सिन्धुलीका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरुमा लाखौँ खर्चेर निर्माण गरिएका पदमार्गहरु प्रयोग विहिन भएका छन्।जिल्लाको धार्मिक,ऐतिहासिक र पर्यटकिय स्थलको प्रचार पसारका लागि भन्दै लाखौँ खर्च गरेर निर्माण गरिएका पदमार्ग प्रयोग विहिन हुँदा कुरुप देखिएका छन् । जिल्लाको हरिहरपुरगढी र सिन्धुलीगढी जोड्न निर्माण गरिएको पदमार्ग,कमलामाई नगरपालिका २ चियाबारीबाट ऐतिहासिक स्थल सिन्धुली गढी लगायत फिक्कल गाउँपालिका ३ चनौटेमा निर्माण गरिएको पदमार्ग प्रयोग विहीन भएको हो ।
कमलामाई नगरपालिका २ चियाबारीबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्मको पदमार्ग कुरुप हुदै गएको छ।नेपाल एकीकरणका बेला विसं १८२४ को सिन्धुलीगढी युद्धमा क्याप्टेन किनलोकको नेतृत्वमा आएको अंग्रेज फौज हिँडेको पैदल बाटोलाई पदमार्गका रूपमा निर्माण गर्ने योजना कमलामाई नगरपालिकाले अघि सारेको थियो।प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच लाखको लागतमा चियाबारी,फेदी,सिउरानी,ढुंग्रेभन्ज्याङ हुँदै सिन्धुलीगढीसम्म उक्त पदमार्ग निर्माण भएको थियो । बि.पी राजमार्ग निर्माणअघि निकै चहल पहल रहेको यो पदमार्ग अहिले ठप्प जस्तै देखिएको छ ।
नेपाल एकीकरणका क्रममा तत्कालीन गोर्खाली सैनिक हिँडेको ऐतिहासिक स्थललाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार तीन वर्षअघि हरिहरपुरगढीको घण्टेबाट सिन्धुली गढीसम्मको करिब ७५ किलोमिटर लामो पदमार्ग निर्माण थालिएको थियो।घण्टेबाट जितपुरसम्मको करिब १५ किमी लामो पदमार्ग निर्माण भए पनि बाँकी पदमार्ग निर्माण हुन सकेको छैन्।उक्त पदमार्ग समृद्ध सिन्धुली अभियानको अगुवाइमा निर्वाचन क्षेत्र विकास कोषको करिब रु ४० लाख सहयोगमा निर्माण गरिएको थियो।दुई गढीलाई जोडेर पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले खनिएको पदमार्ग प्रयोग विहिन हुँदा समेत सरोकारवाला निकाय मौन देखिएको स्थानीय जानकारहरु बताउँछन् ।
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहकी पत्नी इन्द्रकुमारीले घण्ट चढाएको हरिहरपुरगढी गाँउपालिका ३ घण्टेस्थित महादेवको मन्दिरबाट निर्माण सुरु गरिएको पदमार्ग ऐतिहासिक हरिहरपुरगढी किल्ला,जितपुरगढी हुँदै जितपुरसम्म पुगेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले बताए ।उनका अनुसार बाँकी सिन्धुलीगढीसम्मको करिब ६० किमी लामो पदमार्ग निर्माण कै चरणमा रहेको छ ।घण्टेबाट जितपुरसम्मको ठाउँ–ठाउँको बाटोमा चौतारा र प्रतिक्षालय निर्माण गरिएको हरिहरपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष कुल वहादुर भोलनले बताए।उनका अनुसार पदमार्गमा पर्ने खोर भञ्ज्याङमा काठको कलात्मक प्रतिक्षालय निर्माण गरिएको छ ।
सिन्धुलीगढीको भन्दा पुरानो इतिहास बोकेको हरिहरपुरगढी किल्ला आर्थिक अभावका कारण संरक्षण गर्न नसकिएको हरिहरपुरगढी गाउँपालिकाले जनाएको छ ।बाराको सिम्रौनगढमा बंगाल मुसलमान भीषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालीन राजा हरिसिंह देव विसं १३७८ मा सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए।त्यही किल्लाले राज्यको रूप लिएको जानकारहरु बताउँछन्।जानकारहरुका अनुसार किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भनेर भन्न थालियो।
सिन्धुलीगढीमा भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो।पृथ्वीनाराण शाहको नेपाल एकीकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विसं १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए ।
पर्यटन प्रवद्र्धनका लागि फिक्कल गाउँपालिका ३ चनौटेबाट फिक्कल भ्यूटावरसम्म जान पदमार्ग निर्माण गरिएको छ । बागमती प्रदेश सरकार उद्योग,वन तथा पर्यटन मन्त्रालयको करिब रु २८ लाखमा ढुंगाको सिँढी बनाएर करिब पाँच सय मिटर लामो पदमार्ग निर्माण भएको फिक्कल गाउँपालिका ३ का वडा अध्यक्ष टेक बहादुर रजन मगरले बताए।उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत थप करिब सात सय मिटर लामो पदमार्ग निर्माण गरिएको हो ।