सर्लाहीको इश्वरपुर नगरपालिका ६ स्थित रहेको इश्वरपुर नगर अस्पतालले एक वर्षको अवधिमा ११ हजार भन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ।अस्पतालले आर्थिक वर्ष २०८०/०८१ को अवधिमा ३३ हजार सात सय ५७ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको इश्वरपुर नगर अस्पतालका प्रमुख डा.दिल नारायण दासले जानकारी दिए ।
उनका अनुसार नगर अस्पतालमा प्रत्येक वर्ष बिरामीको संख्या बढ्दो अवस्थामा छ।अस्पतालमा इश्वरपुर नगरपालिकाका अतिरिक्त जिल्लाका अन्य स्थानीय तहहरुबाट समेत स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरु रहेका डा.दासले बताए ।
आर्थिक वर्ष २०८०/०८१ मा नगर अस्पतालले चार सय पाँच वटा प्रसुती सेवा प्रदान गरेको इश्वरपुर नगर अस्पतालले एक हजार ७६ हजार वटा प्रयोगशाला सेवा र ८० वटा सर्जिकल सेवा प्रदान गरेको इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले जानकारी दिए ।“बढ्दो सहरीकरणसँगै इश्वरपुर नगर अस्पतालबाट प्रदान हुने सेवामा सुधार र थप भएपछि सेवाग्राहीहरुको चाप बढेको र हाल भइरहेकै जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।”उनले बताए ।
नगर अस्पतालमा २८ जनाको दरबन्दी रहेको भएपनि हाल डाक्टर दुई जना,नर्सिङ स्टाफ सात जना,प्रयोगशालाका कर्मचारी दुई जना,पारामेडिक्स छ जना,रेडियोलोजिष्ट एक जनाका साथै कार्यालय सहयोगी लगायत गरी २२ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेका इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक महतोले जानकारी दिए ।उनका अनुसार १४ जना स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाबाट तलब सेवा सुविधा दिएर स्वास्थ्यकर्मीहरुको व्यावस्थापन गर्नु पर्दा सेवा प्रवाहमा केही समस्या भएको छ ।
१५ शैयाको इश्वरपुर नगर अस्पतालले आफ्ना सेवाहरुलाई क्रमैसंग विस्तार गर्दै निकट भविष्य मै आँखा विशेषज्ञ सहितको सेवा समेत सञ्चालनको प्रयास गरि रहेको इश्वरपुर नगर अस्पताल व्यावस्थापन समितिका अध्यक्ष एवम इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताए ।
उनका अनुसार नगर अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना,फोहरमैला व्यवस्थापन,डायलाईसिस सेवाका साथै इश्वरपुर नगर अस्पतालको प्रयोगशालालाई पुर्णरुपमा व्यवस्थापन गर्नु पर्ने आवश्यकता रहेको छ।इश्वरपुर नगर अस्पतालबाट निस्कने फोहोर र पानीको व्यवस्थापन,आँखा विशेषज्ञ सहितको सेवा,अत्याधुनिक दाँत सेवा,एनेथेसिया सेवा र भेन्टिलेटर सहित आइसियु कक्ष,अत्याधुनिक ल्याब सेवा,डिजिटल एक्स–रे र निःशुल्क औषधि कक्ष लगायतका सेवालाई थप विस्तार गर्दै लैजान पहल भई रहेको इश्वरपुर नगर अस्पताल व्यावस्थापन समितिका अध्यक्ष एवम इश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्यले बताए ।