शुक्रबार देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको ज्यान गएको छ । चितवनमा भएको सवारी दुर्घटनामा पाँच जना,सुर्खेतमा भएको सवारी दुर्घटनामा चार र पाँचथरमा भएको सवारी दुर्घटनामा एक जना गरी १० जनाको ज्यान गएको र २८ जना घाईते भएका ट्राफिक प्रहरीले जनाएको छ ।ट्राफिक प्रहरीका अनुसार चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको र एक जना घाईते,दैलेखबाट सुर्खेत आउँदै गरेको मिनिबस दुर्घटना हुँदा चार जनाको र २५ जना घाईते र पाँचथरमा ट्रक पल्टिदा एक जनाको मृत्यु र दुई जना घाईते भएका हुन ।
चितवनको भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा बस र माइक्रो बस ठोक्किँदा चितवनको खैरहनी नगरपालिका ४ का अनोज अधिकारी,गोरखाको आरुघाट गाउँपालिका ५ का राज बहादुर गुरुङ,भारत घर भई पोखरा बस्ने राज कुमार साह,नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ४ का सन्तोष भुसाल र सबिना भुसालको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यता,दैलेखबाट सुर्खेत आउँदै गरेको मिनिबस वीरेन्द्रनगर नगरपालिका १४ स्थित रातानाङ््ला नजिकै दुर्घटना हुँदा चार जनाको ज्यान गएको र २५ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।ट्राफिक प्रहरीका अनुसार आफैँ अनियन्त्रित भएर मिनि बस दुर्घटना भएको हो ।
त्यसैगरी,पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।पाँचथरको हिलिहाङ २ सिंगापुरबाट गोलिया लिएर झापा हिँडेको ना ४ ख ७१२३ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा पाँचथरको हिलिहाङ ३ निवासी भवानी शंकर पौडेलको घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा इलामको सुर्योदय नगरपालिका १२ घर भएका अन्दाजी ५२ वर्षीय तेजबहादुर दाश र टूक चालक झापा चारपाने निवासी अन्दाजी ४० वर्षीय राजकुमार बस्नेत घाइते भएकाछन् ।पछिल्लो समय ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि भन्दै सवारी चेकजाँचलाई कडाई गरेपनि दुर्घटना झन बढ्दै गएको स्थानीयको भनाई छ ।