सर्लाहीको कविलासी नगरपालिकाका शिक्षक तथा कर्माचारीहरुले साउनदेखि तलब नपाएपछि नगरपालिका कार्यालय घेराउ गरेका छन्।दशैँमा तलब नपाएका कविलासी नगरपालिकाका शिक्षक तथा कर्माचारीहरुले तिहार र छठमा समेत तलब नपाउने स्थिति सिर्जना भएपछि नगरपालिकाको कार्यलय घेराउ गरेका हुन ।
मुख्य चाडपर्वको समयमा पनि तलब नपाउने अवस्था सिर्जना भएपछि आफुहरु बाध्य भएर आन्दोलनमा होमिनु परेको आन्दोलनरत शिक्षक तथा कर्माचारीहरुको भनाई छ ।कविलासी नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्माचारीहरुले विद्यालय पूर्णरुपमा बन्द गरेर नगरपालिका कार्यालयमा धर्ना बस्ने निर्णय समेत गरेका छन् ।
प्राविधिक फाँटका कर्माचारी तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुु यादव कविलासी नगरपालिकामा जनप्रतिनिधिहरुको किचलो सहन नसकेर अन्यन्त्र सरुवा भएर गएपछि कविलासी नगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ । यादवले नगरपाकिला छाडेर हिडेपछि कविलासी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउँदा सामाजिक सुरक्षा भक्ताका साथै तलब भक्ता वितरण हुन नसेको नगर प्रमुख ब्रम्हदेव रायले बताए ।उनले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन मन्त्रालयमा बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गरे ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कविलासीमा अहिले स्वास्थ्य शाखाका कर्मचारी सन्जय झालाई निमित्तको जिम्मेवारी दिएर कार्यालय सन्चालन गरिएको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका अनुसार कविलासी नगरपालिकासहित पर्सा गाउँपालिका, विष्णु गाउँपालिका र बसबरिया गाउँपालिकामा साउनदेखि तलब,भत्ता निकासा हुन सकेको छैन् ।