषयमा बुझ्न लालबन्दी नगरपालिकाका योजना शाखा प्रमुख चौलागाईँलाई फोन गर्दा उनको फोन उठेन ।मनिषा हेल्थ केयरले सामान्य उपचारमा चर्काे शुल्क असुल्नु र सम्झाई बुझाई गर्न नगरस्तरिय अनुगमन समितिकी संयाेजक एवन नगर उप प्रमुख पाख्रिन सहितकाे टाेलीमाथि चिकित्सकले दुर्व्यवहार गर्नु तथा  लालबन्दी नगरपालिकाका कर्माचारीहरु तथा जनप्रतिनिधिहरुले चिकित्सक माथि हातपात गर्नु दुवै निन्दनीय कार्य भएको जानकारहरु बताउँछन्।

सम्बन्धित समाचार