स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा,कांग्रेस–एमालेबीच मित्रवत् प्रतिस्पर्धा,माओवादी केन्द्र र अन्य दल मिल्ने

323 Shares

स्थानीय तहको उपनिर्वाचनमा दलहरु केन्द्रित भएको छ।नेपालीहरुको महान चाड दशैँ तिहार सकिएसँगै दलहरूको ध्यान स्थानीयको उप निर्वाचन तर्फ केन्द्रीत भएको छ।स्थानीय तहहरुमा रिक्त विभिन्न ३९ पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ।जिल्ला समन्वय समिति प्रमुखसहित स्थानीय तहका पदाधिकारीहरुको पदावधि समाप्त हुन एक वर्षभन्दा बढी समय बाँकी छँदै कुनै कारणले पद रिक्त भएमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ।सोही नियमानुसार आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुन लागेको हो।  
निर्वाचन आयोगको विवरण अनुसार एक जना नगर प्रमुख, एक जना नगर उपप्रमुख र २१ जना वडाध्यक्ष तथा दुई जना गाउँपालिका अध्यक्ष,तीन जना उपाध्यक्ष,नौ जना वडाध्यक्ष गरी देशभर कुल ३७ र दुई जिल्ला समन्वय समिति (जिसस) प्रमुखको पद गरी ३९ पद खाली रहेका छन्। सबैभन्दा धेरै नेपाली कांग्रेसले जितेका स्थानीय तहहरुका पद रिक्त छन्।२०७९ वैशाखमा भएको निर्वाचन अनुसार यसअघि कांग्रेसले जितेका २३,एमालेले जितेका सात, माओवादी केन्द्रले जितेका छ र जसपा नेपालले जितेका एक ठाउँमा उपनिर्वाचन हुँदै छ। 
उपनिर्वाचनका लागि केही दलले उम्मेदवार छान्ने काम शुरु गरिसकेका छन् भने अन्य दलमा कहाँ कसलाई उम्मेदवार बनाउने भन्नेबारे व्यापक छलफल भइरहेको छ।सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा(एमाले)एक्लाएक्लै लड्दा प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)लगायतका साना दलहरू गठबन्धन गरेर चुनाव लड्ने मनस्थितिमा रहेका छन्। त्यसका लागि स्थानीय परिस्थितिको विश्लेषण गरिरहेका छन् । 
एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले कीर्तिपुर नगरपालिका प्रमुखका लागि पार्टीको  उम्मेदवार टुंग्याइसकेका छन्।एमालेले डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ भने माओवादी केन्द्रले प्रा.डा.शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कीर्तिपुरमा नगर प्रमुख सहित दुई वडाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदै छ।माओवादी केन्द्रले कीर्तिपुर नगरपालिका १ मा अष्टमान महर्जन र कीर्तिपुर नगरपालिका ४ मा नारायण विष्टलाई उम्मेदवार बनाएको छ।राप्रपाले ध्रुव महर्जनलाई कीर्तिपुरको नगर प्रमुखमा अघि सारेको छ।यसबाहेक अन्य पालिकामा भने कुनै पनि दलले उम्मेदवार घोषणा गरिसकेका छैनन्। कांग्रेसले र्कीर्तिपुरकै नगर प्रमुखका लागि उम्मेदवार टुंग्याएको छैन। 
उपनिर्वाचनको मिति नजिकिँदै गर्दा छिटो सबै ठाउँको उम्मेदवार टुंग्याउने केन्द्र निर्देशन दिइसकेको कांग्रेसका एक नेताले जनाए।कांग्रेसमा वडाको उम्मेदवार क्षेत्रीय समितिले टुंग्याउँछ भने पालिकाको उम्मेदवार जिल्ला कार्य समिति तथा नगरपालिकाको उम्मेदवार प्रदेश समितिले टुंग्याउने प्रावधान रहेको छ। उपनिर्वाचनका सन्दर्भमा छलफल गर्न कार्तिक २३ गते माओवादी केन्द्रको पदाधिकारीहरु बैठक बस्दै छ।उक्त बैठकले उपनिर्वाचनमा के कसरी अघि बढ्ने भन्ने विषय टुंग्याउने साथै एक्लै निर्वाचन लड्ने आफूहरूको जोड भए पनि स्थानीय परिस्थिति बुझेर ठोस नीति बनाउने  माओवादी केन्द्रका एक नेताले बताए ।
सानो पार्टी भएर पनि आन्तरिक विवादले ग्रस्त नेकपा(एकीकृत समाजवादी)एक्लै भन्दा तालमेल गरेर निर्वाचनामा होमीने मनस्थितिमा देखिएको छ।एकिकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएर तयारी गरिरहेको एकिकृत समाजवादीले जनाएको छ।स्थानीयस्तरको परिस्थितिअनुसार जुनसुकै दलसँग पनि तालमेल गर्ने नीति अपनाएको एकिकृत समाजवादीले जनाएको छ।
गत आमनिर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि उपनिर्वाचनमा सहभागी हुँदै छ।उसले सांसदसमेत रहेका नेता गणेश पराजुलीको नेतृत्वमा स्थानीय उपनिर्वाचनका लागि कमिटी नै बनाएर तयारीको काम गरिरहेको छ।यद्यपि उम्मेदवारहरूका सन्दर्भमा भने टुंगो लागिनसकेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।उनका अनुसार उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार अघि नसारिने ठाउँमा स्वतन्त्र उम्मेदवारलाई सघाउने रास्वपा नीति रहेको छ। यद्यपि सबै ठाउँमा आफ्नै उम्मेदवार उठाउने प्रयास गर्ने प्रमुख सचेतक परियारले बताए। 

सम्बन्धित समाचार