सागरनाथ वन विकास परियोजना सर्लाहीका एक सय ३२ जना कर्माचारीहरुले विगत करिब नौ महिनादेखि तलब खान पाएका छैनन्।नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगतेको वन पैदावार विकास समिति मातहत रहेको सागरनाथ वन विकास परियोजना सर्लाहीकास्थायी २९ जना,करार १० र दैनिक ज्यालादारीका ९३ जना गरी एक सय ३२ जनाले विगत करिब नौ महिनादेखि तलब खान नपाएका सागरनाथ वन विकास परियोजना सर्लाहीका प्रमुख खेमलाल वि.क.ले जानकारी दिए ।उनका अनुसार वन पैदावर विकास समिति अध्यक्ष विहिन हुनुका साथै परियोजना क्षेत्रमा उत्पादन भएको वन पैदावार विक्रि नहुँदा परियोजनामा कार्यरत एक सय ३२ जना कर्माचारीहरुले विगत करिब नौ महिनादेखि तलब खान नपाएका हुन ।
वन तथा वातावरण मन्त्रालयले काठ मापनको क्वाटरगर्थ शुत्र परिवर्तन गरी हुवर सुत्र लागु गरेपछि परियोजना क्षेत्रमा उत्पादन भएको काठ थन्किएको थियो।परियोजनाको याडमा लामो समयदेखि थन्कीएको काठ कुहीन थालेको र क्वाटरगर्थ शुत्र परिवर्तन गरी हुवर सुत्र लागु भएपछि काठको परिमाण बढी आउने र शुल्क पनि बृद्धि हुने भएकाले कुनै पनि काठ व्यावसायीले परियोजनाको काठ उठाउन नचाहेका कारण परियोजना क्षेत्रमा उत्पादन भएको काठ लामो समयदेखि थन्किँदा कुहीन थाली सकेको छ।परियोजना क्षेत्रमा उत्पादन भएको काठ लिलाम गरेर आएको रकमबाट तलब खाने परियोजनाका कर्माचारीहरु काठ लिलाम नहुँदा तलब विहिन भएका परियोजनाका सहायक वन अधिकृत शिवेन्द्र चौधरीले बताए।उनका अनुसार परियोजनाको आम्दानीको स्रोतका रूपमा रहेको काठ,दाउरा बिक्री गर्न नसकेपछि गत विगत करिब नौ महिनादेखि परियोजनाका कुनैपनि कर्मचारीहरुले तलब खान नपाएका हुन ।
परियोजना क्षेत्रबाट उत्पादन हुने टिक,सिसौँ,कर्मा,जामुन,अस्ना,टुनी,शिरिष,भुडकुल,गुटेल र बाँझी लगायतका प्रजातिका बल्लाबल्लीहरुको राजस्व दर नयाँ वन नियमावलीमा उल्लेख गर्न छुट भएकाले बिक्री वितरणमा समस्या आएको थियो ।परियोजनाबाट उत्पादन हुने करिब ६० प्रतिशत काठ बल्लाबल्ली साइजका नै हुने र यिनै काठको बिक्री वितरणबाट परियोजनाको मुख्य खर्च चल्ने गरेको वन पैदावार विकास समितिले जनाएको छ।
नयाँ वन नियमावली अनुसार उक्त प्रजातिका बल्ला बल्ली काठको राजस्व दरसमेत ठूला आकारका गोलिया काठकै रूपमा बुझाउनु परेमा परियोजनाले कुनै “ओभरहेड”खर्च नपाउने भएकाले परियोजनाको दैनिक काम चलाउन गाह्रो भएको परियोजना स्रोतले जनाएको छ ।तर अहिले फेरी वन तथा वातावरण मन्त्रालयले काठ मापन गर्ने पुरानै शुत्र क्वाटरगर्थ लागु गरि सकेकाले परियोजना पसिरमा थन्किएको करिब एक लाख क्वुविफिट काठ मध्य केही काठ भरखरै लिलाम प्रक्रियामा गएको परियोजनाका प्रमुख वि.क.ले बताए।उनका अनुसार परियोजना परिसरमा रहेको काठ पुरै लिलाम प्रक्रियामा रहेको र परियोजनाका एक सय ३२ जना कर्माचारीहरुले दशैँ अघि नै केही महिनाको तलब खान पाउने छन् ।
परियोजना क्षेत्रमा उत्पादन भएको काठका सम्बन्धमा १८ इन्चभन्दा कम गोलाइका काठलाई दाउरा,१८ देखि ३१ इन्च गोलाइसम्मका काठलाई बल्ला बल्ली,३१ देखि ४८ इञ्चसम्म गोलाइका काठलाई “बी”वर्गको गोलिया र ४८ इन्चभन्दा माथि गोलाइ भएको काठलाई “ए”वर्गको गोलिया काठमा वर्गीकरण गरिएको छ। परियोजनाका एक सय ३२ जना कर्माचारीहरुलाई तलब खुवाउन मासिक करिब रु ४५ लाख खर्च हुने परियोजनाका लेखापाल सुरेन्द्र जोशीले बताए।उनका अनुसार यस बाहेक वर्षदेखि उमेरहदका कारण विभिन्न मितिमा अनिवार्य अवकाश लिएका केही अवकाश प्राप्त कर्माचारीहरुले करिब दुई वर्षदेखि उपदान स्वरुप पाउनुपर्ने रकम समेत प्राप्त गर्न सकेका छैनन् ।
वन विकास समिति ऐन,२०१३ अन्तर्गत गठित समिति अन्तर्गत रहेको परियोजनाले आफ्नो मातहतको वन क्षेत्रमा छिटो हुर्किने प्रजातिका बोटविरुवाको वृक्षरोपण गर्ने गरेको छ।साथै हुर्किएका वयस्क रूखको कटान गरेर उत्पादित काठ दाउरा सरकारलाई प्रचलित राजस्व बुझाइ खुला प्रतिस्पर्धात्मक तरिकाबाट बिक्री गरी प्राप्त आम्दानीबाट सञ्चालन हुँदै आएको परियोजना लामो समयदेखि वन पैदावार लिलाम नहुँदा आर्थिक संकटमा परेको छ ।