सर्लाहीको बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले इलाका प्रशासन कार्यालय बलरामै स्थापना हुने दाबी गरेका छन्। मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले देशभरका २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने नयाँ इलाका प्रशासन कार्यालय मध्य इलाका प्रशासन कार्यालय बलरामा राख्ने नामावली सार्वजनिक गरेपछि जिल्लाको गोडैतामा इलाका प्रशासन कार्यालय राख्नु पर्ने माग गर्दै आपत्ति जनाएपछि नगर प्रमुख कुशवाहाले बलरा नगरपालिका भित्रै स्थापना हुने दाबी गरे ।

तर जिल्ला प्रशासन कार्यालय र गृहमन्त्री समक्ष बलराको सट्टा गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना हुनुपर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाइएपछि बलरामा असन्तोष बढेको छ। नगर प्रमुख कुशवाहाले यस विषयमा छलफल नै नगरी केही नेतृत्व वर्गले स्थानान्तरणको प्रस्ताव अघि बढाउनु दुःखद् भएको समेत बताए ।
११ वटा वडा रहेको बलरा नगरपालिका क्षेत्रमा सीमा प्रहरी चौकी,विद्यालय,बैंक,अस्पताल सहित प्राविधिक क्याम्पस लगायतका संस्था स्थापना भएका कारण सुरक्षाको बहानामा बलरालाई अस्वीकार गर्नु गलत रहेको नगर प्रमुख कुशवाहाले बताए ।उनले जिल्ला सदरमुकाम मलंगवाबाट करिब ३० किलोमिटरको दुरीमा रहेको बलरा सहित रामनगर, धनकौल र विष्णु गाउँपालिका तथा गोडैता नगरपालिका सेवा क्षेत्रमा पर्ने सबै स्थानीय तहका जनतालाई पायक हुने गरी बलरामै उपयुक्त स्थानमा कार्यालय स्थापना गर्न सबै सरोकारवालालाई एउटै टेबुलमा बस्न आग्रह गरे ।

यता,गोडैता नगरपालिका,विष्णु र धनकौल गाउँपालिका सहित सर्लाही क्षेत्र नम्बर ४ को प्रदेश सभा क र ख का जनप्रतिनिधिहरुले इलाका प्रशासन कार्यालय गोडैतामा स्थापना गर्न माग गरेका छन्।जिल्लाका पाँच वटा पालिकाहरु बलरा र गोडैता नगरपालिका सहित विष्णु,रामनगर र धनकौल गाउँपालिकाको लागि बलरा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएकोले सो निर्णय पाँचवटै पालिकाको जनताहरुको सेवा,सुविधा र सुरक्षा हिसाबले अनुपयुक्त रहेको र भारतको सिमाना छेउमै समेत रहेकोले सुरक्षाको हिसाबले पनि संवेदनशील रहेको कारण देखाउँदै गोडैता नगरपालिका,विष्णु र धनकौल गाउँपालिका सहित सर्लाही क्षेत्र नम्बर ४ को प्रदेश सभा क र ख का जनप्रतिनिधिहरुले आपत्ती जनाएका छन् ।
उनीहरुले एक विज्ञप्ती जारी गर्दै गोडैता नगरपालिका ७ सबै जनताको लागि सहज,उपयुक्त र सुरक्षित सेवा प्रवाह हुने स्थान भएकोले गोडैता नगरपालिका ७ मा इलाका प्रशासन कार्यालय गोडैतामा स्थापना गर्न माग गर्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
सर्लाही क्षेत्र न ४ का प्रदेशसभा क का प्रदेश सभा सदस्य विरेन्द्र प्रसाद सिंह र सर्लाही क्षेत्र न ४ का प्रदेशसभा ख का प्रदेश सभा सदस्य फकीरा महतो,गोडैता नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अन्जना कुशवाहा,विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर राय यादव तथा धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्रय साह लगायतले हस्ताक्षर गरी ध्यानाकर्षण पत्र बुझाएका छन् ।