सूचना दिन कठिन हुने काम नगर्न मुख्यमन्त्री सिंहको अनुरोध

234 Shares

सरकारका काम,प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्दति संस्थागत भए सूचनाको हक स्वतःस्थापित हुने मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए।उनले लोकतान्त्रिक व्यवस्थामा नागरिक सर्वोच्चता महत्वपूर्ण र अपरिहार्य भएकाले सार्वजनिक निकायसँग सम्बद्ध कार्य वा विषयमा सूचनाको हक कार्यान्वयन गर्न मधेश प्रदेश सरकार प्रतिबद्ध रहेको दाबी गरे ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघद्वारा जनकपुरधाममा आयोजना गरिएको प्रदेशस्तरीय सूचनाको हकसम्बन्धी प्रशिक्षण शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले सार्वजनिक जरुरी वा चासोका विषयमा नागरिकलाई सहज ढंङ्गले सूचना उपलब्ध गराउन सरकारको कानुनी र नैतिक कर्तव्य भएको उल्लेख गरे।पछिल्ला दिनमा सूचनाको हक प्रयोगप्रति नागरिक चेतना वृद्धि भएको औँल्याउँदै उनले सूचनाको हकमार्फत माग गरिएका सूचना प्रवाहका बारेमा व्यवस्थित अभिलेखीकरण हुनुपर्नेमा मुख्यमन्त्री सिंहले जोड दिए ।
सूचनाको हकसम्बन्धी कानुनले तय गरेका सूचना प्राप्तिका लागि सरकार र नागरिक दुवैको क्रियाशीलता आवश्यक रहेको चर्चा गर्दै उनले सरकारका कामकाजमा पारदर्शीताका लागि मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयहरु वेभसाइटमार्फत निरन्तर सार्वजनिक भइरहेका समेत उनले बताए ।
मुख्यमन्त्री सिंहले सूचना दिन कठिन हुने खालका काम कसैको लहलहैमा लागेर नगर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सुझाव समेत दिए।उनले सूचनाको हकलाई व्यवस्थित, प्रभावकारी र परिणामुखी बनाउन विभिन्न मन्त्रालय तथा मातहतका निकायमा बाँकी रहेका सूचना अधिकारी तोकी तत्काल तस्बिर र फोन नम्बर उल्लेख गरेर सार्वजनिक सूचना टाँस गर्न निर्देशन दिएको बताए ।
मधेश प्रदेशका एक सय ३६ वटा स्थानीय तहलाई सूचना अधिकारी नियुक्त गर्न प्रदेश सरकारले तत्काल पत्राचार गर्ने  मुख्यमन्त्री सिंहले बताए।उनले प्रदेशमा कर्माचारी अभाव र कार्यबोझका कारण सूचना अधिकारीलाई समयमै आवश्यक सूचना उपलब्ध गराउन कठिनाइ भइरहेको समेत बताए।सूचनाको हकलाई कार्यमूलक र उपलब्धिमूलक बनाउन प्रदेशमा प्रमुख सचिव र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समिति विघटन गरी अर्को समिति बनाउनुपर्ने सुझाव दिए ।
राज्यको संरचना र परिवेश फेरिएकाले पनि प्रदेश सरकारले आफ्नो भूमिकालाई समयानुकूल बनाउन खोजेको भन्दै सूचनाको हक कार्यान्वयनमा सबै पक्षको सक्रियता आवश्यक भएको मुख्यमन्त्री सिंहले बताए ।राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक प्रयोग गरी प्राप्त भएका सूचनाका आधारमा ठूलठूला अनियमितता तथा भ्रष्टाचारबारे महत्वपूर्ण तथ्य सार्वजनिक भएको र विधि प्रक्रिया स्थापित हुनुका साथै बेथितिमा परिवर्तन आएको बताए ।

सम्बन्धित समाचार