मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित सिस्नेरीमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेको युथ १४ क्याम्पका ३७ जना खेलाडीमध्ये सर्लाहीका आदित्य बलम्पाकी मगर सहित छ जना खेलाडीको मृत्युको घटनालाई लिएर पीडित परिवार र स्थानीय आक्रोसित भएका छन् ।
एन्फाको लापरबाहीका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित सिस्नेरी स्थित रहेको क्याम्पमा गत शनिबार छ जना खेलाडीको पहिरोमा परेर मृत्यु भएको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा सर्लाहीको लालबन्दी नगरपालिका १७ निवासी आदित्यका पीडित परिवार र आक्रोसित स्थानीयले पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका १७ रानीगन्जमा सोमबार करिब साँढे २ घण्टा चक्का जाम गरेका सर्लाही फुटबल संघका वरिष्ठ उपा अध्यक्ष विभु सिंह थापाले जानकारी दिए ।
उनका अनुसार शनिबार बिहान एन्फाको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित सिस्नेरी स्थित प्रशिक्षण केन्द्रमा पहिरोमा परेर लालबन्दी नगरपालिका १७ रानिगन्जका अन्दाजी १३ वर्षिय आदित्य सहित छ खेलाडीको मृत्यु भएको थियो।एन्फाको लापरवाहीको कारण आदित्यको मृत्यु भएको भन्दै पीडित परिवार र आक्रोसित स्थानीयले रानिगन्ज चोकस्थित पुर्व पश्चीम राजमार्गमा करिब साँढे २ घण्टा चक्काजाम गरेका हुन ।
“आदित्यलाई न्याय दे,एन्फा मुर्दावाद”लगायतका नारा लाउँदै पीडित परिवार र आक्रोसित स्थानीयले मंगलबार बिहान आदित्यसको शव पीडित परिवारलाई ल्याईदिने सहमतीपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।लगातारको वर्षाका कारण पानीको सतह बढेसँगै कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा छ जना खेलाडीको पहिरोमा परेर मृत्यु भएको एन्फाले जनाएको छ।तर खेलाडीहरु बस्दै आएको एन्फा एकेडेमी तथा होस्टलमा बाढी पहिरोले कुनै असर गरेको छैन। कुलेखानीको ड्याम खोलेपछि पानीले बगाउँछ भनेर हल्ला फैलाएकै कारण र एन्फाको लापरबाहीले खेलाडीहरुको मृत्यु भएको भन्दै पीडित आफन्तसहित फुटबलसँग सम्बन्धित चासो राख्ने जानकारहरुले आपत्ती जनाएका छन् ।
“जहाँ खेलाडी राख्दै,पढ्दै आएका थिए त्यहाँ बाढी पहिरोले कुनै असर गरेको छैन।कुलेखानीको ड्याम खोल्दा पनि असर नपुग्ने सुरक्षित स्थानबाट खेलाडीहरुलाई किन भीरको बाटो हुँदै माथि लैजानु भएको हो ? यस विषयमा हामी पीडित परिवारसँग समेत कुनै समन्वय गरिएको छैन”पहिरोमा ज्यान गुमाएका आदित्यका आफन्तले भने, “सबै खेलाडीहरुलाई सँगसँगै लगिएको भए छ जना मात्रै पहिरोमा कसरी परे?घटनाको यथार्थ विवरण अहिलेसम्म हामीलाई दिइएकै छैन।”पीडित परिवारको गुनासो छ ।एकेडेमीमा रहेका ४० जना खेलाडीहरुलाई नै एकै पटक सुरक्षित स्थानमा लैजाने क्रममा छ जना पहिरोमा परेर बेपत्ता भएको भन्दै एन्फाले गैर जिम्मेवारपुर्ण जवाफ दिएको पीडित परिवारले बताए ।
एन्फा एकेडेमी सिस्नेरीमा तोकिएको भन्दै धेरै खेलाडी राखिएको,प्रारम्भिक छनौटमा समेत नपरेका खेलाडीको बाहुल्यता रहेको,सामान्य प्राथमिक उपचार केन्द्र समेत नरहेको र खेलाडीहरुको बीमा समेत नभएको समेत पाइएको फुटबलको क्षेत्रमा चासो राख्ने जानकारहरुले बताएका छन् ।“एन्फा एकेडेमीको लागि स्थान छनौट नै गलत भएको हो।अनकन्टार र सामान्य पूर्वाधार समेत नभएको स्थानमा एकेडेमी सञ्चालन गर्नु नै गलत थियो।”सर्लाही फुटबल संघका वरिष्ठ उपाध्यक्ष थापाले भने, “भिजनलेस प्रोजेक्ट”र लापरबाहीका कारण छ जना खेलाडीहरुले अकालमै ज्यान गुमाउनु प¥यो।दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।”उनले थपे ।
यता “एन्फाको लापरबाही नभएको बताउँदै खेलाडीलाई सुरक्षित स्थानमा लैजाने क्रममा प्राकृतिक विपत्तिमा परेर ज्यान गयो।जे नहुनुपर्ने थियो त्यो भयो। अत्यन्तै दुखद घटना भएको छ।एकेडेमीका सहायक प्रशिक्षक र वाडेनले नेतृत्व गरेर ४० जनालाई नै सुरक्षित स्थानतर्फ लैजाने क्रममा पहिरोमा परेको भन्ने जानकारी पाएका छौँ।”एन्फाका एक पदाधिकारीले बताए ।उनले भने,“अझ घटनाको विषयमा जानकारी लिने र आवश्यक अनुसन्धान समेत भइरहेको छ।”
पहिरोमा परेर १३ वर्षीय छोरा आदित्यको मृत्यु भएपछि लालबन्दी नगरपालिका १७ रानीगन्जका बलम्पाकी मगर परिवार भाव विहल भएका छन्।आफ्नो छोरालाई फुटबल खेलाडी बनाउने उद्देश्यसहित एन्फा एकेडेमी पठाएका बलम्पाकी परिवार आफ्नो छोरो कहिल्यै नफर्किने गरी अस्ताएपछि उनीहरुको सारा संसार अध्याँरो भएको छ ।
कुलेखानी ड्यामको पानी छोड्ने विषयमा सूचना आए लगत्तै एउटा ठोस निर्णयमा पुग्न नसक्दा छोरा आदित्य सहित छ जना बालकको निधन भयो ।यसको जवाफ एन्फाले दिनु पर्ने पीडित परिवारको माग छ ।“प्रहरीले छुट्टै सुरक्षित ठाउँमा गएर बस्नु भनेर माइकिङ गरेछ।प्रहरीले आतंकित गर्ने,एन्फाको वाडेनसहित व्यवस्थापन टिमले समयमै निर्णय गर्न नसकेको कारण यो दुखद अवस्था सामना गर्नुपरेको छ।”पीडित परिवारको गुनासो छ ।
“सावधानी अपनाएर एन्फा एकेडेमीमै राखेको भए अहिले मेरो छोरासहित ४० जना नै खेलाडी सुरक्षित हुने रहेछन्।जे हुनु भइसक्यो अब एन्फाले यसलाई शिक्षाको रुपमा लियोस्,मैले जस्तो कुनै पनि अभिभावकले अकालमै आफ्नो खेलाडी छोराछोरी गुमाउन नपरोस् ।”पीडित परिवारको भनाई छ ।
सर्लाहीका आदित्य सहित मकवानपुरका अनुपम घलान र साइमन योञ्जन तथा काठमाडौंका रियान्स आचार्य र बाराका विकल रेग्मी र दिवस बानियाँको पहिरोमा परेर मृत्यु भएको हो।एन्फाले गरेको छनौटमा परेका ३० जना र स्थानीय कोटाका १० जना गरी ४० जना खेलाडीहरु मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित सिस्नेरीमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेको युथ १४ क्याम्पका स्थित एन्फा एकेडेमीमा रहँदै आएका थिए।पहिरोमा परी बेपत्ता भएका एन्फाका छ जना खेलाडीको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ५ घण्टा लगाएर खोजी गरी फेला पारेको थियो ।त्यस पश्चात शवलाई काठमाडौा लगिएको र सोमबार परिवारजनालाई जिम्मा लगाउने तयारी गरेको एन्फाले आफ्ना मृतक छोराको शव ल्याई नदिएपछि लालबन्दी नगरपालिका १७ का आदित्यका पीडित परिवार र आक्रोसित स्थानीयले पुर्व पश्चीम राजमार्गमा चक्का जाम गरी एन्फाको विरोद्ध प्रदर्शन गरेका थिए ।