सर्लाहीको बागमती नगरपालिका ४ का वडाध्यक्ष कृष्णकुमार लामाले बागमती नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएका छन्।बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापा,उपप्रमुख लीलाकुमार मुक्तानसहित भ्रष्टाचार सम्बन्धी मुद्धामा छानविनका लागि निलम्बनमा परेपछि नगरसभाको बैठकले बागमती नगरपालिकाका १२ वटा वडाहरुमध्ये ज्येष्ठताको आधारमा बागमती नगरपालिका ४ का वडाध्यक्ष लामालाई कार्यवाहक नगरप्रमुख बनाउने निर्णय गरेको हो ।
नगरप्रमुख थापा निलम्बनमा परेपछि नागरिकको कामकाज नै ठप्प भएको र नगरपालिका समेत सञ्चालन नहुने अवस्था आएपछि प्रदेश ऐनलाई टेकेर नगरसभाबाट सबैको सहमतीमा ज्येष्ठ वडाध्यक्ष लामालाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिने निर्णय गरिएको बागमती नगरपालिका ११ का वडाध्यक्ष प्रदिप कुमार आचार्यले जानकारी दिए ।“नगर प्रमुख थपा र उपप्रमुख मोक्तान निलम्बनमा परेपछि नेपाल सरकार मन्त्रिपरिषद्बाट केही निर्णय आउने भनी लामो समयसम्म कुरेर बसेपनि कुनै निर्णय नआएपछि नगर प्रमुख निलम्बनमा परेका अन्य पालिका जस्तै आफूहरुले पनि ज्येष्ठ वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेर रोकिएका काम अघि बढाएको”वडा अध्यक्ष आचार्यले बताए ।बागमती नगरपालिका ४ का वडाध्यक्ष लामाले आफ्नो वडासहित कार्यवाहक नगरप्रमुखको समेत कार्यभार सम्हाल्ने उल्लेख गरिएको छ ।नेकपा(माओवादी केन्द्र)को एकल बहुमत रहेको बागमती नगरपालिकामा वडा अध्यक्ष लामा बागमती नगरपालिका ४ का लागि दोस्रो पटक निर्वाचित भएका हुन।
बागमती नगरपालिकाकी उपप्रमुख मोक्तान पनि निलम्बनमा परेकी भएपनि कार्यवाहक उपप्रमुख कसैलाई पनि नतोकिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए।उनका अनुसार नगरसभाबाट तत्कालका लागि काम चलाउका रुपमा नगर प्रमुख तोकिएको र काम चलाउ नगरप्रमुख लामाबाट सामान्य सिफारिसका काम हुने तर आर्थिक गतिविधि गर्न नमिल्ने भएकाले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको थप निर्णय पर्खेर बसिरहेको बताए ।बागमती नगरपालिकाका नगर प्रमुख थापा र उपप्रमुख मोक्तान सहित निलम्वनमा परेपछि चालू आर्थिक वर्ष २०८१÷०८२ को बजेट समेत बागमती नगरपालिकाले ल्याउन सकेको छैन् ।