सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यावस्थापन समितिले आर्थिक वर्ष २०८०/०८१ को असार महिनामा मात्रै साँढे ११ करोड भन्दा बढीको तरकारी निकासी गरेको छ ।किसानले तरकारी बिक्री गरेर मनग्य आर्जन गर्ने मुख्य थलो बनेको लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यावस्थापना समितिले सञ्चालन गरेको तरकारी बजारबाट आर्थिक वर्ष २०८०/०८१ को असार महिनामा मात्रै रु ११ करोड ५८ लाख ८९ हजार एक सय ७५ बराबरको तरकारी बिक्री तथा निकासी गरेको कृषि थोक बजार व्यवस्थापना समिति लालबन्दीका अध्यक्ष तोरण बहादुर मगरलेले जानकारी दिए ।
उनका अनुसार देशका मुख्य बजारहरुका साथै स्थानीय बजारहरुमा थोक तथा खुद्रा तरकारी बिक्रि तथा निकासी गरेर समितिले वार्षिक ठूलो रकम राजश्व संकलन गर्ने गरेको छ।जिल्लाको मलंगवाका साथै रौतहटको चन्द्रनिगाहापुर,गौर,धनुषाको जनकपुर,सिन्धुली,रामेछापा,काठमाडौं,हेटौंडा, उदयपुरको कटारीसहित इटहरी र पोखरा लगायतका बजारमा कृषि थोक बजार व्यावस्थापना समितिले हरिया तथा अन्य प्रकारका तरकारी थोक बिक्रि गर्ने गरेको समितिले जनाएको छ ।
सर्लाहीका किसानहरुले अहिले उत्पादन गरेको परबल असारमा सबै भन्दा धेरै रु चार करोड १० लाख ५५ हजार र भिण्डी रु एक करोड ५१ लाख १९ हजार पाँच सयको बिक्री भएको कृषि थोक बजार व्यवस्थापना समिति लालबन्दीका व्यवस्थापक शम्भु प्रसाद घिमिरेले जानकारी दिए ।उनका अनुसार “गोलभेँडाको शहर लालबन्दी नगर”बाट एक करोड २२ लाख नौ हजार चार सयको गोलभेँडा निकासी भएको छ।असारमा लालबन्दीका किसानहरुले बेचेको रु ७६ लाख ४० हजारको बोडी र ४५ लाख ६२ हजार चार सयको लौका समेत अन्य मुख्य सहर र बजारमा निर्यात भएको समितिले जनाएको छ ।
असारमा किसानहरुले उत्पादन गरेको झिङ्नी ५१ लाख ३७ हजार र काक्रो २८ लाख ७६ हजार एक सय २५ बराबरको बिक्रि भएको समितिको तथ्यांकमा उल्लेख छ।जिल्लाको लालबन्दी,हरिवन,ईश्वरपुर,बागमती,बरहथवा र चन्द्रनगरका किसानहरुको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो ।जिल्लाका किसानहरुले उत्पादन गरेको तरकारी कृषि थोक बजार लालबन्दीमा ल्याएर बिक्री गर्ने र कृषि थोक बजार लालबन्दीले अन्यन्त्र पठाउने गरेको पाइएको छ ।
स्थानीय सरकार र केन्द्र सरकारले राजश्व संकलनको केन्द्र बनाएका देशभरका ११ वटा ठूला कृषि थोक बजारहरुमा पर्ने कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले सञ्चालन गरेको तरकारी बजार सरोकारवाला निकायले व्यवस्थापनमा ध्यान नदिँदा लथालिङ्ग अवस्थामा सञ्चालन भई रहेको स्थानीय जानकारहरु बताउँछन् ।उचित पार्किङ समेत नरेहको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले सञ्चालन गरेको तरकारी बजार व्यवस्थापन गर्नुको सट्टा लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जमा समेत कृषि बजारको व्यवस्थापनको काम सुरु भएको उनीहरुको भनाई छ ।
बजार बढ्नु नराम्रो नभएपनि एउटा भएको बजारलाई व्यवस्थापन गर्न नसकि रहेको अवस्थामा अर्काै बजार व्यवस्थापनको काम सुरु गर्नु,किसानहरुले आफ्नो खेतबारीमा उत्पादन गरेको कृषि उपजमा विचौलियाको हस्तक्षेप बन्द गर्नु पर्ने आवश्यकता रहेको छ । आफुहरुले खाई नखाई उत्पादन गरेको कृषि बपज बजार ल्याउँदा बाटैमा बिचौलियाहरुले मोलमोलाई गर्दा आफुहरुको मेहनतको उचित मुल्य नपाउने गरिएको किसानहरुको गुनासो छ ।