सर्लाहीका तीन वटा पालिकाले किसानलाई राम्रो उत्पादन हुने उन्नत जातको उखु खेती गर्न आग्रह गरेका छन्।सर्लाहीको बलरा र गोडैता नगरपालिकाका साथै रामनगर गाउँपालिकाले किसानलाई राम्रो उत्पादन हुने उन्नत जातको उखु खेती गर्न आग्रह गरेका हुन ।
सर्लाहीका तीन पालिकाले एक सूचना मार्फत उन्नत जातको उखु “अर्ली भेराइटी”खेती गरेर प्रति कठ्ठा ४० देखि ५० क्विन्टल उत्पादन गर्न सकिने बताएका छन् ।करिब ४० वर्ष पुरानो जातको उखु लगाउँदा किसानहरुको मेहनत अनुसार उखुको उत्पादनमा कमि आउने र किसान र उद्योगी दुवैलाई मर्का पर्ने भन्दै आधुुनिक प्रविधिको प्रयोग गरी उन्नत जातको उखु लगाउन आग्रह गरेका हुन ।
किसानलाई उन्नत जातको उखुु खेतीका लागि चिनी मिलले प्रोत्साहन गर्नुपर्ने बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर कुशवाहाले बताए।उनले उद्योगको नाममा बिचौलियाले काँटा सञ्चालन गरी आफ्नो नाममा उखुु तौल गराइ किसानहरुले पाउने सरकारी अनुुदानको रकम समेत शोषण गरिरहेका समेत बताए ।
बलरा नगरपालिकाका नगर प्रमुख कुशवाहा,गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादव र रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले हस्ताक्षर गरी जारी गरेका सूचनामा आफ्नो पालिकाभित्र कुनै पनि काँटा अर्थात् उखु खरिद केन्द्र नराख्न भनेका छन् ।
किसानहरुले उत्पादन गरेको उखुु आफ्नो राजीखुसी कुुनै पनि चिनी उद्योगलाई बिक्री गर्न पूर्ण स्वतन्त्र रहेको रामनगर गाउँपालिकाका अध्यक्ष यादवले बताए।उनका अनुसार किसानहरुको पुरानो बक्यौता रकम बाँकी रहेका उद्योगलाई उद्योग संचालन भएको २० दिनभित्र पुरा भुक्तानी गर्न पनि सोही सूचना मार्फत अनुरोध गरिएको छ।