सपना देखे तर आज सम्झनामा पनि ओझेल परे सहिद श्रेष्ठ

107 Shares

सिन्धुलीको माटोमा जन्मिएका महेन्द्र श्रेष्ठले व्यक्तिगत भविष्य नभई समाज परिवर्तनको सपना रोजे।तर आज उनकै बलिदानबाट बनेको राजनीतिक यात्रामा उनको नाम र योगदान क्रमशः ओझेलमा पर्दै गएको स्व.श्रेष्ठ परिवारको गुनासो छ ।राजनीतिक परिवर्तनका लागि आफ्नो जीवनको सबैभन्दा सुन्दर समय समर्पण गर्ने हजारौँ युवामध्ये श्रेष्ठ पनि हुन ।
नेपालको राजनीतिक परिवर्तनका लागि आफ्नो जीवनको उर्वर समय समर्पण गरेका स्व.श्रेष्ठलाई हरेक वर्ष असोज ४ गते सम्झिने दिन हो।तर विडम्बना,जुन आन्दोलनका लागि उनले आफ्नो जीवन समर्पण गरे त्यही आन्दोलनको मूलधारबाट आज उनी क्रमशःओझेलमा पर्दै गएको अनुभूति उनका सहयोद्धा र शुभेच्छुकहरूले गर्न थालेका छन् ।
सहिद श्रेष्ठ २०२६ असार ६ गते सिन्धुलीको साविक भद्रकाली गाविस–१,अमलेमा जन्मिएका थिए।सामान्य परिवारबाट आएका श्रेष्ठ युवा अवस्थामै समाज परिवर्तन,समानता र न्यायको पक्षमा सक्रिय राजनीतिमा होमिएका थिए।तत्कालीन राज्य व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा उनी भूमिगत राजनीतिमा सक्रिय भए र तत्कालीन नेकपा (माओवादी) को सिन्धुली जिल्ला सेक्रेटरीको जिम्मेवारी समेत सम्हालेका थिए।
२०५५ सालमा आन्दोलनकै क्रममा उनलाई तत्कालीन शाही नेपाली सेनाले ओखलढुंगाबाट गिरफ्तार गरेको थियो।गिरफ्तारीपछि उदयपुरको खोक्सामा २०५५ असोज ४ गते उनको राज्यपक्षबाट हत्या गरिएको थियो।उनको जीवन केवल एउटा राजनीतिक कार्यकर्ताको जीवन मात्रै थिएन।बरु तत्कालीन विद्रोेही आन्दोलनका लागि समर्पित एक युवा नेतृत्वको कथा थियो ।
माओवादी कालमा पार्टीले सैन्य तालिमका लागि सहिद श्रेष्ठ र निर्वतमान उपराष्ट्रपति नन्दबहादुर पुन(पासाङ)लाई भारत पठाइएको उल्लेख छ।यसले पनि तत्कालीन आन्दोलनभित्र श्रेष्ठको भूमिका र विश्वासलाई देखाउँछ।तर आज प्रश्न उठेको छ,जसको योगदान र बलिदानलाई आधार बनाएर एउटा ठूलो राजनीतिक शक्ति निर्माण भयो।त्यही शक्तिले उनलाई कति सम्झिरहेको छ ?
सहिद श्रेष्ठको स्मृति दिवसमा विगतका वर्षहरूमा जस्तो उत्साहपूर्ण कार्यक्रम,औपचारिक सम्झना र पार्टीस्तरीय सम्मान देखिन छाडेको भन्दै उनका सहकर्मी तथा शुभेच्छुकहरूले असन्तुष्टि देखिन थालेको छ।तत्कालीन माओवादी अहिले विभिन्न धार हुँदै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को रूपमा अघि बढिरहेको अवस्थामा पनि सहिद श्रेष्ठजस्ता आधार निर्माण गर्ने सहिदहरूको योगदान सार्वजनिक स्मृतिमा कमजोर हुँदै गएको आलोचना हुने गरेको छ ।
सहिद श्रेष्ठजस्ता युवाले आफ्नो जीवन व्यक्तिगत सुविधा,पद र प्रतिष्ठाका लागि नभई एउटा फरक समाज निर्माण गर्ने सपना बोकेर समर्पण गरेका थिए।उनीहरूको बलिदान केवल इतिहासको एउटा अध्याय होइन,आजको राजनीतिक नेतृत्वका लागि आत्ममूल्यांकन गर्ने आधार पनि हो ।
आज कम्युनिस्ट आन्दोलनले विभिन्न चुनौतीको सामना गरिरहेको छ।जनतासँगको सम्बन्ध, संगठनात्मक संस्कार र विचार तथा व्यवहार बीचको दूरीबारे बहस भइरहेका बेला सहिद श्रेष्ठको सम्झना अझ अर्थपूर्ण बन्न सक्छ।सहिदको सम्मान केवल सालिकमा माला चढाउनु वा स्मृति दिवस मनाउनु मात्र होइन।उनीहरूले देखेको सपना,उनीहरूको त्याग र संघर्षको उद्देश्यलाई व्यवहारमा कति उतारियो भन्ने प्रश्नको जवाफ खोज्नु जरुरी छ ।
परिवर्तनका लागि आफ्नो जवानी र जीवन अर्पण गर्ने ती युवाहरूको सपना आजको राजनीतिमा कहाँ छ ?सहिद श्रेष्ठको जीवनले एउटा गम्भीर प्रश्न छोडेर गएको छ।सहिद श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली।उनको बलिदान र योगदानलाई इतिहासको पानामा मात्र होइन,जनताको चेतनामा जीवित राख्ने जिम्मेवारी आजको पुस्ताको हो।तसर्थ सहिद श्रेष्ठ लगायत व्यवस्था परिवर्तनका लागि भएको करिब एक दशक लामो शसस्त्र युद्धका हरेक सहिदको सम्मान भावपूर्ण श्रद्धाञ्जलीले मात्र पुर्ण हुन्न ।

सम्बन्धित समाचार