Close This

फिक्कलका १५ विद्यालयलाई इन्टरनेट सहित कम्प्युटर प्रदान गरिने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-२३ गते   ३८७ पटक हेरिएको

फिक्कल गाउँपालिकाले गाउँपालिका भित्रका १५ वटा विद्यालयलाई इन्टरनेट सहितको कम्प्युटर वितरण गर्ने भएको छ । प्राविधिक शिक्षामा जोड दिन र प्रविधिको माध्यमबाट शिक्षण सिकाई गर्ने उद्धेश्य अनुरुप गाउँपालिका भित्रका १५ वटा विद्यालयहरुलाई कम्प्युटर दिने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्न विद्यालयलाई कम्प्युटर वितरण गर्ने तयारी भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष राजु बरालले जानकारी दिनुभयो । कम्युटर शिक्षा आज अनिवार्य शिक्षाको रुपमा विकास भएको भएपनि गाउँपालिका भित्रका विद्यालयहरुमा यसको प्रयोग हुन नसकेको अवस्थामा इन्टरनेट, विद्युत सहितको कम्प्युटर कक्षा र कम्प्युटरको सैदान्तिक ज्ञान मात्र नभएर बालबालिकाले आफैले कम्प्युटर चलाएर शिक्षा प्राप्त गरुन भनेर कम्प्युटर वितरणको योजना ल्याएको उहाँले बताउनुभयो ।
ग्रामिण क्षेत्रमा विद्युतिकरण नुहँदा कम्प्युटर शिक्षा हासिल गर्न नसकेका विद्यार्र्थीहरुलाई अव विद्यालय स्तरबाटै कम्प्युटर ज्ञान सिकाइने उहाँको भनाई छ । गाउँपालिकाको समन्वयमा सोलर गिप पावरले फिक्कलका १२ वटा माध्यमिक विद्यालय र ३ वटा निम्न माध्यमिक विद्यालयलाई कम्युटर वितरण गरिने भएको हो । सोलार गिप पावरले गाउँपालिकालाई १५ विद्यालयमा हस्तान्तरण गरिने सवै विद्युतीय सामग्रीहरु उपलब्ध गराई सकेको तर कोरोनाको महामारिका कारण उक्त सामाग्री विद्यालयलाई हस्तान्तरण गर्न नसकिएको  गाउँपालिकाका उपाअध्यक्ष पार्वती सुनुवारले बताउनु भयो ।
विद्यालयलाई १० थान ल्याप्टप, १ थान प्रिन्टर, १ थान प्रोजेक्टर, इन्टरनेट, १ थान इन्भटर र विद्युतका लागि सोलारको समेत व्यवस्थापन हुने गाउँपालिकाका उपाअध्यक्ष सुनुवारले बताउनु भयो ।टेक प्रसाद पहाडी(कुशल)

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech