सर्लाहीको हरिवन नगरपालिकाका जनप्रतिनिधिहरुले नगर प्रमुख रमेश बुढाथोकी(कमल)लाई ध्यानाकर्षण पत्र बुुझाएका छन् ।तत्काल नगर कार्यपालिकाको बैठक बोलाएर चालु आर्थिक आर्थिक वर्ष २०८१।०८२ को बजेट ल्याउन माग गर्दै नगर प्रमुख बुढाथोकीलाई दोस्रो पटक नगरका जनप्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुुझाएका हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले जानकारी दिए ।
उनका अनुसार नगरभित्रका११वटै वडाका वडाध्यक्षहरुले यसअघि गएको असार १९ गते नै समयमै बजेट ल्याउन माग गर्दै नगर प्रमुख बुुढाथोकीलाई ध्यानाकर्षण पत्र बुुझाएका थिए ।हरिवन नगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले दोस्रो पटक बुुझाएको ध्यानाकर्षण पत्रमा समयमै बजेट नआएको र हरिवनको समृद्धिसँग जोडिएका व्यवसायिक भवन,आन्तरिक राजस्व लगायतका विषय माथि व्यापक रुपमा बढ्दै गएको जनगुुनासो प्रति कार्यपालिकाका जनप्रतिनिधि संवेदनशील हुुँदा हुुँदै पनि कार्यपालिका बैठक नबोलाउने,ठोस निर्णय नदिने र दीर्घकालिन योजना बेगर नगरपालिकाको अन्य गतिविधि संचालन गर्ने लगायत नगर प्रमुख बुढाथोकीको अकर्माण्यताको कारण नगरपालिका अनिर्णयको बन्दी बन्दै गएको भन्दै दुःख व्यक्त गरिएको छ ।
समयमै बजेट ल्याउन नसक्दा नगरपालिकाको कार्य सम्पादन मूल्यांकनमा नकारात्मक असर पर्ने,विकास निर्माणमा प्रभाव पर्ने,ज्येष्ठ नागरिकसहित सामाजिक सुरक्षा भक्ता समयमै नपाउने,नगर भित्रका शिक्षक एवम कर्माचारीहरुको तलबहरु रोकिने जस्ता समस्या पर्ने भन्दै हरिवन नगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले चिन्ता व्यक्त गर्दै नगर प्रमुख बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझाएका हरिवन नगरपालिका २ का वडा अध्यक्ष अर्जुन योञ्जनले बताए ।
उनका अनुसार आफूहरु समयमा बजेट ल्याउन प्रयासरत् रहे पनि नगर प्रमुख बुढाथोकीले नगर कार्यपालिकाको बैठक बोलाउन नै आलटाल गर्ने गरेको कारण थप समस्या भएको हो ।नगर प्रमुख बुढाथोकीलाई बुुझाइएको ध्यानाकर्षण पत्रमा सात दिनभित्र समस्या समाधानका निम्ती निर्णायक भूूमिका खेल्न अनुुरोध गर्दै अन्यथा पहिलो चरणको संघर्षको कार्यक्रम अन्तर्गत नगर प्रमुख,उप प्रमुखले चढ्ने गाडी नियन्त्रणमा लिई पालिकामा बुुझाउने चेतावनी दिइएको छ।हरिवन नगरपालिका भित्रका क्रियाशील छ राजनीतिक दलहरुले शनिबार मात्रै बैठक बसेर तत्काल बजेट ल्याउन नगरपालिकासँग माग गरेका थिए।हरिवनमा गत वर्ष पनि असोजमा मात्रै बजेट पारित भएको थियो ।
हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकी र उप प्रमुख हरिमाया घलानका साथै अन्य जनप्रतिनिधिहरु विचमा भएको आपसी विवादका कारण हरिवन नगरपालिका स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को व्यवस्था विपरित सञ्चालन भएको पाइएको छ।कुनैपनि सदस्य समेत नजितेका माओवादी केन्द्रका नेता समेत रहेका नगर प्रमुख बुढाथोकी सहित हरिवन नगरपालिकाका सबै जनप्रतिनिधिहरुको लाचारी र गैर जिम्मेवारीपनका कारण हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन नसकेको स्थानीयको आरोप छ ।आफुलाई बालेन तथा हर्कको उपनाम दिने नगर प्रमुख बुढाथोकीबाट निर्वाचन ताका बोलिएका र जनतालाई देखाएका आशा अपेक्षा पुरा हुने अवस्था नरहेको समेत स्थानीयले बताएका छन् ।
कानुनी व्यावस्था के छ ?
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले साउन १ बाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन अर्थात् बजेट होलिडे हुन्छ,तर,यो कानूनी व्यवस्था विपरीत सर्लाहीको हरिवन,बागमती,मलंगवा र बलरा नगरपालिकाका साथै विष्णु र पर्सा गाउँपालिकाले बजेट नै ल्याउन सकेका छैनन् ।बजेट पारित नगरी गरेको खर्च अनियमितता गरेको ठहरिने कानुनी व्यवस्था छ ।
“कानुनी रुपमा असार मसान्तसम्म बजेट नल्याउने स्थानीय तहले साउन १ गतेबाट खाता बन्द नै गर्नुपर्ने र त्यसो नभए सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृत,आर्थिक प्रशासन विभाग प्रमुख र खाता सञ्चालन गर्न दिने कोष लेखा नियन्त्रण कार्यालयको प्रमुखलाई कारबाही हुने कानुनी व्यावस्था छ ।”
स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ६९ अनुसार “स्थानीय सञ्चित कोषबाट मात्रै रकम खर्च गर्नुपर्दछ।उक्त कोषको रकम खर्च गर्न स्थानीय तहको सभाले पास गरेको वार्षिक कार्यक्रम (बजेट) अन्तर्गत मात्रै गर्नुपर्दछ।सो दफा अनुसार स्थानीय तहको सभाले बजेट पास नगरी आर्थिक वर्षको कुनै पनि खर्च गर्न पाइँदैन।”साथै बजेट ल्याएका स्थानीय तहहरुले मन्त्रालयमा अद्यावधिक गराउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।
बजेट ल्याउन नसक्नुको कारण के ?
जनप्रतिनिधिबीच सरकारको स्रोत कसले बढी दुरुपयोग गर्ने भन्ने विषयमा कुरा नमिल्दा समयमा बजेट आउन नसकेको जानकारहरु बताउँछन्।स्थानीय तहका प्रमुख,उपप्रमुख तथा वडाअध्यक्षहरु निर्वाचित हुँदा नै करोडौं रुपैयाँ खर्च गर्ने र बजेटलाई त्यो रकम अशुल गर्ने माध्यम बनाउँदा यस्तो भएको जानकारहरुको भनाइ छ।“स्थानीय तहहरुले बजेट बनाउने क्रममा मेरै वडामा यति देऊ,अर्को वडामा यति देऊ भनेर माग्छन्,त्यही विषयमा उनीहरुबीच कुरा मिल्दैन र स्थानीय तहको सभा नै बस्न सक्दैन।सभा बस्न नसकेपछि बजेट ल्याउन सकिन्न।”उनीहरुको भनाई छ ।
“राज्यको स्रोत दुरुपयोग गर्ने विषयमा आफ्नै पार्टीका प्रतिनिधिहरुबीच पनि कुरा मल्दैन।यस्तो वित्तीय अराजकता स्थानीय तहमा छ।एउटै पार्टीको बहुमत भएका स्थानीय तहले पनि बजेट ल्याउन नसकेका पाइएको जानकारहरुको भनाई छ।कतिपय स्थानीय तहमा कर्मचारीको पनि अभााव,प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी उपसचिवको हुने भएपनि खरिदारले करोडौं रकम चलाइरहेका लगायतका कारण पनि निर्धारित समयमा बजेट आउन नसकेको जानकारहरुको आंकलन छ।कर्मचारीहरुमा पनि काम गर्ने भन्दा पनि केही वर्षमै करोडपति भइहाल्ने मानसिकता रहने गरेका कारणपनि समस्या भएको केही जनप्रतिनिधिहरु नै बताउँछन् ।
“राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय अनुशासन कायम नगर्ने स्थानीय तहको बजेट कटौती गर्न सक्छ,त्यसमार्फत दण्डित नगर्ने हो भने यो प्रवृत्तिमा सुधार नहुने”राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।भने कतिपय पालिकाहरुले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याएका भएपनि मन्त्रालयलाई जानकारी नगराएका र हरिवन तथा मलंगवा नगरपालिकाले वार्षिक बजेट,नीति तथा कार्यक्रम नल्याएपनि आफ्नो स्थानीय तहको वेभसाईट मन्त्रालयको वेभ साईटमा हालेका मन्त्रालय स्रोतले जनाएको छ ।