सर्लाहीको इश्वरपुर र हरिपुरमा बाल बिबाह तथा सानै उमेरमा जबर्जस्ती रुपमा हुने विवाह अन्त्यका लागि सन्देश मुलक सडक नाटक प्रदर्शनी गरिएको छ।२० वर्ष भन्दा कम उमेरमा हुने बिवाह तथा जबर्जस्ती रुपमा हुने विवाह अन्त्यका लागि इश्वरपुर रहरिपुर नगरपालिकाका विभिन्न स्थानमा सन्देश मूलक सडक नाटक प्रदर्शनी गरिएको हो।बाल तथा जवरजस्ती बिबाह रोकथाम,न्यूनीकरण र अन्त्यका लागि भन्दै विभिन्न गतिविधि सन्चालन गर्दै आएका विभिन्न गैर सरकारी संस्थाहरुले सन्देश मूलक सडक नाटक प्रदर्शनी गरेका सिईएफएमका परियोजना संयोजक सृजना बस्नेतले जानकारी दिईन् ।
सन्देश मूलक सडक नाटकको माध्यमबाट कम उमेरमा बिवाह गर्दा भोग्नु परेको शारीरिक समस्या,पारिवारिक तनाव र कलह,पढाइबाट बञ्चित हुँदा भोग्नु परेको कठिनाई एवम मानसिक रोग आदिको विषयलाइ संवेदनशिल ढंगले स्थानीय बजिका भाषामा सडक नाटक तयार गरि प्रस्तुत गरिएको आयोजकले बताएको छ ।उनका अनुसार सडक नाटक सुचना तथा सन्देस प्रवाहको प्रभावकारी माध्यम भएकाले कलाकारहरुले कलात्मक रुपमा नाटक मार्फत सचेतना फैलाउने काम गरेका हुन ।अल्पविकसित देशहरुका प्रमुख समस्याको रुपमा रहेको बाल विबाह पछिल्लो समय सभ्य तथा सुसस्कृत समाजको चुनौति भएकाले यो कार्यक्रम अत्यन्त जरुरी रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
विश्वमा हुने बाल बिवाहको ४५ प्रतिशत दक्षिण एसियामा हुने र बंगलादेश र भारत पछि नेपाल पनि कम उमेरमा बिवाह धेरै हुने देशको रुपमा चिनिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।नेपालको मधेश प्रदेशमा अन्य प्रदेशहरुको तुलनामा धेरै बाल बिवाह हुने गरेको विभिन्न अध्यायनहरुले देखाएका जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार मधेश प्रदेशमा मात्र ४२ प्रतिशत बिवाह २० वर्ष भन्दा कम उमेरमा हुने गरेको छ।मधेश प्रदेशको विकराल समस्याको रुपमा देखा परेको बाल बिवाहको घटनाहरुलाई अन्त्य गर्नको लागि विभिन्न गैर सरकारी संस्थाहरुले विभिन्न किसिमका गतिविधिहरु सञ्चालन गरि रहेका छन् ।