सर्लाहीको मलंगवा नगरपालिका २ मा विगत करिब डेढ वर्ष पहिला निर्माण भई अलपत्र अवस्थामा रहेको बसपार्क सञ्चालनका लागि समिति गठन गरिएको छ।संघीय सरकारको रु आठ करोड १३ लाखमा सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधाममार्फत निर्माण भएको सुविधा सम्पन्न बस पार्क निर्माण भएको करिब डेढ वर्षपछि सञ्चालनका लागि भन्दै मलंगवा नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रमोद मण्डलको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको मलंगवा नगरपालिकाले जनाएको छ ।
बसपार्क सञ्चालन गर्न नसकेको चौतर्फी आलोचनापछि मलंगवा नगरपालिकाले सर्वपक्षिय भेला राखेर बसपार्क सञ्चालनार्थ शिक्षा अधिकृत मण्डलको नेतृत्वमा समिति गठन गरेको हो।समितिमा स्थानीय जनप्रतिनिधि,बस,टेम्पु,म्याजिक व्यवसायी,प्राविधिक कार्यालय र यातायात कार्यालयका प्रतिनिधिका साथै नागरिक समाजका प्रतिनिधिहरु समिमलित समिति गठन भएको समितिका संयोजक मण्डलले जानकारी दिए ।
यस अघि तामझामका साथ उद्धघाटन गरिएको नयाँ बस पार्क मलंगवाका यातायात व्यावसायीहरुको विवादका कारण सञ्चालनमा आउन सकेको थिएन् ।भने साविककै मलंगवा नगरपालिका ९ स्थित कृष्णामती मा.विको नजिकै कृषि विकास बैँकको जग्गाबाटै सञ्चालनमा आएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको पहलमा सञ्चालनको तयारी गरिएको नयाँ बसपार्क तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलमा उद्घाटन पछि केही दिन सञ्चालनमा आएको भएपनि यातायात व्यावसायीहरुको विवादका कारण पुन अलपत्र परेको थियो ।सरकारले ठूलो रकम खर्चेर निर्माण गरेको बसपार्क अलपत्र रहेको र बजारको बिचमा रहेको पुरानो बसपार्कमा बस पार्किङ गरिँदा बजार नै अस्तव्यस्त बनेको गुनासो चौतर्फी आइरहेको साथै बजारको विचमा साँधुरो स्थानमा रहेको बसपार्कका कारण सवारी दुर्घटनाको जोखिम समेत रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
आईतबार गठन भएको समितिले नयाँ बसपार्क सञ्चालनका लागि सुझावसहित नगरपालिका कार्यालयलाई १० दिनभित्र प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा बसपार्क सञ्चालनको प्रक्रिया अघि बढाउने सहमती भएको मलंगवा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत होमनाथ सुबेदीले जानकारी दिए ।उनका अनुसार मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे,जिल्लाका सुरक्षा निकायका प्रमुखहरु,यातायात व्यवसायीहरुका साथै सरोकारवालाको उपस्थिति रहेको थियो ।
यता,जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको प्रमुखको रुपमा प्रहरी निरिक्षक रजोस घिमिरे आएदेखि नै मलंगवा नगरपालिका २ मा निर्माण भएको नयाँ बसपार्कबाट बस सञ्चालनको पहल हुँदै आएको थियो।टर्मिनल भवनसहित निर्माण गरिएको उक्त नयाँ बसपार्क सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय,मलंगवा नगरपालिका र मलंगवा यातायात सेवा प्रा.लिसँग आवश्यक समन्वय जारी रहेको ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक घिमिरेले बताए । उनका अनुसार मलंगवा नगरपालिका ९ स्थित श्रीमती कृष्णादेवी जनता माविको छेउमा रहेको पुरानै बसपार्कमा यात्रुबाहक सवारी साधन पार्किङ गरी त्यहीँबाट सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै साँघुरो बसपार्कका कारण सवारीसाधनलाई आवतजावतमा समेत समस्या देखिएको छ ।
लामो समय सम्म पनि ठेकेदारलाई आरोप लगाउँदै पञ्छिएको मलंगवा नगरपालिकालाई समिति बनेपछि नयाँ बसपार्क सञ्चालनमा ल्याउन फलामको चिउरा भएको मलंगवा यातायात व्यावसायी संघका अध्यक्ष राजिव यादवले बताए ।उनका अनुसार मलंगवाबाट लामो तथा छोटो दूरीका गरी करिब ९० बस दैनिक अन्यत्र लागि छुट्ने गर्छन् ।यातायात व्यावसायीहरुको लगातारको दवाव पछि मलंगवा नगरपालिकाले कार्यविधि नै बनाएर नयाँ बसपार्कबाट बस सञ्चालन ल्याउन लागेको हो । करीब २५ रोपनी क्षेत्रफलमा निर्माण भएको नयाँ बसपार्कमा एकैसाथ ५२ ओटा ठूला र २० ओटा साना गरी यात्रुवाहक सवारीसाधन पार्किङ गर्न सक्ने क्षमताको छ ।