१७ वर्षपछि सर्लाही संघीय मन्त्री विहिन

322 Shares

सर्लाही जिल्लाका १७ वर्षपछि मन्त्री विहिन बनेको छ।२०६५ सालदेखि प्रत्येक मन्त्रीमण्डलमा जिल्लाका सांसदहरुले मन्त्री पाउँदै आएका भएपनि पछिल्लो पटक गठन भएको सरकारमा सर्लाहीका कुनै पनि सांसद मन्त्री नबनेका हुन ।नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठन भएको सरकारमा सर्लाहीका कोही पनि सांसद मन्त्री नभएपछि १७ वर्षदेखि कुनै न कुनै मन्त्री पाइरहेको सर्लाही यो पटक “मन्त्रीविहीन”बनेको हो ।
 चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी सात जना संघीय सांसदहरु रहेका छन्।सर्लाही क्षेत्र नं. १ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी, सर्लाही क्षेत्र नं. २ बाट नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव,सर्लाही क्षेत्र नं. ३ बाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती र सर्लाही क्षेत्र क्षेत्र नं.४ बाट स्वतन्त्र तर्फबाट डा. अमरेश कुमार सिंह प्रत्यक्ष निर्वाचित सांसद छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट चन्दा चौधरी,माओवादी केन्द्रबाट मीना यादव र एमालेबाट सरस्वती सुब्बासहित तीन जना समानुपातिक सांसदहरु रहेका छन्।यो पटकको मन्त्रीमण्डलमा जिल्लाका सात जना सांसदहरुमध्ये कोही पनि मन्त्रीमा नियुक्त नभएका र जिल्ला १७ वर्षपछि “मन्त्रीविहीन”बनेको हो ।
प्रायःमन्त्री पदमा दोहोरिरहने र अहिलेसम्म आठ पटक मन्त्री भइसकेका सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव यो पटक भने मन्त्रीको “सुचि”मै परेनन् ।राजनीतिक वृत्तका चर्चित अनुहारका रुपमा रहेका राजेन्द्र महतोलाई २०७९ को निर्वाचनमा सर्लाही क्षेत्र नं.२ बाट पराजित गरेपछि यादव यसअघि नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारमा एक पटक कृषि तथा पशुपन्छी विकास मन्त्री, एक पटक महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र एक पटक खानेपानी मन्त्री गरी तीन पटक मन्त्री बनिसकेका थिए ।
सर्लाही क्षेत्र नं. ३ बाट निर्वाचित एमालेका उप्रेती पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा दुई पटक रक्षा मन्त्री बने।यसरी प्रत्येक सरकारमा मन्त्री भइरहने सर्लाहीका सांसद यो पटक मन्त्री बन्ने अवसरबाट बन्चित भएका हुन् ।संविधान सभाको निर्वाचनपछि सबैजसो सरकारमा मन्त्री पाउने सर्लाहीले विकासका काममा भने फड्को मार्न नसकेको नागरिक समाजका अगुवा रजनीकान्त झाले बताए।उनले लगातार १७ वर्षसम्म प्रत्येक सरकारमा जिल्लाका सांसद मन्त्री हुँदा पनि जिल्लाका नागरिकहरुको जीवनस्तर उकास्ने किसिमले कसैले देखिने काम नै गरेका छैनन् ।
२०७० सालमा सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शम्भुलाल श्रेष्ठ उर्जा राज्यमन्त्री हुँदा नवलपुरमा ठूलो आयोजनाका रुपमा विद्युत् सवस्टेशन निर्माण गर्न सफल भएपनि त्यसबाहेक जिल्लाका जति सांसद मन्त्री भएपनि देखिने गरी कुनै काम नै नभएको नागरिक समाजका अगुवा झाको भनाई छ ।
सर्लाहीबाट महतो र यादव धेरै पटक मन्त्री बनेका छन्।१७ वर्षमा जिल्लाबाट १७ जना भन्दा बढी संघीय मन्त्री बनिसक्दा पनि जिल्लाका लागि उल्लेख्य काम गर्न नसकेको स्थानीय जानकारहको भनाई छ।जनजीविका सहज बनाउने काममा निर्वाचित सांसद गम्भीर नबन्दा नागरिकमा निराशा बढेको स्थानीयल बताउँछन् ।संघ तथा प्रदेश सरकारमा सर्लाहीको भागमा लगातार जसो मन्त्री पद परिरहने तर ती मन्त्रीले नागरिकलाई लाभ हुने गरी काम नगर्ने परिपाटी दुःखद् रहेको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार