धनुषाको जनकनन्दिनी गाउँपालिका ४ स्थायी ठेगाना भई कुवेतमा बस्दै आएका मानव बेचबिखन तथा ओसार पसार मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका जनकनन्दिनी गाउँपालिका ४ स्थायी ठेगाना भई कुवेतमा बस्दै आएका दिलीप राउतलाई इन्टरपोलबाट“रेड नोटिस”जारी गरी पक्राउ गरिएका नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका राउतलाई सम्बन्धित मुद्दामा कारवाही गर्न पक्राउ गरी नेपाल ल्याइएको हो।नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट असोज १८ गते राउतविरूद्ध अन्तर्राष्ट्रियस्तरमा“रेड नोटिस”जारी भएको थियो।राउतलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।
त्यसैगरी,वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट“रेड नोटिस”जारी भएकी सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरेको छ ।वैदेशिक रोजगारी ठगी मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ इन्टरपोलबाट“रेड नोटिस”जारी पक्राउ गरी शाक्यालाई आवश्यक कार्बाहीका लागि स्वदेश ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिए ।
उनका अनुसार शाक्याले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट रु पाँच करोड दुई लाख ९४ हजार ठगी गरी फरार भएकी थिइन् ।आरोपी शाक्य र उदयपुर त्रियुगा नगरपालिका १० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भए पश्चात २०८० माघ १९ गते उनीहरू विरूद्ध रेड नोटिस जारी भएको थियो ।
अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसुरमा कानुनी कारबाही गराउन नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरेकोमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो ।साथै पक्राउ मध्ये आचार्यलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको र शाक्यलाई सम्बन्धित कसुरमा कानुन बमोजिम कारबाहीका लागि काठमाडौँ ल्याइएको हो ।