दलीय समझदारीका आधारमा अघि बढ्ने गठबन्धन सरकारको मान्यता,व्यवहार र अभ्यास विपरीत प्रदेश सरकारले मनोमानी ढंगले कुनै पनि राजनीतिक नियुक्ति गरे नेपाली कांग्रेसलाई स्वीकार्य नहुने नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवम् निवर्तमान मन्त्री वीरेन्द्र प्रसाद सिँहले बताए ।उनले सरकारमा सहभागी दलहरूबीच सहमति नगरी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र नीति तथा योजना आयोगका दुई सदस्य नेकपा(एमाले)ले नियुक्ति गराएको प्रति आपत्ति जनाउँदै यस्तो टिप्पणी गरेका हुन ।
“प्रदेशमा १७ वटा जिम्मेवारीका लागि राजनीतिक नियुक्ति हुन्छ।त्यसमा नियुक्ति गर्नुपूर्व सक्ता साझेदार दलहरूबीच सहमति गरेर मात्र अघि बढ्नुपर्छ,अन्याथा नेपाली कांग्रेसलाई स्वीकार्य हुन्न”उनले भने।उनले मधेश प्रदेशको मिडिया काउन्सिल अध्यक्ष नियुक्तिमा नेकपा(एमाले)ले कुनै पनि किसिमको सहमति नगरीकन सीधै सिफारिस गर्न लागेको जानकारी आफूले प्राप्त गरेको र गठबन्धनमा सहभागी कुनै पनि दल त्यस अनुसार अघि बढ्नु दुर्भाग्यपूर्ण हुने पनि उप सभापति सिंहले बताए ।
उप सभापति सिँहले दलीय सहमति भनेको अमुक दलका व्यक्ति नभएर निश्चित दलका संस्थागत निर्णयलाई मान्नुपर्ने साथै बिचौलियाबाट प्रविष्ट गराइएको बजेट संशोधन गर्ने विषयमा समेत दलीय सहमति हुनुपर्ने समेत बताए।उनले त्रुटिपूर्ण बजेट परिमार्जन गरिँदा आवश्यक्ता र औचित्यका आधारमा संशोधित बजेट विनियोजन हुनुपर्ने समेत उल्लेख गरे ।अघिल्लो सरकारले बजेट ल्याउँदा नेपाली कांग्रेस सक्ता बाहिर रहेको थियो ।