सर्लाहीमा यो वर्ष दुर्गा पूजाको मूर्ति शान्तिपूर्वक विर्सजन गरिएको छ । विगतका वर्षहरुमा मूर्ति सेलाउन लैजाँदा विवाद भएकाले यो वर्ष स्थानीय प्रशासनले उच्च सुरक्षा सावधानी अपनाएका कारण दुर्गा पूजाको मूर्ति शान्तिपूर्वक विर्सजन गरिएको हो ।जिल्लाभरका ८९ स्थानहरुमा सौहार्दपूर्वक मूर्ति विर्सजन भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
सर्लाहीमा सदरमुकाम मलंगवा सहित सहर बजार तथा गाउँ क्षेत्रमा स्थापना गरिएका दुर्गा पूजाको मूर्तिलाई बागमती नदीसहित जिल्लाका विभिन्न जलायशमा लगेर सेलाउने प्रचलन रहेको छ।ट्रक,ट्याक्टरलगायतका सवारी साधनहरुमा मूर्ति राखेर लावा लस्करसहित बाजागाजा बजाएर नाँचगान गर्दै मूर्ति सेलाउन लाने गरिएको छ ।विगतका वर्षहरुमा यसरी मूर्ति सेलाउन लैजाँदा जिल्लाका केही स्थानहरुमा विवाद हुनुका साथै केही स्थानमा झडपको स्थिति सिर्जना हुने गरेको थियो ।
यो वर्ष त्यस प्रकारको अप्रिय घटना दोहोरिन नदिन सुरक्षा अधिकारीले दुर्गा पूजा समितिका पदाधिकारीसहित अन्य सरोकारवालालाई राखेर बारम्बार छलफल गरेका र यो पटक मूर्ति विर्सजन गर्न लैजाँदा जिल्लास्थित प्रमुख सुरक्षा अधिकारीहरु आफै खटिएका कारण पनि कुनै विवाद उत्पन्न नभएको जिल्ला स्तरिय सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
उनका अनुसार विगतका वर्षहरुमा विभिन्न पूजाको मूर्ति विर्सजन गर्न लैजाँदा असहजस्थिति सिर्जना भई कफ्र्यु र निषेधाज्ञा नै लगाउनु परेकाले सदरमुकाम मलंगवामा यो पटक उच्च सुरक्षा सावधानी अपनाइएको थियो । असहजस्थिति सिर्जना हुनसक्ने ठाउँमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर दुर्गा पूजाको मूर्ति विर्सजनको काम गरिएको जिल्ला स्तरिय सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।