सर्लाहीको लालबन्दी नगरपालिका ९ बस्तीपुरमा करिब दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका ९ बस्तीपुरमा असोज १५ गते राति करिब ११ बजे हरिवन नगरपालिका ११ की अन्दाजी २१ वर्षीया अप्सरी खातुनलाई ठक्करदिई फरार रहेको प्रदेश १–०१–००१ ख ३९४८ नंम्बरको मिनी ट्रक र त्यसका चालक ईलामको सूर्योदय नगरपालिका १ का अन्दाजी ३७ वर्षीय जीतबहादुर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार असोज १५ गते करिब ११ बजे गम्भीर घाइते अवस्थामा फेला परेकी खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो।राजमार्गका विभिन्न स्थानमा रहेका सीसी टिभी फुटेज संकलन गरी अनुसन्धान गर्दै जाँदा उक्त दुर्घटनामा प्रदेश १–०१–००१ ख ३९४८ नंम्बरको ट्रक संलग्न रहेको खुलेपछि त्यसको खोजी सुरु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक सुजन पाठकले बताए ।उनका अनुसार राईलाई सर्लाही जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।सर्लाही जिल्ला भरमा दशैँको अवधिमा ५६ वटा दुर्घटना हुँदा आठ जनाको मृत्यु र एक सय १२ जना घाईते भएका प्रहरीको तथ्यांकमा उल्लेख छ ।