मधेश प्रदेश र मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनी प्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामा चखेवा पर्व सकिएको छ।कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व पूर्णिमामा परम्परागत रुपमा सकिएको हो ।यो पर्वमा मधेश र मिथिला क्षेत्रका नारीहरुले सामा खेलमा प्रयोग गर्ने सतभैया,हात्ती,वृन्दावन, चुगला,सामा र चखेवाका माटाका आकृति दाजुभाइबाट फुटाउन लगाई जोतिएको खेत वा निर्जन वनमा गाड्ने चलन रहेको छ।पर्व समापनमा दिदीबहिनीले दाजुभाइलाई दीर्घायूको कामना गर्दै मीठा परिकार खान दिन्छन् भने दाजुभाइले आफ्नो क्ष्मता अनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिन्छन्।सामाचखेवा पर्वका ११ दिन मधेश र मिथिला क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको सौर्यको वर्णन गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिन्छ ।
बोलीचालीमा “सामा खेल”पनि भनिने यो पर्व दिदीबहिनी र दाजुभाइका लागि आपसी सद्भाव व्यक्त गर्ने उपयुक्त अवसर मानिन्छ।पर्वका ११ दिनको मध्यरातसम्म चौबाटोमा समूहमा जम्मा भएर आफ्ना दाजुभाइको पराक्रमको वर्णन गर्दै दुष्ट चरित्रलाई सत्तोसराप गरेर आफूहरुबीच पवित्र र आत्मीय स्नेह रहेको दर्शाउनु पर्वको मुख्यपक्ष रहेको जानकारहरु बताउँछन् ।दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मानिन्छ । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधरसँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटेले कृष्णलाई सुनाउँदा छोरी स्वच्छन्द प्रवृत्तिकी भएको झोँकमा दुवैलाई सामा र चखेवा हुने श्राप दिएको पौराणिक कथा छ ।श्रीकृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चखेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरू श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका वर्णन पनि धर्मग्रन्थहरुमा उल्लेख छ ।