मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी स्थित वत्सलादेवी माविमा अखिल नेपाल फुटबल संघ(एन्फा)ले राखेको युथ १४ क्याम्पमा आश्रीत मृत्यु भएका छ जना खेलाडीका परिवारलाई एन्फाले जनही रु आठ लाख दिने भएको छ ।इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी स्थित वत्सलादेवी माविमा अखिल नेपाल फुटबल संघ(एन्फा)ले राखेको युथ १४ क्याम्पमा आश्रीत छ जना युवा खेलाडीहरुको असोज १२ गते पहिरोमा पुरिएर ज्यान गएको थियो ।
छोराको अनुहारमा भविष्यको राष्ट्रिय खेलाडी देखेका खेलाडीका परिवारलाई एन्फाको लापरबाहीले ज्यान गएको पीडा ओइलाउन नपाउँदै एनफाले मृत्यु भएका खेलाडीका परिवारलाई प्रति खेलाडी रु आठ लाख दिने घोषणा गरेपछि थप घाउ चर्किएको छ । भविष्यको राष्ट्रिय खेलाडी बनाउने सपना देखेर एन्फाको क्याम्पमा आफ्ना सन्तान पठाएका अभिभावकलाई एन्फाले आफ्ना सन्तान रु आठ लाखमा किनबेच गरेको आभाष भएको छ ।अविरल वर्षापछि असोज १२ गते शनिबार आएको पहिरोमा पुरिएपछि छोरो गुमाउनुपरेको पीडाको घाउमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले मल्हम लगाउनु पर्नेमा रु आठ लाख दिएर झन घाउ चर्काएको खेलप्रेमीहरुको आरोप छ ।
कुलेखानी ड्याममा पानीको अवस्थाले खतराको तह पार गरेको भन्दै अघिल्लो दिनदेखि सूचना जारी गरिएको भएपनि एकेडेमी व्यवस्थापनले शनिबार बिहान“सुरक्षित स्थान”तर्फ लान खोज्दा ढिस्को खसेर सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगन्जका आदित्य बलम्पाकी मगर सहित छ जना बालकले ज्यान गुमाएका थिए।मुल बाटो नलगेर वालकहरुलाई अर्कै बाटो हुँदै लैजाने क्रममा पहिरोले पुरेको भन्दै एकेडेमी व्यवस्थापनको व्यापक आलोचना भइरहेको छ ।
एन्फा,स्कुल र एकेडेमी व्यवस्थापनको लापरवाहीका कारण आफूले छोरा गुमाउनुपरेको बलम्पाकी परिवारको गुनासो छ ।नीहरुले त्यहाँ खतरा छ भन्नेवित्तिकै गम्भीरतापूर्वक कदम चालेको भए हामीले आफ्नो प्राणभन्दा प्यारो छोरो गुमाउनु पर्दैनथ्यो ।एन्फा कार्यसमितिले असोज २० गते आइतबार बसेको भर्चुअल बैठकमार्फत घटनामा परि निधन भएका सबै बालकको परिवारलाई जनही रु आठ लाख राहत दिने निर्णय गरेको थियो । एन्फा नेतृत्व त्यही रकम दिन सोमबार कलंकी खड्का गाउँस्थित प्रियान्स आचार्यको घरमा पुग्दा प्रियान्सका परिवारले त्यो रकम अस्वीकार गरेका छन् ।
“एन्फाका अध्यक्ष,उपाध्यक्ष,महासचिव र अरु पनि धेरैजना पदाधिकारीहरु समवेदना दिन आएको भन्दै रु आठ लाखको चेक लिएर आउनु भएको थियो।मैले त्यो लिन सकिन।मेरो छोरा ल्याइदिनुस म यो चार तल्ले घर नै तपाईंहरुलाई दिन्छु भनेर फर्काइदिएँ,” प्रियान्सका परिवारले भावबिह्वल भएर भने ।
“उद्धारका लागि मन्त्रीलाई भन्यौं,गृह मन्त्रीलाई भन्यौं भनेर सहानुभूति लिन खोज्नुभयो। सामान्य ढिस्कोमा पुरिएर बाबुहरुले ज्यान गुमाउनुपरेको रहेछ।बाबुहरुको मृत्यु भइसकेपछि जसलाई फोन गरे पनि त्यसको हामीलाई के अर्थ र?”प्रियान्सका परिवारले एन्फाका पदाधिकारीहरुलाई जवाफ फर्काए ।
व्यवस्थापिका संसदको पूर्वाधार विकास समितिले“व्यवस्थापनको गम्भीर लापरवाहीका कारण छ जना अबोध बालकले अनाहकमा ज्यान गुमाउनुपरेका”निश्कर्ष निकाल्दै असोज १८ गते शुक्रबार सरकारलाई छानविन गर्न निर्देशन दिएको थियो।समितिले नेपाल सरकारलाई तत्काल छानविन समिति बनाएर एक महिनाभित्र सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएको थियो ।
सिस्नेरी एकेडेमीमा २५ जना विद्यार्थी छनोट गरिए पनि आर्थिक तथा राजनीतिक स्वार्थका लागि १५ जना थप गरेर ४० विद्यार्थी राखिएको विषय पनि यही दूर्घटनापछि सार्वजनिक भएको थियो।थप १५ जना विद्यार्थी उनीहरुका परिवारबाट पैसा लिएर राखिएको एन्फाले जवाफ दिएको थियो ।
असोज १२ गते शनिबार पहिरोमा पुरिएर एन्फा एकेडेमीमा रहेर अध्ययनका साथै फुटबल प्रशिक्षण गरिरहेका लालबन्दी नगरपालिका १७ रानीगन्जका आदित्य,बाराका विकल रेग्मी र दिवस बानिया,मकवानपुरका अनुपम घलान र साइमन योन्जनका साथै काठमाण्डौंका प्रियान्सको निधन भएको थियो ।
लालबन्दी नगरपालिका १७ रानीगन्जका आदित्यको शव ल्याउन एन्फाले आनाकानी गरेपछि आक्रोसित पीडित परिवार र स्थानीयले एन्फाको विरोधमा पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका १७ रानीगन्जमा चक्का जाम नै गर्नु परेको थियो ।
यता,सर्लाहीका आदित्य सहित छ जना युवा खेलाडीको पहिरोमा पुरीएर ज्यान गएको विषयलाई सर्लाही जिल्ला फुटबल संघले कसरी लिएको छ भन्ने हाम्रो प्रश्नमा सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर बहादुर सुस्लिङ(विष्णु)ले गैर जिम्मेवारपुर्ण जवाफ दिएका छन् । व्यवस्थापिका संसदको पूर्वाधार विकास समितिले व्यवस्थापनको गम्भीर लापरवाहीका कारण छ जना अबोध बालकले अनाहकमा ज्यान गुमाउनु परेको निश्कर्ष निकाल्दै छानविन समिति गठन गर्न माग गरेको भएपनि सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर विष्णुले एन्फाको लापरबाही नभएको भन्दै एन्फाको बचाउ गरे ।
तर, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी स्थित रहेको बस्ती शुक्रबार नै सारीनु,छोटो बाटो भएर खेलाडीलाई नलगि लामो बाटो भएर लैजानु,खेलाडीहरु आश्रीत वत्सलादेवी माविमा कुनै क्षेती नहुनु लगायतका कारण एन्फाको चरम लापरबाहीका कारण छ जना खेलाडीको ज्यान गएको प्रष्ट हुने सर्लाही जिल्ला फुटबल संघका बरिष्ठ उपा अध्यक्ष विभु सिंह थापाले बताए ।