मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ।आइतबार(आज)मधेश प्रदेश सभाको बैठकको सुरुमै सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानिबिन समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।
उच्चस्तरीय छानबिन समिति गठन र कार्यजिम्मेवारी निर्धारण गर्न मुख्यमन्त्री सतिशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई जिम्मा दिइएको सभामुख मण्डलले जानकारी दिए ।
बजेटमा त्रुटि भएको सरकारले स्वीकार गरेको भन्दै जसपा नेपालले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आइरहेको थियो।जसपा नेपालले उच्चस्तरीय छानबिन समिति गठनका साथै बजेट संशोधन र सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजन हुनुपर्ने माग गर्दै आएको छ ।
नेकपा(माओवादी केन्द्र)संसदिय दल मधेश प्रदेशका नेता भरत प्रसाद साहले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरेका थिए । सोही समयदेखि माओवादी केन्द्र मधेश प्रदेश संसदिय दलका नेता एवम तत्कालिन अर्थ मन्त्री साहसंग माओवादी केन्द्र कै प्रदेश सभा सदस्यहरु असन्तुष्ट रहेका थिए ।
“करिब तीन हप्ता अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा नेता साहले व्यापक अनियमितता गरेका,गुटबन्दी गरेका,एकलौटी निर्णयहरु गरेका र माओवादी केन्द्रका अन्य प्रदेश सभा सदस्यहरुसंग छलफल र सल्लाह नगरेका”भन्दै माओवादी केन्द्र कै प्रदेश सभा सदस्यहरुले उनको आलोचना गरेका थिए ।
“पिएलएमबिआइएस सिस्टममा कर्मचारीहरुले ह्याक गरी बजेटमा गडबडी गरेको अर्थ मन्त्री साहले जवाफ दिएका भएपनि सो कुरा अनावश्यक र गैर जिम्मेवारपुर्ण कुरा रहेको भन्दै उनलाई संसदिय दलको नेताबाट नै हटाउनु पर्ने समेत माओवादी केन्द्र मधेश प्रदेश सभा सखस्यहरुले माग गरेका थिए।माओवादी केन्द्रबाट फकिरा महतो,जवाहर लाल कुशवाहा,राजी हैदर,सुनिता यादव,माला कुमारी कर्ण,रहबर अन्सारी,युवाराज भट्टराई(समिर) र साह सहित नौ जना प्रदेश सभा सदस्यहरु रहेका छन् ।