देश संघिय संरचनामा गएपछि कर उठाउने विषयमा स्थानीय तह,प्रदेश सरकार र संघ सरकार वीच विवाद देखिएको छ।संघीय सरकारले स्थानीय सरकारहरुलाई वातावरण संरक्षण तथा पटके सवारी कर नउठाउन निर्देशन गरेको छ भने स्थानीय सरकारहरुले भने यी करहरु संकलन गर्दै आईरहेका छन।जसको कारण संघीय सरकारको निर्णय लत्याउदै स्थानीय तहहरुले सडकमा अवरोध (वैरियर) लगाएर कर उठाउँदै आएका छन्।बाराको कलैया उपमहा नगरपालिका र निजगढ नगरपालिकाले यसरी सडकमा अवरोध (वैरियर) नै खडा गरेर कर उठाउने गरेका पाइएको छ ।
नेपाल सरकार गृह मन्त्रालयले गत कार्तिक १२ गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाउदै यस्तो कर संकलन कार्य रोक्न निर्देशन दिएको छ ।नेपाल सरकार मन्त्री परिषदको २०७५ मंसिर १७ गते बसेको बैठकले देशको मुख्य राजमार्ग तथा सहायक राजमार्गमा कर नउठाउन भनेर निर्णय गरेको थियो।यो निर्णय कार्यान्वयनको लागि अर्थ मन्त्रालयबाट तयारी भएको कार्ययोजना सहित सम्बन्धित निकायमा पत्राचार भएको थियो।त्यसपछि कर संकलन रोकिएको थियो ।तर मधेश प्रदेशका केही स्थानीय तहहरुले यस्तो कर संकलन गरिरहेको पाइएको हो।यस्तो कर संकलन रोक्नलाई निर्देशन दिन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएपछि जिल्ला प्रशासन कार्यालय बाराले बाराका सबै स्थानीय तहहरुलाई कर संकलन नगर्न पत्रकार गरेको थियो।तर पालिकाहरुले गृह र स्थानीय प्रशासनको निर्देशनलाई वेवास्था गर्दै कलैया उपमहा नगरपालिका र निजगढ नगरपालिकाले विभिन्न नाममा कर उठाइरहेका छन् ।
निजगढ नगरपालिकाले सार्वजनिक संरचना मर्मत सम्भार सेवा र वातावरण शुल्कको नाममा कर संकलन गरिरहेको छ भने,कलैया उपमहा नगरपालिकाले वातावरण संरक्षण तथा पटके सवारी करको नाममा कर संकलन गरिरहेको छ।कर संकलनको नाममा अहिले स्थानीय तह र संघीय सरकारविच विवाद देखिएको हो ।यता,संविधानले दिएको अधिकार प्रयोग गर्दै आई रहेको र सोही अनुसार कर संकलनको काम गरि रहेकोमा संघ सरकार तथा गृह मन्त्रालयले अवरोध गर्न खोजेको भन्दै बाराका विभिन्न स्थानीय तहहरुका नगर प्रमुख तथा अध्यक्षहरुले संयुक्त रुपमा प्रेस विज्ञाप्ती जारी गरेका छन् ।
उनीहरुले नेपालको संविधानको धारा ५७,धारा २२१ र धारा २२६ को अनुसूचि ८ मा स्थानीय तहको एकल अधिकार र स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ९ को गाउँपालिका तथा नगरपालिकाको वित्तीय अधिकार क्षेत्र भित्र कबाडी तथा पूर्वाधार उपयोग कर उठाउने व्यवस्था रहेकोले बारा जिल्लाका स्थानीय तहले सोही अनुसार कर संकलन गरेको स्थानीय तहका प्रमुखहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिको छ ।
यता,नेपालको संविधान २०७२ को भाग–२० मा संघ,प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्ध अन्र्तगत धारा २३६ मा अन्तर प्रदेश व्यापारमा यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एक प्रदेश वा स्थानीय तहबाट अर्को प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तार वा कुनै प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै किसिमको बाधा अवरोध गर्न वा कुनै कर, शुल्क, दस्तुर वा महसूल लगाउन वा त्यस्तो सेवा वा वस्तुको ढुवानी वा विस्तारमा कुनै किसिमको भेदभाव गर्न पाइने छैन।भन्ने उल्लेख गरिएको छ ।