मंगलबार रातीको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अवरुद्ध भएको छ ।उक्त सडकअन्तर्गत चार वटा स्थानमा बुधबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरीका अनुसार गोलन्जोर गाउँपालिका ६ स्थित अक्करेभिर,गोलन्जोर गाउँपालिका २ स्थित कुखुरेटारमा पहिलो खसेर र फिक्कल गाउँपालिका ४ स्थित खाङसाङ खोलामा बाढी आएपछि बुधबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
अवरुद्ध भएको सडक खण्डमा स्थानीय पालिकाहरूबाट स्काभेटर मगाएर पहिरो पन्छाएर यातायात सुरु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिए ।निर्माणाधिन अवस्थामा रहेको मध्य पहाडी लोकमार्गका ती स्थानहरुमा रहेक वर्ष वर्षाको समयमा पहिरो खस्ने तथा बाढी आएर सडक अवरुद्ध हुने गरेको भएपनि सरोकारवाला निकाय बेखर जस्तै देखिएको स्थानीयको आरोप छ ।