मौसमी विपद्का कारण ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध हुने

300 Shares

असोज ११ र १२ गतेको भिषण वर्षापछि आएको बाढी,पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका सर्लाहीका तीन सहित दुई सय ३८ जनाका परिवारलाई नेपाल सरकारले राहत दिने भएको छ।मौसमी विपद्का कारण प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप प्रतिव्यक्ति रु दुई लाखका दरले राहत रकम वितरण कार्य अन्तिम चरणमा पुगेको नेपाल सरकार गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी विपद्का कारण ज्यान गुमाएका काभ्रेपलाञ्चोकका ७९ जना मृतकका परिवार मध्ये ७८ जनाका परिवारलाई राहत रकम वितरण भइसकेको साथै ललितपुरका ४६ मध्ये ४५ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको छ ।
एक जनाको हकदार एकिन नभएकाले रोकिएको छ भने सर्लाहीका तीन,काठमाण्डौँका १९ जना मतृकका परिवार,भक्तपुरका चार,झापाका दुई,पाँचथरका सात,धनकुटा र उदयपुरका एक–एक, सोलुखुम्बुका पाँच,ईलामका एक,ओखलढुंङ्गाका एक, महोत्तरीका दुई र सप्तरीका एक र रौतहटका चार जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गृह मन्त्रालयबाट सिराहाका एक,मकवानपुरका सात,धादिङका ३६,सिन्धुपाल्चोक र दोलखाका सात–सात,रामेछापमा एक,सिन्धुलीका तीन र रुपन्देहीका दुई जना मृतकका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराइएको गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए ।
विपद्मा परी ज्यान गुमाएका मध्ये १२ जनाका परिवारलाई राहत वितरण कार्य प्रक्रियामा रहेको छ।अहिलेसम्म मृतकका परिवारलाई रु पाँच करोड ४६ लाख राहत रकम वितरणका भइसकेको मन्त्रालयले जनाएको छ।असोज ११ र १२ गतेको भिषण बर्षापछिको बाढी र पहिरोका कारण देशभर एक सय ७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार