देशभरमै सबैभन्दा धैरै ११ नगरपालिका र नौ गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीमा १६ वटा पालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट पारित गरिसकेका छन्।कतिपय स्थानीय तहहरुमा आन्तरिक विवादका कारण वर्ष बजेट पारित हुन सकेको छैन् ।
सर्लाहीमा स्थानीय तहहरुका कार्यालयहरु यतिवेला सुनसान देखिएका छन्।नयाँ आर्थिक वर्षको सुरुवातसँगै प्रत्येक नगरपालिका तथा गाउँपालिकाको कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून देखिएपछि कार्यालयहरु सुनसान देखिएका हुन ।असारमा योजना सम्झौतादेखि भुक्तानीसम्मको चटारोले उपभोक्ता समितिका पदाधिकारीहरु,अरु सेवाग्राहीहरु र ठेकेदारहरुको आउजाउ बाक्लिने गरेको भएपनि साउन लागेदेखि पालिकाहरुमा सेवाग्राहीको उपस्थिति न्यून देखिएपछि कर्माचारीहरु मात्रै कार्यालयहरुमा देखिन्छन् ।
साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०८१/०८२ सुरु भएदेखि पहिलो महिना काम नहुने भन्दै धेरै पालिकाहरुका कर्माचारीहरु बिदामा बसेका छन् भने केही कर्माचारीहरुको भरमा कार्यालयहरु सञ्चालन भई रहेका पाइएको छ ।“पालिकाहरुलाई हिसाब मिलान गरेर चाँडो कार्यालयमा बुझाउन ताकेता गरेपनि धेरैले बेवास्ता गरेका”कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख पुष्पप्रसाद गुरागाईले बताए।उनका अनुसार हिसाब मिलान गर्न बाँकी रहेका पालिकाहरुका कर्मचारीहरुलाई भने आन्तरिक लेखापरीक्षण (आलेप) को चटारो छ ।
पालिकाहरुले कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)बाट निकासा भएको बजेट र पालिकाहरुले गरेको खर्च मिलान गरेर कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)लाई हिसाब बुझाउनु पर्ने र त्यसपछि मात्रै पालिकाहरुको नयाँ खाता खुलेर नयाँ आर्थिक वर्षको बजेट सञ्चालनमा आउँने प्रावधान रहेको छ ।