सार्वजनिक खरिद अनुगमन कार्यालयले करिब तीन सय आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ।सार्वजनिक निर्माणमा विकृति देखिएको भन्दै समितिले गरेको अनुगमनबाट समस्या देखिएका दुई सय ८९ वटा आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको हो ।
सार्वजनिक निर्माणमा देखिएको विकृतिकोले राज्य कोषको रकम मात्र दोहन नभई विकासका काम समेत प्रभावित भएको र आर्थिक वर्षको अन्त्यमा आएर खर्च गर्नेदेखि सार्वजनिक निर्माणमा तोके बमोजिम काम नगर्ने परिपाटी झाँगिएको गुनासो आएपछि गरिएको अनुगमनमा समस्या देखिएपछि कालोसूचिमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
काम जिम्मा लिने तर समयमा नसक्ने लगायतका समस्या भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षमा दुई सय ८९ वटा व्यवसायीक फर्मलाई कालोसूचीमा राखेको छ ।कार्यालयका अनुसार अघिल्लो वर्ष एक सय ६२ फर्म कालोसूचीमा परेका थिए। कबोल बमोजिम काम नगर्ने,गुणस्तरमा ध्यान नदिने र सर्त बमोजिम काम नगर्ने आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
काम नगर्ने कम्पनीलाई कालो सुचीमा राख्नुका साथै ठेक्का खारेज गर्ने तथा दण्ड जरिवाना पनि गर्नुपर्ने पूर्वाधार क्षेत्रका विज्ञहरुको सुझाब छ।नेपालको विकास निर्माणमा समयमा काम नसक्ने प्रवृत्तिले सार्वजनिक निर्माणको लागत बढीरहेको भएपनि सरकार मूकदर्शक जस्तै बनेको पूर्वाधार क्षेत्रका विज्ञहरुको आरोप छ ।
राष्ट्रिय योजना आयोगकै प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनाको सुरुवाती लागत रु १० खर्ब रहेकोमा अहिले रु २६ खर्ब पुगेको छ।यसकारण गुणस्तरीय काम समयमा नगर्ने आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालो सुचीमा राख्ने,कानुन बमोजिम दण्डित गरेर ठेक्का तोड्दै नयाँ ठेक्का लगाउने हिम्मत सरकारले देखाउनु पर्ने उनीहरुको सुझाब छ ।