दादुरा देखिएका मलंगवाका ७ बालबालिकालाई सोमबार दादुरा विरुद्धको खोप लगाइने

229 Shares

सर्लाहीको मलंगवा नगरपालिका ३, मुस्लिम बस्तीका सात जना बालबालिकामा दादुरा रोग देखा परेको छ।संक्रामक रोग दादुरा पुष्टी भएका सात जना मुस्लिम समुदायका बालबालिका पाँच वर्ष मुनिका रहेका जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालका अनुसार मलंगवा नगरपालिका ३ मा कोठा भाडामा बस्ने चन्द्रनगर गाउँपालिका पोखरियाका एक जना बालकमा पुस २२ गते दादुरा पुष्टी भएको थियो । ती बालक कोठा भाडामा बसेको बस्तीका थप छ जना बालबालिकामा तीन दिनअघि दादुराको संक्रमण पुष्टी भएको हो ।
दादुरा पुष्टी भएका बालबालिका अहिले घरमै “आइसोलेटेट”भएर बसेका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मलंगवा नगरपालिकाको स्वास्थ्य शाखा संयोजक विष्णुकान्त साहले बताए।उनका अनुसार मलंगवाको एक नीजि क्लिनिकमा उपचारका लागि पुगेका बालबालिकामा शंकास्पद लक्षण देखा परेपछि शुक्रराज ट्रपिकल तथा तथा सरुवा रोग अस्पताल टेकुमा रगतको नमूना लगेर परीक्षण गर्दा दादुरा पुष्टी भएको हो ।
दादुरा रोग देखा परेका व्यक्तिमा सुरुमा उच्च ज्वरो आउने,खोकी लाग्ने,नाकबाट पानी बग्ने, आँखा रातो हुने,३ देखि ५ दिनपछि अनुहार तथा शरीरका विभिन्न भागमा खटिरा आउने लगायत लक्षण देखा पर्ने लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले बताए ।उनका अनुसार दादुराबाट एक जना संक्रमित भए भने उनले १२ देखि १८ जनासम्मलाई दादुरा सार्न सक्छन्।श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग हाछयुँ गर्दा,खोक्दा र संक्रमित व्यक्तिले नाक–मुख छोएर हात नधुँदा सजिलै सर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।
प्रायःजसो बच्चालाई धेरै हुने दादुरा जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ।दादुराबाट बच्न बच्चालाई नौ महिना र १५ महिनामा दुईपटक खोप लगाउने गरिन्छ।खोप लगाउन छुटेका बच्चालाई यो रोग लाग्ने जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन् ।
मलंगवामा अहिले दादुरा देखिएका सात जना बालबालिकामध्ये चन्द्रनगर घर भएका बालकालाई एक पटक पनि खोप नलगाएको पाइएको जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार दादुरा लागेपछि धेरैलाई निमोनिया हुने,पखाला लाग्ने,शरीर कमजोर हुने र दुब्लो हुने जस्ता जटिल प्रकृतिका स्वास्थ्य समस्या पैदा हुन सक्ने भएकाले मलंगवामा दादुरा विरुद्धको विशेष खोप अभियान चलाउने तयारी गरिएको छ ।
विश्व स्वास्थ्य संगठन,यूनिसेफ,जन स्वास्थ्य कार्यालय र मलंगवा नगरपालिका लगायतका निकायले समन्वय गरेर मलंगवा नगरपालिका ३ तथा छेउछाउमा पर्ने मलंगवा नगरपालिका २,४,८,९ र १० मा ६ महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई “इम्युनिटी”प्रदान गर्ने सहित सोमबार दादुरा विरुद्धको खोप लगाइने जन स्वास्थ्य कार्यालय सर्लाहीका खोप फोकल पर्सन सुशील झाले बताए ।

सम्बन्धित समाचार