नेकपा(माओवादी केन्द्र)सिन्धुलीका तत्कालीन जिल्ला इन्चार्ज लेखनाथ दाहाल(राजन)ले आर्थिक अनियमितता र सदस्यहरुको लेबीमा भ्रष्टाचार गरेका आरोप लागेको छ।नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सिन्धुलीको साउन २७ गते बसेको विस्तारित बैठकपछिको माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज बुद्धिमान माझी(वसन्त)ले जारी गरिएको सर्कुलरमा“जिल्ला पार्टी कार्यालयको भवन निर्माणको आय÷व्यय प्रस्तुत गर्न यस अघिको जिल्ला समन्वयको निर्णय अनुसार तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य लेखनाथ दाहाल(राजन)लाई बारम्बार अनुरोध र ताकेता गरियो।भवन निर्माण कार्यको क्रममा पनि खाता सञ्चालक गणेश रत्नलाई कार्यालयमा बोलाएर आय÷व्यय प्रस्तुत गर्न आग्रह गरियो,सुनुवाइ भएन।रत्नको भनाइको आधारमा भवन निर्माणबाट बाँकी रकम करिब रु ४०–४५ लाख तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य राजनकी श्रीमती दीपा बोहरा(दाहाल) अध्यक्ष रहेको जनसेवा फाउन्डेसनको नाममा जम्मा गरेको बुझिएको छ।हालसम्म भवन निर्माणको आय÷व्यय पार्टी कमिटीलाई प्राप्त भएको छैन ।”
कमलामाई नगरपालिका–६ स्थित २ नम्बर बजारमा करिब रु ७० लाखमा १२ धुर जग्गा किनेर पार्टीको भवन बनाइएको छ।स्थानीय व्यापारी÷व्यावसायीहरु र सहयोगी दाताहरुबाट रड,सिमेन्ट,गिट्टी र बालुवा सहयोग मागेर तथा ज्यामीको ज्यालाका लागि संकलित रकम र भवन निर्माण गर्दा भए÷गरेको खर्चको हिसाब सार्वजनिक गर्न गत वर्ष पनि आवाज उठेको थियो ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले उद्घाटन गरेको उक्त भवन निर्माणमा रु दुई करोड भन्दा बढी खर्च लागेको अनुमान गरिएको छ।चार तले उक्त भवनमा १४ वटा कोठा,एउटा हल र एउटा किचेन निर्माण गरिएको छ । भवन बनाइसकेको दुई वर्ष बित्न लाग्दा सम्म आम्दानी खर्च विवरण सार्वजनिक गर्न आलटाल गरेपछि नेता कार्यकर्ताले तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य राजनको आलोचना सुरु गरेपछि उनलाई जिल्ला इन्चार्जबाट हटाईएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
पार्टी कार्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गरेका माओवादी केन्द्रका केही नेता तथा कार्यकर्ताहरुले हिसाब किताब सार्वजनिक गर्न माग गरेपछि तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य राजन निकटका केही मानिसहरुले कार्यालयको शिलालेखमा लेखिएकाले त्यँही गएर हेर्न भन्दै जवाफ दिएका थिए,भने सो विषयमा आवाज उठाउँदा तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य राजन निकटमा केही नेता तथा कार्यकर्ताहरुले तत्कालीन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य राजनको निर्देशनमा विभिन्न किसिमका धम्कीहरु देखाएका आरोपहरु आएका थिए ।