Close This

सर्लाहीमा मालपोत नापी र प्रशासन कार्यालय नखुल्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१ गते   ९३३ पटक हेरिएको

नेपाल सरकारले सोमबारबाट देशभरका सबै सरकारी कार्यालय दुई ‘शिफ्ट’मा संचालन गर्ने निर्णय गरेपनि सर्लाहीमा महत्वपूर्ण कार्यालयहरु नखुल्ने भएका छन । जिल्ला प्रशासन कार्यालय सर्लाही सोमबार एक सूचना प्रकाशित गरी सेवा प्रवाह नहुने सरकारी कार्यालयबारे जानकारी गराएको हो । 
जिल्ला प्रशासन कार्यालयद्धारा जारी गरिएको सूचनामा जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवा, भूमिसुधार एवं मालपोत कार्यालय मलंगवा, मालपोत कार्यालय हरिवन र बरहथवा, नापी कार्यालय मलंगवा, हरिवन र बरहथवा अर्को निर्णय नभएसम्म बन्द रहने उल्लेख गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनु भयो ।
‘विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस जिल्लामा पनि दिन प्रतिदिन बढ्दै गईरहेको र सो को कारण संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिमलाई मध्य नजर गर्दै धेरै भिडभाड हुने सरकारी कार्यालयहरुबाट सेवा प्रवाह गर्दा त्यस्तो जोखिम झनै बढ्ने सम्भावनालाई दृष्टिगत गरी समुदायलाई कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगाउन’ प्रजिअ जिसीद्वारा जारी सूचनामा उल्लेख गरिएकोे छ, ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन, २०२० को दफा २ अनुसार मिति २०७७ असार १ देखि २ शिफ्टमा प्रवाह गर्ने भनिएका सेवाहरु अर्को निर्णय नभएसम्मको लागि यी सरकारी कार्यालयहरुबाट सेवा प्रवाह नगरिने जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
प्रशासन, मालपोत र नापी कार्यालयमा अत्यन्त भिडभाड हुने भएकाले ती कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको प्रजिअ जिसीले बताउनु भयो । अन्य सरकारी कार्यालयबाट भने बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरी २ शिफ्टमा सेवाग्राहीहरुलाई सेवा प्रवाह हुनेछ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech