बागमती नदीको बाढीले सर्लाहीको तल्लो तटिय क्षेत्रमा क्षति गर्न सुरु गरेको छ ।बागमती नदीले बाँध भत्काएर गाउँमा बाढी पसेपछि बसबरिया गाउँपालिका १ र २ का वासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय यादवले जानकारी दिए ।
त्यस्तै बसबरिया गाउँपालिका २ स्थित एकादशी खोलामा फसेका सात जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।शनिबार दिउँसो खोला नजिक रहेको एक घरमा बसिरहेका उनीहरु पानीको बहाव बढेपछि अलपत्र परेका थिए । सशस्त्र प्रहरी बल नेपाल नं.१० हे.क्वा.गण सर्लाहीका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवको नेतृत्वमा खटिएको ३० जना सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल नं.१० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक विनोद राजखनालले जानकारी दिए ।

उनका अनुसार स्थानीय अन्दाजी ४८ वर्षीय पटिया देवी,२२ वर्षीया कमरिया देवी,४५ वर्षीया अकिला देवी,चार वर्षका शिवम कुमार,५४ वर्षीया धवसी सहनी र ५० वर्षीय हरि मुखिया गरी सात जनालाई बोट (डुङ्गा) को सहायतामा उद्धार गरी सुरक्षित स्थानमा लगिएको हो ।
बलरा नगरपालिका १ छन्कीटोला र बलरा २ हथियौलमा ५० भन्दा बढी घर डुबानमा परेका बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर कुशवाहाले जानकारी दिए।बाढी पसेको स्थान तथा पस्न सक्ने स्थानमा राति पुनःसमस्या नहोस भनी स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
उनका अनुसार शनिबार दिउँसोबाट पानी पर्न रोकिएपछि जिल्लाका विभिन्न स्थानहरुमा फसेका मानिसहरुको उद्धार गर्न सहज हुँदै गएको साथै बाढीका कारण भएको क्षेतीको विवरण संकलन गर्न सहज हुन थालेको छ ।
त्यस्तै सर्लाहीको बागमती नगरपालिका ९ सक्रौल टोलका अन्दाजी १५ वर्षका मुकेश महतोलाई सोती खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अविरल वर्षाको कारण आएको सोती खोलाको भल तर्ने क्रममा महतोलाई बगाई बेपत्ता भएकका करिब दुई दर्जन प्रहरी परिचलान गरी खोज्ने काम भई रहेको छ ।अविरल वर्षा पछिको बाढीले जिल्लाका अन्य स्थानहरुमा के कहाँ र कति क्षेती गरेको छ भन्ने एकिन विवरण संकलन हुन बाँकी रहेको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जनाएको छ ।