सर्लाहीको लालबन्दीमा स्थानिय सरकार र समुदायिक वन अधिकार र सुनिश्चितता सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ।स्थानिय तहमा पनि वन नीति निर्माण गर्ने अधिकार संघिय सरकारले प्रदान गरेको बारेमा जानकारी गराउन भन्दै स्थानिय सरकार र समुदायिक वन अधिकार र सुनिश्चितता सम्बन्धी कार्यक्रम आयोजना गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए ।
उनले स्थानीय तहहरुलाई आफ्नो क्षेत्र भित्र रहेका वनका बारेमा जानकारी राख्दै वन नीति निर्माण तथा वनको रेखदेख तथा संरक्षण सम्बद्र्धनमा लाग्ने अधिकार संघीय सरकारबाट स्थानीय तहहरुलाई समेत प्रत्यायोजन भएको र डिभिजन वन कार्यालय कै निर्देशन तथा सहयोगमा चल्नु पर्ने अवस्थाको अन्त्य भएको जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको बताए ।कार्यक्रममा सहभागी हुँदै स्थानिय तहका जनप्रतिनिधिहरुले आफुहरुलाई केके अधिकार छ भन्ने जानकारी नभएकाले वन सम्बन्धी नीति निर्माण हुन नसकेको स्वीकार गरेका छन् ।उनीहरुले संघीय सरकारले वन सम्बन्धी नीति निर्माणका साथै वनको रेखदेख तथा संरक्षण सम्बद्र्धन सम्बन्धी नीति निर्देशिकाको जानकारी नभएकै कारण आफुहरु यस विषयमा मौन बसेको बताएका छन् ।
आफुहरु निर्वाचित भएर आएको दुई वर्ष वितिसक्दा पनि आफुहरुलाई वन सम्बन्धी नीति निर्माणको बारेमा जानकारी नभएकाले स्थानिय तहको वन सम्बन्धी नीति निर्माण गर्ने कार्यमा ढिलाई भएको लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख कल्पना माया पाख्रीनले बताईन् ।उनले संघीय सरकार र प्रदेश सरकार मातहत रहेका डिभिजन वन कार्यालयहरु कै निर्देशनमा सबै वनका पदाधिकारीहरुले काम गरि रहेको पाएको साथै अब आफ्नो क्षेत्रभित्रको वनको संरक्षण सम्बद्र्धन गर्ने युवाहरुलाई सामुदायिक वन मार्फत युवा उद्यमी बनाई रोजगारीको अवसर सृजना गर्दै युवाहरुमा आय आर्जन तथा जीविको पार्जनका साथै आर्थिक उपार्जन गर्ने काममा स्थानिय वन नीति निर्माण गर्ने कामलाई अघि बढाउने प्रतिबद्धता जनाईन् ।सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीको आयोजनामा लालबन्दी नगरपालिका ६ को सभाहलमा महासंघका अध्यक्ष सिताराम पोख्रेलको अध्यक्षता एवम महासंघकी मधेश प्रदेश महासचिव रिता कुवरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।