लालबन्दी १ नवलपुरका थप ३ वटा नीजि स्वास्थ्य संस्था सिल

611 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ का तीनवटा नीजि स्वास्थ्य संस्थालाई लालबन्दी नगरपालिकाको अनुगमन समितिले सिल गरेको छ । विभिन्न समयमा पटक पटक सचेत गराउँदा पनि हटेर गरि नीजि स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा व्यावस्थापन सम्बन्धि निर्देशिका २०७० र स्वास्थ्य संस्थाको गुणस्तर गर्ने कार्यविधि सम्बन्धि मापदण्ड २०७९ को खिल्ली उडाउदै आफ्नो मनोमानि नछाडेका लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेका रक्षा हेल्थ केयर सेन्टर प्रा.लि,ओम्निका हेल्थ केयर प्रा.लि र नवलपुर मोडेल अस्पताल सिल गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुमताज आलम मिक्रानीले जनाकारी दिए ।
उनका अनुसार २०८० मंसिरमा नगरस्तरीय अनुगमन समितिले अनुगमन गर्दा आवश्यक मापदण्ड र कागजातहरु नपुगेका नगरभित्रका ६९ वटा नीजि स्वास्थ्य संस्थाहरुलाई सचेत गराईएकोमा अधिकांश नीजि स्वास्थ्य संस्थाहरुले अटेर गरेपछि पुन अनगमन समिति तातेको हो ।
केही दिन पहिला लालबन्दी नगरपालिका १ नवलपुरमै रहेको मनिषा हेल्थ केयरको चर्को असुलिको गुनासो आएपछि पुगेको अनुगमन समिति र मनिषा हेल्थ केयरका चिकित्सक विच विवाद समेत भएको थियो । त्यसपछि विभिन्न सञ्चार माध्यामहरुबाट लालबन्दीका नीजि स्वास्थ्य संस्थाहरुको भण्डाफोर र नगरस्तरीय अनुगमन समिति र जिल्लास्तरीय अनुगमन समितिको लाचारीपनाको भण्डाफोर भए पछि पुन तातेको अनुगमन समितिले दैनिक जसो नगरका नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गरि रहेको छ ।
नयाँ नीजि स्वास्थ्य संस्थाहरुलाई मापदण्ड पुर्याउन र आवश्यक कागजात नगरपालिकामा पनि पेश गर्न भन्दै सचेत गराईएको नगरस्तरीय अनुगमन समितिकी संयोजक एवम नगर उप प्रमुख कल्पनामाया पाख्रिनले बताईन् ।उनका अनुसार यस अघि सचेत गराउँदा पनि अटेर गर्ने र मापदण्डको पालना नगर्ने नीजि स्वास्थ्य संस्थाहरुलाई सिल गर्न सुरु गरिएको हो । तर यस अघिपनि अनुगमनको क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सिल गरिएको भए पनि भोलि पल्ट नै सिल खुलेको थियो।त्यसपछि नगरस्तरीय अनुगमन समिति पनि आर्थिक प्रलोभन तथा शत्तिको प्रभावमापरेको आलोचना भएको थियो । अनुगमनको क्रममा मापदण्ड विपरीत सञ्चालित मनिषा हेल्थ केयर र बि एण्ड आर हस्पिटल नवलपुरलाई केही दिन पहिला नै सिल गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
जिल्लास्तरीय अनुगमन समितिले अनुगमन गर्दा पनि रक्षा र ओम्निका लगायतका अन्य नीजि स्वास्थ्य संस्थाहरु मापदण्ड विपरित रहेका भन्दै बन्द गर्न निर्देशन भएको भए पनि उनिहरु खुलेआम रुपमा चलि रहेका थिए । जिल्लाको लालबन्दी,नवलपुर,हरिवन,बरहथवा र मलंगवाका साथै बयलवासमा सञ्चालित अधिकांश नीजि स्वास्थ्य संस्थाहरुले गैर कानुनी रुपमा लिङ्ग प,हिचान गरि भ्रुण हत्या गर्ने गरेका गुनासो आएको जिल्लास्तरीय अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले बताए ।उनले नागरिकको स्वास्थ्य माथि खेलवाड गर्ने कुनै पनि स्वास्थ्य संस्थालाई नछाड्ने समेत बताएका छन् ।यता,लालबन्दीका नीजि स्वास्थ्य संस्था सञ्चालकहरु नगरस्तरीय अनुगमन समितिले दादागिरी गरेको भन्दै आन्दोलन समेत गरेका थिए ।उनीहरुको आन्दोलनबाट अनुगमन समिति झन तातेको छ ।

सम्बन्धित समाचार