सर्लाहीको इश्वरपुर नगरपालिका २ स्थित मियाँखोरमा कार अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।बयलवासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार इश्वरपुर नगरपालिका २ मियाँखोर स्थित सरस्वती मावि अगाडिको पोखरीमा अनियन्त्रित भई डुब्दा कारमा सवार तीन जना मध्य दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ईश्वरपुर नगरपालिका २ मियाँखोरस्थित सरस्वती मावि अगाडिको पोखरीमा कार अनियन्त्रित भई डुब्दा कारमा सवार तीन जनामध्य एक जना पौडिएर बाँच्न सफल भएका छन् भने दुई जनाको ज्यान गएको छ ।कार पोखरीमा डुब्दा कार चालक महोत्तरीको गौशाला नगरपालिका १० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका ८ का अन्दाजी ३७ वर्षीय रामाकान्त ठाकुरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार कारमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका २ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर सकुशल बाहिर निस्किएका हुन।सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी बर्दिवास,इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवास र ईलाका प्रहरी कार्यालय भक्तिपुर सहित सशस्त्र प्रहरी बल नेपाल सागरनाथ बेसको टोलीले कारसहित दुई वटै शव निकालेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए।शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने दुर्घटनामा संग्लग्न कार प्रहरीको नियन्त्रणमा रहेको छ ।