सर्लाहीको हरिवन नगरपालिकाले नगर भित्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ।स्वास्थ्य क्षेत्रमा सम्पादित कामको मूल्याङ्कनमा मधेश प्रदेशमा दोस्रो वर्ष पनि पहिलो बनेको हरिवन नगरपालिकाले आफ्ना स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए।उनका अनुसार आर्थिक वर्ष २०७९/८० र २०८०/०८१ मा स्वास्थ्य सेवा कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरी निर्धारित सूचकहरुको आधारमा प्रदेशभरका एक सय ३६ स्थानीय तहहरु मध्ये हरिवन नगरपालिका पहिलो बनेको थियो ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुुढाथोकी(कमल)को अध्यक्षता तथा सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हरि प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिकाले एक कार्यालयको आयोजना गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको हरिवन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रतिक कार्कीले बताए ।उनका अनुसार दुई वर्षसम्म नगरपालिका स्वास्थ्य क्षेत्रमा प्रदेशमै पहिलो भएको बनाउन अथक प्रयास गर्ने नगर भित्रका स्वास्थ्य संस्थाहरुका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो ।
हरिवन नगरपालिका १ देखि ९ सम्मका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सम्मान–पत्र र दोसल्लासहित सम्मान गरिएको हरिवन नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक एवम हरिवन नगरपालिका ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले बताए ।उनका अनुसार पालिकाले सञ्चालन गरेको खोप कार्यक्रम,मातहतका स्वास्थ्य संस्थाबाट प्रदान गरिएको स्वास्थ्य सेवा,स्वास्थ्य संस्थामा भएको सुत्केरीको दर,कुपोषित बालबालिका,क्षयरोग तथा एचआइभी सङ्क्रमित बिरामीको अवस्था र उपचारको स्थिति र सम्वन्धित निकायमा समयमै विवरण पठाएको लगायतलाई आधार मानेर पालिकाहरुको स्वास्थ्य कार्यक्रमको अवस्था मुल्याङ्कन हुने गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।