संविधान दिवसका अवसरमा बिहीबार सर्लाही सदरमुकाम मलंगवा सहित इश्वरपुर,लालबन्दी,हरिवन लगायतका ठाउँमा विभिन्न किसिमका कार्यक्रमहरु गरिएको छ । संविधान दिवस आयोजक मूल समारोह समिति सर्लाहीको आयोजनामा सर्लाही सदरमुकाम मलंगवामा प्रभातफेरी निकालिएको हो।जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,उपप्रमुख जितेन्द्र कुशवाहा,प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी,जिल्लाका सुरक्षा निकायका प्रमुखहरु,कार्यालय प्रमुखहरु,जनप्रतिनिधिहरु,नागरिक समाज,कर्माचारीहरु र स्थानीयको उपस्थितिमा प्रभातफेरी निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार प्रभातफेरी पश्चात प्रादेशिक अस्पताल मलंगवामा उपचाररत् अवस्थामा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ।दिवसकै अवसरमा जिल्लाका २० वटै पालिकासहित सरकारी कार्यालयहरुमा झण्डोत्तोलन समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।पालिकाहरुको आयोजनामा र्याली समेत निकालिएको र संविधान दिवसको अवसरमा बिहीबार साँझ जिल्लाभर दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते आर्थत बिहीबारका दिन मनाइन्छ।नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्।त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ।पछिल्लो समय नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरिएको छ ।