मंसिर १६ गते हुने स्थानीय तहको उप निर्वाचनमा विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोनयन पत्र दर्ता भएको छ।गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप प्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला,४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल(अर्याल)ले जानकारी दिईन् ।उनका अनुसार गाउँपालिका र नगरपालिका वडाअध्यक्षहरुको रिक्त ३४ पदका लागि २९ महिला, दुई सय ९३ पुरुष र एक अन्य गरी जम्मा तीन सय २३ जनाको मनोयन पत्र दर्ता भएको छ ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुखमा दुई महिला र जिल्ला समन्वय समिति ओखलढुङगाको प्रमुखमा एकजना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।धनुषामा सबैभन्दा धेरै तथा रुकुम पूर्वमा र बझाङमा सबैभन्दा कम उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।आयोगका अनुसार सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका १ को वडाअध्यक्ष पदका लागि २१ जना र सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका २ र बझाङको सुर्मा गाउँपालिका ४ को वडाअध्यक्ष पदका लागि तीन÷तीन जना उम्मेदवारहरुको मनोनयन पत्र दर्ता भएकोे छ।
यही मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र मङ्सिर ४ गते अपराह्न ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने,उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा स्थानीय तहको उप निर्वाचनको मतदान हुनेछ।