ट्राफिक प्रहरी उपरीक्षक सिलवालले चोरीको स्कारपियो प्रयोग गरेको रहस्य सार्वजनिक

226 Shares

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरीक्षक राजकुमार सिलवालले चोरीको स्कारपियो प्रयोग गर्ने गरेका रहस्य बाहिरिएको छ ।गत असारमा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ,बाराले चोकजाँचका क्रममा बरामद गरी थप अनुसन्धानका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेश प्रदेश बुझाएको स्कारपियोलाई प्रहरी उपरीक्षक सिलवालले प्र ३–०१–०२२ च ०९६८ नम्बर राखेर प्रयोग गरेका रहस्य बाहिरिएको हो ।
नियन्त्रणमा लिइएको उक्त स्कारपियोलाई आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय  पठाउनु पर्नेमा प्रहरी उपरीक्षक सिलवालले आफैं प्रयोग गर्दै आएका स्रोतको दाबी छ ।स्रोतका अनुसार उत्त स्कारपियो जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित भोला मोटर्स वर्कशपमा करिब रु एक लाख बराबरको मर्मत गराएर जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको अर्कै गाडीको नम्बर प्रयोग गरेर  त्यसको भुक्तानी गरिएको छ ।
उत्त स्कारपियोमाथि अनुसन्धान जारी नै रहेकाले भन्सार नबुझाइएको प्रहरी उपरीक्षक सिलवालले बताए ।“गाडी चल्ने हालतमा नरहेका कारण हामीले केही पैसा खर्च गरेर मर्मत गरी चालु अवस्थामा राखेको हौं,यातायातबाट गाडीको विवरण माग गरेको भएतापनि विवरण प्राप्त नभएका कारण अनुसन्धान अगाडि बढ्न सकिएको छैन् ।अनुसन्धान पूरा भएपछि भन्सार बुझाउँछौं ।”प्रहरी उपरीक्षक सिलवालले बताए । 
तर,कानुनले चोरीको अवस्थामा बरामद भएको सवारीसाधन स्वामित्व तथा कागजात प्रमाणित नभएसम्म,भन्सार प्रक्रिया पूरा नभएसम्म र अदालत वा सम्बन्धित निकायले अनुमति नदिएसम्म कुनै पनि रुपमा प्रयोग गर्न नपाउने प्रावधान छ।तर प्रहरी उपरीक्षक सिलवाल आफैँले कानूनको बर्खिलाप गर्दै चोरीको स्कारपियो प्रयोग गरेपछि प्रहरी संगठन माथि नै प्रश्न उठेको छ ।  
यता,प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) तथा हालका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उमाप्रसाद चतुर्वेदीले अनुशासनहीन गतिविधि गरेको ठहर गर्दै प्रहरी उपरीक्षक सिलवालविरुद्ध विभागीय कारबाही (नैसीयत) अघि बढाएका थिए। 
प्रहरी उपरीक्षक सिलवालले मधेश प्रदेशका ट्राफिक प्रहरी कार्यालयहरूलाई आय–आर्जन गर्ने माध्यमका रूपमा प्रयोग गर्न खोजेको र मातहत कार्यालय तथा ट्रक व्यवसायीहरूसँग मासिक रकम असुल्दै आएको गुनासो प्रदेश प्रहरी कार्यालय जनकपुरमा पुगेपछि चतुर्वेदीले विशेष अनुसन्धान सुरु गरेका थिए।अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकृतका अनुसार प्रारम्भिक चरणमै प्रहरी उपरीक्षक सिलवालले मातहत कार्यालय र भरतिय ट्रक,भुस बोकेका ट्रक तथा ट्रक व्यवसायीहरूसँग नियमित रकम लिँदै आएको तथा मातहतका जिल्लामा जिल्लाका प्रमुख एवम प्रहरी निरीक्षकहरुलाई समेत थाहा नदिई आफु पाएक व्यक्तिहरु पठाउने र पथलैया बहेक अन्य स्थानमा भारतिय सवारीहरु प्रयोग गर्न नपाउने तथा बिभिन्न यतायत व्यवसायीहरूसंग मासिक रकम लिने गरेका जस्ता प्रमाण फेला परेको थियो।तर चतुर्वेदी पदोन्नति भएपछि विस्तृत अनुसन्धान भने अधुरो रह्यो । 
यही अनुसन्धानका क्रममा प्रहरी उपरीक्षक सिलवालले चोरीको स्कारपियोलाई निजी सवारीका रूपमा प्रयोग गर्दै आएको तथ्यसमेत खुलेको हो ।स्थानीय तहमार्फत खर्च मिलाउने प्रयासले यस घटनालाई साधारण अनुसन्धानभन्दा बढी र उच्च स्तरीय छानबिनको आवश्यकता रहेको आवाज प्रहरीभित्रै उठ्न थालेको छ।भने प्रदेश प्रहरी कार्यालय जनकपुरले समेत बीचमै रोकिएको अनुसन्धानलाई पुनःसुरु गर्ने तयारी गरेको स्रोतको दाबी छ ।प्रहरी उपरीक्षक सिलवाल विरुद्ध विभिन्न निकायमा ६० वटा उजुरी परेका समेत स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार